पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका

Share:

सुर्खेत : काठमाडौंबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने दौरानका क्रममा गुराँसेमा रोकिए । सो टोलीको योजना गुराँसेमा बस्ने नभए पनि त्यहाँको रमणीय दृश्यहरू देखिन थालेपछि उनीहरूको प्रतिक्रिया थियो, आहा, कस्तो राम्रो ठाउँ । यस क्षेत्रलाई स्थानीय सरकार र नजिकै रहेको प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गरी अझै आनन्दको वातावरण बनाउन सकिन्छ होला ।

 

यस्तो अनुभूति गुराँस क्षेत्रमा पुग्ने जो कोहीलाई पनि हुने गर्दछ । अर्कोपटक घुम्न अवश्य पनि आउने सबैले भनने गर्दछन् । यो क्षेत्रलाई साविकको कर्णाली अञ्चलको प्रवेशद्वारका रुपमा लिने गरिन्छ । यहाँ लालीगुराँस फुल्ने समयदेखि हिउँद्को समयमा हिउँ पर्नेसम्मको आनन्द लिन सकिन्छ । गुराँसेमा रहेको दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बाट चारैतिरका रमणीय दृश्यसँगै भारतको लखनउ र तिब्बतका केही भागहरूको समेत अवलोकन गर्न सकिन्छ । बाह्रै महिना सिरोटो हावा चलिरहने यस ठाउँमा प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमालहरूको अवलोकन गर्न सकिन्छ ।

 

यहाँ जाने स्वदेशी वा विदेशी पर्यटकले प्राकृतिक सौन्दर्यदेखि धार्मिक, सांस्कृतिक र स्थानीय रहनसहनको अलग्गै स्वाद लिन सक्नेछन् । वडा-१ मा रहेको देउराली गुफाले धेरैलाई अनौठो अनुभूति गराउँछ । यो गुफा हेर्न आउनेको संख्या दिनानु दिन बढ्ने गरेको छ भने अहिले यस ठाउँमा मगर संस्कृतिका परिकार र नाचहरू देखाउने गरिन्छ । यहाँँ पाहुनाका लागि मगर होमस्टे पनि सञ्चालन गरिएको छ । होम स्टेमा कोदोको रोटी, ढिडो, आँटो, सिस्नोलगायतका अर्गानिक खानाको व्यवस्था गरिएको वडाध्यक्ष धर्मबहादुर रावल बताउँछन् । ‘‘हाम्रो संस्कृति जोगाउन र पर्यटन प्रवद्र्धन गर्न यहाँका रमणीय ठाउँहरूको अवलोकन गराउने गरेका छौँ’’ उनले भने । यस वडामा रहेका अन्य रमणीय ठाउँ र झरनाहरू हेर्न लायक छन् । अहिले बेडुगाउँमा भ्यु टावर समेत बनेको छ ।

 

वडा-२ मा रहेको डुङ्गेल मन्दिरमा पुजा गर्दा सन्तान नहुनेको सन्तान हुने धार्मिक विश्वास छ । यस मन्दिरमा शुक्रबार र शनिबार भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यस मन्दिरको दर्शन गरेमा सवारी दुर्घटना हुँदैन भन्ने धार्मिक मान्यताका कारण कर्णाली राजमार्ग हुँदै जुम्ला कालीकोट जाने यात्रुहरूले यहाँ दर्शन र पूजापाठ गर्दछन् । सामाजिक, धार्मिक र पुरातात्विक सम्पदाले भरिपूर्ण वडाको प्रचारप्रसारमा ध्यान दिइएको वडाध्यक्ष शेरबहादुर रावल बताउँछन् । कर्णाली नदीको कलकल आवाजले धेरैलाई लोभ्याउने गर्दछ । त्यहाँ पाइने माछाको स्वादसँगै कर्णालीमा जलयात्रा गर्दाको मज्जा बयान गरेर साध्य छैन् । यस वडामा रहेको झरना पनि हेर्नलायक छ ।

 

पाँच भाइ पाण्डपहरूले निर्माण गरेका पञ्चदेवल, मुग्राहरू र ढुङ्गे धाराहरू वडा-३ मा रहेका छन् । विभिन्न चित्रहरू अंकित यी पञ्चदेवलहरूको अवलोकन गर्दा पुरानो सभ्यताको याद आउने गर्दछ । त्यसैगरी यहाँबाट कर्णाली र डुङ्गेश्वरको फाँटलाई अवलोकन गर्न सकिन्छ भने विभिन्न रमणीय ठाउँहरू यस क्षेत्रमा रहेका छन् । वडाध्यक्ष काशी शर्माका अनुसार यस क्षेत्रमा तामा खानी रहेको विश्वास गरिन्छ ।

 

गाउँपालिकाको मुटुमा रहेको वडा-४ को रतिखोलामा परापूर्वकालमा रातो गाई खोलाले बगाएको किम्बदन्ती छ । त्यो गाईको अवशेष अहिले पनि देख्न पाइने बुढापाकाहरू बताउँछन् । यस वडाको गुराँसे लेकबाट धेरै हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ भने बसन्त ऋतुमा लालीगुराँसको फुलेको देख्दा मन आनन्दित हुने गर्दछ । गर्मीयाममा शीतलताको आनन्द लिन र लालीगुराँसको सुगन्धमा रमाउन सुर्खेत, नेपालगञ्जबाट धेरै मानिस यस क्षेत्रमा आउने गर्दछन् । वडाध्यक्ष खड्गबहादुर शाहीले यो ठाउँ भएर नै रारालगायतका उच्च स्थानमा जाने भएकाले पर्यटकहरूलाई आकर्षित गर्न प्रदेश सरकार र गाउँपालिकाको पहलमा दृश्यावलोकन स्तम्भ(भ्यु टावर) निर्माण गरिएको जबताए । भ्यु टावरबाट विभिन्न हिमालहरूका दृश्यसँगै सँगै तिब्बतका केही भाग र भारतको लखनउसम्म अवलोकन गर्न सकिन्छ । पर्यटकीय क्षेत्रमात्र नभएर तरकारीको लागि पनि यो क्षेत्र उपयुक्त छ । यहाँ खाना बस्नको लागि होटेल र लजहरूको राम्रो व्यवस्था छ ।

 

गाउँपालिकाको सबैभन्दा धेरै जनसंख्या रहेको वडा-५ पनि पर्यटकीय हिसाबले धेरै अगाडि रहेको छ । यो वडाको जन्ती बस्ने गुफालाई महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा लिन सकिन्छ । यहाँ परापूर्व कालमा बिबाहमा गएको एक हुल जन्ती बसेको र सबैको त्यही स्थानमा मृत्यु भएको त्यहाँका बुढापाकाहरूको कथन छ । अहिले पनि अवशेषको रुपमा त्यहाँ जन्ती, बेहुलाबेहुली र उनीहरूले बोकेका सामानहरूको चित्रहरू प्रष्ट देख्न सकिन्छ ।

यससँगै मालिकादेबीको मन्दिरलाई पनि पर्यटकीय क्षेत्रको रुपमा लिने गरिएको वडाध्यक्ष भूपेन्द्र चन्द बताउनु्हुन्छ । जनै पूर्णिमाको दिनमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । यस मन्दिरमा पूजा गर्दा सबै रोग निको हुने धार्मिक विश्वास छ ।

 

वडा-६ कुन्तडा, लामातडाका फाँटहरू निकै आकर्षक देखिन्छन् । यस वडाको सबैभन्दा हेर्न लायक ठाउँ भनेको भिउचुला नै हो । भिउचुलाको माथी लिलेकोट डाँडाबाट धेरै रमणीय ठाउँहरू देख्न सकिन्छ । धाउखानी गुफाको संरक्षण भइरहेको छ । यो गुफाभित्र ७० मिटरसम्म बाटो छ ।

वडा-७ को लात्तेको छहरा पनि पर्यटकको आकर्षण बन्न सक्दछ । समुन्द्री सतहदेखि करिब २७ सय मिटर उचाइमा रहेको यस छहरा दुई सय मिटर लामो रहेको छ । बैशाखसम्म हिउँ पर्ने बुँरास लेक र तलतिर टोटनाउला पाटनहरूमा विभिन्न जडीबुटी पाइन्छ । यहाँ अहिलेसम्म छ वटा गुफा फेला परेको छन् ।  ती गुफाहरू पनि संरक्षणका लागि प्रदेश र स्थानीय र प्रदेश सरकारले पहल गर्नुपर्ने वडाध्यक्ष नन्दबहादुर विसी बताउँछन् ।

 

वडा-८ का पोखराचौर, घ्युपोखरी, लगायतका ठाउँहरू रमणीय हुन् । पाखापानी नजिकै पर्यटन पार्क निर्माण भएको छ भने धरमपोखरामा रहेको शिव मन्दिरको दर्शन गर्दा पापहरू नष्ट हुने विश्वासले गर्दा धेरै मानिसहरू यहाँ आउने गर्दछन् ।

 

के छ गाउँपालिकाको योजना  ?

 

गाउँपालिकाका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनको लागि गाउँपालिकबाट विभिन्न योजनाहरू बनाइको उपाध्यक्ष शिवाकुमारी खड्का बताउँछन् । उनी भन्छन्, ‘“पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रचारप्रसार गरी पर्यटक आगमन बढाउन पर्यटन सुचना केन्द्र, पर्यटन सङ्ग्रहालय, रैथाने बालीहरूको संरक्षण गर्ने गरी नीति लिएका छौँ ।” यो पालिकाले राउटेलाई परिचय पत्र दिएर आफ्ना नागरिक बनाएको छ । राउटे लगायतका जातिहरूको संस्कृतिलाई संरक्षण गरेर पर्यटन आकर्षण गरिने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: