
सोलुखुम्बु : खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य हुने गरेकामा यस वर्ष भने सुनसान बनेको उनको अनुभव छ । “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए । खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन,” उनले भनिन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेको तथ्यांकअनुसार पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुसमा एक हजार ९२० जना आएका थिए । यस वर्ष एक हजार ३२९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका कार्यालयका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए ।
विदेशी तथा स्वदेशी पर्यटकको अत्यधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बुक्षेत्र चिसो बढेसँगै एक्लिएको छ । यस क्षेत्रमा यतिखेर चिसो अत्यधिक रहेकाले पर्यटक आवागमन न्यून भएसँगै सुनसान बनेको निकुञ्जले जनाएको छ । यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्छ । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय याम मानिन्छ । त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ । याममा दैनिक ९०० देखि एक हजारसम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले पाँच–सातजना पर्यटक मात्रै भ्रमणका लागि आउने गरेको निकुञ्ज कार्यालयको तथ्यांक छ ।
विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण अधिक हुँदा भ्याइ नभ्याइ हुने यहाँका पर्यटन व्यवसायीसमेत यतिखेर फुर्सदिला बनेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए । त्यसकारण पर्यटकीयस्थलका होटल तथ पसलमा ताला लागेको छ । स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यत्र जाँदा खुम्बु सुनसान बनेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । उच्च हिमाली क्षेत्र खुम्बुका नागरिकको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन व्यवसाय हो । यहाँ अन्य अन्नबाली उब्जाउ नहुने भएकाले सिजनमा पर्यटन व्यवसाय गर्ने र नआउने घुमफिर तथा रमाइलो गर्ने यहाँका नागरिकको बाध्यता हो ।
गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायत बासिन्दाले कात्तिक अन्तिम सातातिरबाटै खुम्बु छाडिसकेका छन् । त्यसभन्दा तलका बस्ती खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीय मंसिर पहिलो सातातिर बाहिर जाने गरेको लुक्लाका अमृत मगरले बताए । यहाँका बासिन्दा जाडो छल्न धेरैजसो राजधानी काठमाडौँ जाने गरेका छन् । स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने माथिल्लो क्षेत्रका धेरैजसो होटल व्यवसायीले घरमा ताल्चा नै लगाएर अन्यत्र जाने गरेका छन् ।
तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको स्थानीय उमा बराइलीले बताइन् । यतिखेर नाम्चे क्षेत्रमा तापक्रम माइनस १२ डिग्रीसम्म पुग्ने गरेको सगरमाथा सूचना अधिकारी मण्डलले बताए ।
निकुञ्जका कर्मचारीलाई फुर्सद
सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ । पर्यटकीय याममा एकैपटक धेरै पर्यटक निकुञ्ज क्षेत्र प्रवेश गर्दा ‘इन्ट्री’ गराउन भ्याइनभ्याई हुने कर्मचारीलाई यतिखेर भने फुर्सद मिलेको निकुञ्जका सूचना अधिकारी मण्डलले बताए । उनका अनुसार मुख्य याममा दैनिक नौ सयजनासम्म स्वदेशी तथा विदेशी भ्रमणकर्ता निकुञ्ज प्रवेश गर्दा बिहान उज्यालो भएदेखि राति अबेरसम्म इन्ट्री गराउनमा व्यस्त हुने जाँचचौकीका कर्मचारीलाई अहिले फुर्सद मिलेको छ । अहिले दैनिक मुस्किलले पाँच–सात जनासम्म पर्यटक आउने गरेको उनको भनाइ छ ।
याममा धेरै पर्यटक आउने भएकाले जाँचचौकीका कर्मचारीको खानेबस्ने ठेगान नै नहुने गर्छ भने अहिले कार्यालयको नियमित कामसँगै चिसोमा घाम तापेर समय बिताउने गरेको उनले बताए । सगरमाथा राष्ट्रिय निकुञ्जमा मुख्य कार्यालय नाम्चेबाहेक १० चौकी छन् । जसमा दुईवटा रेञ्जपोष्ट रहेको कार्यालयले जनाएको छ ।
विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा रहेका छन् । निकुञ्जभित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।
सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदासूचीमा समावेश गरिएको हो । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण र अवलोकन, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।
चिसोका कारण धेरैजसो खुम्बुबासीले सगरमाथा क्षेत्र छाडिसक्दा यहाँ कार्यरत कर्मचारी भने कार्यक्षेत्रमै रहेका छन् । स्थानीयवासी तथा पर्यटन व्यवसायी चिसो छल्न अन्यत्र जाने गरे पनि कर्मचारी भने त्यहीँ बस्न बाध्य छन् । नाम्चे क्षेत्रमा अहिले निकुञ्जका कर्मचारी, प्रहरीलगायतका व्यक्ति छन् । उनीहरू पनि धेरै समय आगो तापेरै बिताउने गरेको इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख शाखा अधिकृत बर्देवाको भनाइ छ ।
चिसोले पाइपमै पानी जम्दा तातो पानी तताएर पाइपमा खन्याएपछि मात्रै धारामा पानी आउने गरेको कर्मचारी बताउँछन् ।
