
तनहुँ : त्रिभुवन आर्मी क्लबमा आबद्ध जुनेश पहिलो पटक मानुङकोट र पुलिमराङ पुगे । मगर गाउँ व्यास नगरपालिका–५ को मानुङकोट र गुरुङ गाउँ व्यास–८ पुलिमराङ पुग्ने अवसर जुराएको थियो अल्ट्रा म्याराथनले ।
शहीद दिवसका अवसरमा आयोजित ४४ किलोमिटर दूरी अल्ट्रा म्याराथनमा सहभागी उनी प्रथम भए । उनले उक्त दूरी तीन घण्टा १८ सेकेन्डमा पूरा गरेका थिए । मानुङकोटको बारेमा सुने पनि आउने अवसर नपाएका उनले अल्ट्रा म्याराथनको अवसर पारेर उक्त ठाउँ घुमे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य पनि पहिलो पटक मानुङकोट पुगे । मानुङकोटका बारेमा विभिन्न माध्यमबाट थाहा पाए पनि प्रत्यक्ष आउने अवसर नमिलेको जनाउँदै उनले भने, “यहाँ आएपछि मलाई यहाँको दृश्यले लोभ्यायो, यो ठाउँ मनमोहक छ ।”
व्यास नगरपालिकाले प्रत्येक वर्ष शहीद दिवसका अवसरमा आयोजना गरेको म्याराथन मगर र गुरुङ गाउँलाई जोड्ने माध्यम बनेको छ । दुई फरक संस्कृति भएका गाउँलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित म्याराथन सहयोगीसिद्ध बनिरहेको छ ।
यस वर्षको म्याराथनमा एक सय १७ धावक सहभागी भए । तीमध्ये दुईजना विदेशी नागरिक समेत थिए । कूल धावकमध्ये आधाजसो जिल्लाभित्रैका थिएभने आधा जिल्लाबाहिरका थिए । म्याराथनले दुई गाउँ मात्रै जोड्दैन, यसले व्यासका छ वडालाई समेत प्रत्यक्ष एकाकर गर्ने प्रयास गरेको छ । अल्ट्रा म्याराथनमा धावकलाई स्वागत गर्न छ वडाका बासिन्दा फूलमाला लिएर घरअगाडि बस्छन् । यसले पाहुनालाई आतिथ्यता प्रदान गर्ने गरेको छ ।
म्याराथन आयोजना हुने दिन नगरका छ वडाका विभिन्न सङ्घसंस्था, जातीय सङ्गठन, टोल विकास संस्थालाई पनि एकीकृत गर्ने गरेको सिर्जना टोल विकास संस्थाका पूर्वअध्यक्ष त्रिभुवन श्रेष्ठले बताए । व्यास–५ मानुङबाट सुरु हुने म्याराथन वडा नं ३, ४, १०, ७ हुँदै व्यास–८ मा पुगेर टुङ्गिने गरेको छ । म्याराथनले दुई पर्यटकीय गाउँको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपाने बताउँछन् । उनले भने, “यो एउटा खेलकुद मात्र नभई नगरको पर्यटन प्रवद्र्धन र विकासको अभियान पनि हो, मगर र गुरुङ गाउँलाई जोड्दै यहाँको विकासका लागि सङ्घ र प्रदेश सरकारको ध्यानाकर्षण गराउने लक्ष्य लिएका छौँ ।”
प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उनको भनाइ छ । उनले भने, “खाली खेलाडीलाई दौडाउन मात्र होइन, यस ठाउँको प्रचारप्रसार गर्दै विकास अभियानमा सङ्घ र प्रदेश सरकारलाई जोड्न चाहेका छौँ, मानुङकोटसम्म पुग्न कालोपत्र सडक भए पनि पुलिमराङमा अझै कच्ची सडक छ, त्यहाँको बाटो पनि कालोपत्र गर्ने लक्ष्य राखेका छौँ ।”
मानुङकोट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । यहाँबाट देखिने कुहिरो र सूर्योदय दृश्य हेर्नका लागि सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।
पुलिमराङसम्म भने त्यति पर्यटकको पहुँचमा पुग्न सकेको छैन । पुलिमरादङ शहीदभूमि पनि हो । यहाँ शहीद पार्क बनाइएको छ । पार्कमा विभिन्न कालखण्डमा शहीद भएका पुलिमराङका छजनाको सालिक राखिएको छ । यहाँ स्वर्गीय भरत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको अर्धकदको सालिक छ । व्यास–८ का वडाध्यक्ष युवराज गुरुङले म्याराथनले गुरुङ गाउँ पुलिमराङको प्रचारप्रसारमा सहयोग पुगेको बताए ।
