
काठमाडौं : बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ /२०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ ।
त्यसै गरी सहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिएको छ । मुख्यसचिव डा. बैकुण्ठ अर्यालबाट सार्वजनिक सो प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८ दशमलव पाँच प्रतिशतबाट ३३ दशमलव १९ दशमलवमा प्रतिशतमा झरेको देखिन्छ । सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा रहेको देखिन्छ । ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ जवकी प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले जानकारी दिए ।
