
रुसी पर्यटकहरूको समूह शुक्रबार प्योङयाङ आइपुगेको एएफपीका पत्रकारहरूले देखेका छन् । उनीहरू महामारीका कारण सीमा बन्द हुनुभन्दा अघि आणविक सशस्त्र उत्तर कोरियाको भ्रमण गर्ने पहिलो ज्ञात विदेशी पर्यटक समूह थिए ।
एएफपीको भिडियो र तस्बिरहरूमा रुसी पर्यटकहरूलाई प्योङयाङ विमानस्थलमा पुगेको, विमानस्थलका चारैतिर घुम्दै तस्बिरहरू लिएर मुस्कुराउँदै गरेको र आगमन बोर्डमा उडानको विवरण देखाइएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न दुर्लभ विदेश भ्रमण गरेपछि यो भ्रमण मस्को र प्योङयाङबीचको सम्बन्धलाई बलियो बनाउने रूपमा भएको हो ।
उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि मस्कोलाई हतियार पठाएको दक्षिण कोरिया र वासिङ्टनले पछि दाबी गरेका छन् । उत्तर कोरियाले आफ्नो प्रतिबन्धित हतियार कार्यक्रमहरूका लागि र रुसले किएभसँगको युद्धका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन गरेका छन् ।
भ्रमणको आयोजना गर्ने भोस्तोक इन्टुर टुर एजेन्सीका व्यवस्थापक नतालिया जिनिनाले सोलस्थित विशेषज्ञ साइट एनके न्युजलाई टुर समूहले फेब्रुअरी ९ देखि फेब्रुअरी १२ सम्म उत्तर कोरियाको भ्रमण गर्ने जानकारी दिए । उक्त समूह मुलुकको पूर्वी तटमा रहेको वोनसान सहर नजिकैको मासिक्रायोङ स्कि रिसोर्टमा यात्रा गर्नुअघि प्योङयाङमा पहिलो पटक रोकिने रिपोर्टमा उल्लेख छ । चार दिने भ्रमणमा कूल ९७ रुसी सामेल रहेको अनुमान गरिएको छ ।
युक्रेनमा आक्रमण गरेपछि प्रतिबन्ध लगाइएसँगै रुसीहरूका लागि युरोप र अमेरिकाको भ्रमण गर्न कठिन भएको छ । प्योङयाङको समेत भ्रमण गरेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभले उत्तर कोरियालाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिस गर्न सकिने बताउनुभएको तासले रिपोर्ट गरेको छ ।
करिब चार वर्षको महामारीका कारण सीमा बन्द भएपछि गत वर्ष अगस्टमा उत्तर कोरियाले आफ्नो सिमाना पुनः खोलेपछि उत्तरमा प्रवेश गर्ने विदेशी पर्यटकहरूको पहिलो समूह रुसीहरूलाई मानिन्छ ।
“यो उदाहरणले उत्तर कोरिया–रुस शिखर वार्तापछि दुई मुलकबीचको विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगको पुनरुत्थानलाई प्रकाश पार्दछ”, सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष याङ मु–जिनले पुटिन र किमबीचको गत वर्षको भेटलाई उल्लेख गर्दै भने, “यसले विशेषरूपमा पुटिनको उत्तर कोरियाको भ्रमणलाई मार्ग प्रशस्त गर्ने उद्देश्यलाई दर्शाउँछ ।”
कमेन्ट गर्नुहोस्
