
पोखरा, १९ जेठ । मोफसलका कलाकारहरुलाई एउटा पिडा छ । जहिले पनि उनीहरु ‘स्थानिय कलाकार’ भनेर हेपिन्छन् । काठमाण्डौबाट आएका सबै कलाकार राष्ट्रियस्तरको हुँदा उनीहरुभन्दा अझै बढि प्रतिभावान हुँदाहुँदै पनि ‘स्थानिय कलाकार’को ट्याग पाएर हेपिनुपर्ने बाध्यता छ ।
र, केन्द्रले पनि राजधानी बाहिर बसेर रंगकर्म गरिरहेकाहरुलाई यसरी नै लिन्छ । यो विडम्बना पोखराको पनि हो । पोखरामा बसेर कलाकर्म गरिरहेका युवाहरु लामो समय यता यस्तै खाले पेलानमा परेपछि उनीहरुलाई यहि विषयलाई लिएर फिल्म बनाउन मन लाग्यो । राजधानी बाहिर पनि ‘कोहि भन्दा कोहि कम छैन’ भन्ने सन्देश दिन उनीहरुले फिल्म बनाएको हुन् ।
राजधानी बाहिर बसेर रंगकर्म गर्दा के कस्ता दुख खेप्नुपर्छ भन्ने विषयलाई लिएर निर्माण भएको फिल्म ‘मोफसल’ जेठ ३० गते पोखरामा प्रदर्शन हुने भएको छ । दिपज्योती कला सँस्कृति मञ्चको प्रस्तुतीमा बनेको फिल्म पोखराकै मेकर्सहरुले बनाएको फिल्म हो ।
दिपेन्द्र श्रेष्ठले निर्देशन गरेको फिल्मलाई आशिष पुनले निर्माण गरेका हुन् । ‘फिल्मले मोफसलमा रहेर कला क्षेत्रमा सँघर्ष गरिरहेको पात्रहरुको कथा बोल्छ ।’ निर्माता आशिष पुनले भने–‘हरेक मानिस जो राजधानी बाहिर बसेर सँघर्ष गरिरहेको छ उसलाई यो फिल्मले छुन्छ ।’ फिल्म निकै उत्कृष्ट बनेको दाबी गर्दै पुनले आगामी जेठ ३० गते हुने प्रदर्शनमा सहभागिताको लागि सबैलाई आग्रह समेत गरेका छन् ।
फिल्ममा आशिष पुन मुख्य भुमिकामा देखिएका छन् । आशिषसँगै फिल्ममा दिपक थापा, गम्भिर राना, प्रेमा गुरुङ, रोश्नी गुरुङ, सोनीका गुरुङ, चेन आले, सन्तोष पुन लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । गम्भिर रानाको कथामा बनेको फिल्ममा संगीत योगेश काजी बिसीले भरेका छन् । आशिष पुन, सशांक जोशि फिल्मका कोरियोग्राफर हुन् । मिलन शंकरले खिचेको फिल्मलाई नेत्र गुरुङले सम्पादन गरेका हुन् ।
