आँखा उपचारमा ऐतिहासिक  फड्को : २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

Share:

काठमाडौं‌ : नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभ) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ।  यो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो। यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ।

 

नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ (आरओपी)का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा एलएसभी गरिन्छ।  विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था रहेको जनाइएको छ।

 

आँखा उपचारको केन्द्रीय सो अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत गरिएको उपचारले आँखा उपचारमा ऐतिहासिक सफलता पाएको हो। काठमाडौँ उपत्यकाभित्रकै एक अस्पतालबाट ‘रेफर’ भई आएको ती  शिशुको आँखाको गत पुस १० मा शल्यक्रिया गरिएको थियो।

 

‘२९ हप्तामा जन्मेको शिशुको एलएसभी पद्धतिमार्फत शल्यक्रिया गरिएको नेपाल आँखा अस्पतालमा पहिलोपटक हो’, शल्यक्रियामा नेतृत्व गरेकी चिकित्सक प्रिया बजगाईँले भनिन्, ‘बुधबार फलोअप उपचारका लागि शिशुलाई  अस्पतालमा ल्याइएको थियो। मैले शिशुको दुवै आँखा परीक्षण गरेँ, आँखामा सुधार हुँदै गएको छ्र वृद्धिविकास हुँदै जाँदा समस्या न्यून हुँदै जाने देखिन्छ। तर फलोअप उपचार भने गरिरहनुपर्छ।’

 

उनकै नेतृत्वमा ती शिशुको दायाँ आँखाको आरओपी समस्याको लेजर प्रविधिमार्फत उपचार गरिएको थियो। ‘शिशुको दायाँ आँखाको लेजर प्रविधिबाट उपचार सफल भएपछि यसको २० दिनपछि मात्र बायाँ आँखाको जटिल शल्यक्रिया एलएसभी गरिएको हो, जुन सफल पनि भयो।’

 

शल्यक्रियामा उहाँसहित पेडाएट्रिक एनेस्थेशियोलोजिस्ट शान्ता सापकोटा सहभागी थिइन्। रेटिना विशेषज्ञ बजगाईँलाई शिशुको एलएसभी शल्यक्रिया गर्न करिब एक घण्टाभन्दा बढी समय लागेको थियो। ‘यस्ता शल्यक्रिया सफल हुन अथवा असफल हुन पनि सक्छ’, बजगाईँले भनिन्, ‘तर मैले ती शिशुको आँखाको ज्योती जोगाउन अन्तिम पर्यत्न गरेँ, जुन सफल भयो। यो मेरो जीवनका लागि पनि खुसीको क्षण हो।’

 

शिशुको जन्म हुँदा उनको तौल एक हजार २०० ग्राम मात्र रहेको बताइएको छ। जन्मिएपछि २८ दिनसम्म शिशुको एनआईसीयूमा उपचार भएको थियो। जन्मेको ३४ दिनपछि आईसीयूमा रहेकै अवस्थामा शिशुको आँखा उपचार गर्न आँखा अस्पताल ल्याइएको थियो।

 

आँखा रोग विशेषज्ञका अनुसार आँखाको रक्त नसा विकसित नभएको अवस्था अर्थात् ‘आरओपी’ पाँच चरणको हुन्छ। पहिलोदेखि दोस्रोसम्म क्रमशः शिशुको वृद्धिविकाससँगै नसाको पनि वृद्धिविकास हुँदै जाने गर्छ। तेस्रो र चौथो चरणमा पुग्दा लेजर वा इन्जेक्सन तथा अन्तिम चरणमा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ।

 

अस्पतालका मेडिकल रेकर्ड अधिकृत सन्तोष पौडेलका अनुसार अस्पतालले गत वर्ष सेवा पु¥याएका एक लाख ५७ हजार बिरामीमध्ये ३४ हप्तामुनिका ३०० शिशु रहेका थिए  । तीमध्ये ३६ शिशुको ‘लेजर अभास्टिन इञ्जेक्सन’मार्फत आँखाको उपचार गरिएको थियो। यस प्रकारको उपचार सेवाका लागि पनि  सर्वोत्कृष्ट मानिन्छ।

कमेन्ट गर्नुहोस्
Share: