
दैलेख : दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले प्रशासन राउटेको सुरक्षामा जिम्मेवार रहेको बताएका छन् । आज जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राउटेलाई चिसोबाट बच्न विभिन्न सामग्री वितरण गर्दै उहाँले राउटेको सुरक्षामा प्रशासन जिम्मेवार रहेको बताए ।
प्रजिअ भुसालले चिसोको समयमा राउटे बस्तीमा समस्या नहोस् भनेर विपद् कोषमार्फत विभिन्न राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए । उनले राउटेले सरकारबाट पाउँदै आएको भत्ता गुराँस गाउँपालिकाले दिँदै आएकाले माघी पर्वअघि नै उक्त रकम उपलब्ध गराउन फोनमार्फत आग्रहसमेत गरे ।
कोषमार्फत राउटे बस्तीका ४१ घरलाई त्रिपाल, बाल्टिन्, कम्बल, सिरक, डोरी, टर्चलाइट, जग र रुमालसहितका सामग्री वितरण गरिएको भुसालले बताए ।
राहत सामग्री पाएसँगै राउटेका मुखिया सूर्यनारायण शाहीले खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । उनले चिसोको समयमा न्यानो कपडासहित आवश्यक सामग्री दिएसँगै बस्तीका अधिकांशलाई जाडो काट्न सहज हुने बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखले राउटे बस्तीमा सचेतनासम्बन्धी कार्यक्रम गरेको छ । पछिल्लो समय राउटे मदिरा लगायतका कुलतमा फस्दै गएको देखिएकाले प्रहरीले बस्तीमै पुगेर सचेतना कार्यक्रम गरेको हो ।
राउटेलाई मदिरा सेवन नगर्न आग्रह गर्दै दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले कुलतबाट बच्नुपर्ने बताए । फिरन्ते जीवन बिताउँदै जङ्गलमा बस्दै आएका राउटे हाल यहाँको भैरवी गाउँपालिका–४ को बाङ्गेतडामा बस्दै आएका छन् । यहाँ राउटेको सङ्ख्या एक सय ४१ रहेको छ ।
कमेन्ट गर्नुहोस्
