
अफगानिस्तानको कामचलाउ सरकारले विगत दुई वर्षको अवधिमा गरेका २० हजारभन्दा बढी कारबाहीका क्रममा कम्तीमा १ हजार १०० लागुऔषध प्रयोगशालाहरू नष्ट गरेको छ।
काउन्टर नार्कोटिक्सका लागि आन्तरिक मामिलाका उपमन्त्री अब्दुल हकले जनाए अनुसार विगत दुई वर्षमा लगभग २० हजार ७०० वटा लागुऔषध विरोधी अभियानहरू सञ्चालन गरिएको छ जसमा कम्तिमा १ हजार १०० लागुऔषध कारखाना ध्वस्त पारिएको छ ।
त्यसैगरी १३ हजार ७०० व्यक्तिलाई लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ ।
अफगानिस्तानको सरकारले सन् २०२२ अप्रिलदेखि लागुपदार्धको खेती, प्रशोधन तथा ओसारपसारमा प्रतिबन्ध लगाएको छ।
यसैबीच, अफगानिस्तानका कृषकहरूलाई वैकल्पिक बाली उब्जाउन सहयोग गर्न नसकेको भन्दै अफगानिस्तानका अधिकारीले विश्व समुदायको आलोचना गरेका छन् । अन्तरराष्ट्रिय समुदायले अफगानिस्तानलाई लागुऔषध विरुद्धको क्षेत्रमा मद्दत गर्न अझै व्यावहारिक कदम चाल्न नसकेको उनीहरूको धारणा छ।
अफगानिस्तानमा ३० लाखभन्दा बढी लागुऔषध दुर्व्यसनीहरू छन् । कामचलाउ प्रशासनले तीमध्ये १ लाखभन्दा बढीलाई चिकित्सा उपचार उपलब्ध गराएको हमकरले बताएका छन्।
“हामीले आश्रय नभएका लागुऔषध दुर्व्यसनीहरूलाई संकलन गरी उपचार गरेका छौं। तिनीहरूमध्ये केहीले अहिले राम्रो जीवन बिताएका छन् र आफ्नै घरमा छन्,” हमकरलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।
