
रञ्जन अधिकारी पोखरा, १९ जेठ । पोखरामा फुटबल प्रशिक्षणपछि गोरखाका किशोर फुटबल खेलाडीहरु मंगलबार फर्किएका छन् । गत वैशाख १२ गतेको विनाशकारी भुकम्पपछि त्रसित मनलाई भुलाउन १२ देखि १५ वर्ष उमेर समूहका ति भुकम्प पीडित किशोरहरु गत जेठ ११ गते पोखरा आएका थिए ।
गोरखा नगरपालिका वडा नं. ८ स्थित द ओशन क्लब नै स्थापना गरेर फुटबल खेल्दै आएका उनीहरुलाई यहाँ आएपछि पोखरा ट्रेनिङ सेन्टरले प्रशिक्षण दिएको थियो । फुटबल प्रशिक्षक शम्भु केसीले १३ किशोर खेलाडीहरुलाई एक सातासम्म बिहान–बिहान प्रशिक्षण गराएका थिए । यसक्रममा उनीहरुलाई मैत्रीपूर्ण खेल समेत खेलाईएको थियो । ओसन क्लब र सहारा एकेडेमीबीच दोबिल्लामा मैत्रीपूर्ण फुटबल भयो भने एसओएस बालग्राम विद्यालयको टोलीसँग पनि मैत्रीपूर्ण फुटबल भएको थियो ।
पोखराको एक हप्ते बसाईंका क्रममा होटल खर्च तथा गोरखा फर्कन समेत नसक्ने भएपछि गीतकार तथा पत्रकार आरजु विष्ट सल्यानीले अर्थ संकलनको अभियान थालेका थिए । ‘खेल क्षेत्रमा लागिपरेका छौं भन्ने संस्था, प्रशिक्षक, व्यक्तिहरु सहयोग गर्ने सवालमा भने सबै पछि हटे’– सल्यानीले भने– ‘सहयोगी मनहरु पनि भेटियो, उनीहरुकै सहयोगले खर्च जोरजाम भयो । सबैलाई धन्यवाद छ ।’ उनले ओशन क्लबबाट उत्पादित यी खेलाडीहरु राष्ट्रको गहना बनेको र पोखराले गरेको मायालाई त्यसबेला स्मरण गरेको हेर्ने धोको सुनाउँदा किशोरहरु भावुक बनेका थिए ।
मंगलबार बिहान पोखरा रंगशालामा क्लबका किशोर खेलाडीहरुलाई संकलित २२ हजार पाँच सय रकम र जर्सी प्रदान गरियो । आशा फाउण्डेशनका तर्फबाट संस्थापक हरि लम्साल र अध्यक्ष दिपकराज सुवेदीले १२ हजार प्रदान गरे । यस्तै अमेरिका निवासी पोखरा ५ मालेपाटनकी विजया गिरीले पठाएको ५ हजार रकम पत्रकार रञ्जन अधिकारीले किशोरहरुलाई हस्तान्तरण गरे भने गिरीकै तर्फबाट मृगौला पीडित डिलबहादुर नेपालीका छोरा सुजन नेपालीलाई ५ हजार पनि प्रदान गरे । गिरीले १० हजार भुकम्प प्रभावित क्षेत्रका विद्यालयका लागि पनि सहयोग पठाउँदै रहेको जानकारी दिईन् । यसैगरी, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका अर्जुन पोखरेलले व्यक्तिगत रुपमा ५ हजार सहयोग गरे ।
द ओशन क्लबलाई राष्ट्रिय टेनिस खेलाडी प्रीति बरालले आरएनएसएच वार्ड सिक्स्टी टीम अष्ट्रेलियाले प्रायोजन गरेको दर्जन जर्सी हस्तान्तरण गरिन् । एथ्लेटिक्स प्रशिक्षक एभन रञ्जितले ५ सय प्रदान गरे । सहयोग प्राप्त गरेपछि खुशी हुँदै क्लबका अध्यक्ष खत्रीले सबै सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्दै पोखराको गुन नबिर्सने बताए ।
द ओशन क्लबका अध्यक्ष अमित खत्रीका अनुसार भुकम्पले सबै जनाको घर पूर्ण रुपमा क्षति भएको छ । ‘हामी क्लब नै स्थापना गरेर सबै संगठित भएर फुटबल खेल्दै आएका छौं’ – उनले भने– ‘प्रतियोगिता समेत आयोजना गर्छौं । पर्याप्त पुर्वाधार र खेल सामाग्री हुने भए उनीहरु पछि ठूलो खेलाडी बन्छन् ।’ क्लबले सबैको सहयोगमा फुटबल मैदान समेत बनाएको छ । क्लबका खेलाडीहरुमा क्याप्टेन अनिश श्रेष्ठ, राजेन्द्र रिमाल, सागर रिमाल, सुरेश श्रीमल, सन्तोष रिमाल, राजकुमार मगराती, विवेक श्रीमल, सरोज बिक, विश्वास श्रीमल, विपिन श्रीमल र किसान रिमाल छन् ।
