
काभ्रेपलाञ्चोक : भुम्लु गाउँपालिका–५ स्थित घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ । आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि यहाँका किसान निकै खुसी भएका छन् । विसं २०४१ मा कुलो निर्माण गर्दा पहरा फुटाउन ब्लाष्टिङ गरेको सम्झँदै स्थानीय रामजी श्रेष्ठले अहिले पक्की सिँचाइ कुलो बनेपछि निकै खुसी भएको बताए ।
उनले भने, “यो सिँचाइ कुलोका लागि यसअघि धेरै मेहनत गरियो, अब पक्की नालासहित आयोजना निर्माण भएको छ, हामी निकै खुसी छौँ ।” दीर्घकालीनरुपमा खेतसम्मै आयोजना सम्पन्न भएपछि थुम्की, अर्चले, घट्टेखोला, देवलडाँडा, मुलाबारी फाँटका करिब दुई हजारभन्दा बढी घरपरिवारका किसान लाभान्वित हुने जनाइएको छ ।
बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजित रु ९० लाख रकमको घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना हालै सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष ८१ वर्षका कृष्णवीर लामा वृद्ध उमेरमा पनि युवा जोसका साथ योजना सम्पन्न गराउन लागि पर्नुभएको छ । “सिँचाइ आयोजना दीर्घकालीन बनाउन घट्टेखोला क्षेत्रमा बलियो बाँध बाध्नका लागि मन्त्रीलाई प्रस्तावसमेत गरिसकेको छु”, लामाले भने । करिब नौ सय मिटरको पक्की कुलो दीर्घकालीन रुपमा सञ्चालन भइरहेकाले किसानमा पानीको चिन्ता हटेको उनले बताए ।
विसं २०४१ मा घट्टेखोलाबाट मुलाबारीसम्म सिँचाइ कुलो बनाउँदा तत्कालीन प्रधानपञ्चसमेत रहनुभएका लामा हाल उपभोक्ता समितिका अध्यक्ष बनेका थिए । त्यतिबेला विश्व श्रम सङ्गठन (आइएलओ)लगातयका निकायबाट पाएको रु तीन लाख सहयोग र स्थानीय जनश्रमदानसहित कुलो बनाउँदाको मेहनत अझै ताजै रहेको लामा बताउँछन् । “त्यसबेला बनाएको कच्ची कुलो विस्तारै पुरिँदै, चुहिँदै गयो, परसम्म पानी पुग्नै छोड्यो, किसानलाई निकै मर्का भएपछि अहिले प्रदेश सरकारको सहयोगमा पक्की कुलो बनेको छ, हामी अत्यन्त खुसी भएका छौँ”, लामाले खुसी व्यक्त गदै भने ।
यस्तै भुम्लु–५ मा नै बोसेखोला–ताइखेत सिँचाइ योजना सञ्चालन गरिएको छ । छ सय २५ मिटर पक्की नाला निर्माण गरेर ल्याइएको सिँचाइ आयोजनाबाट यहाँका नारघाङलगायतका फाँटमा सिँचाइ हुने जनाइएको छ । यस अयोजनाबाट करिब एक सय ५० परिवार यसबाट लाभान्वित हुनेछन् । गाउँपालिका उपाध्यक्ष जीतेन्द्रमान तामाङका अनुसार भुम्लुमा रु १४ करोड ५० लाख बराबरको खानेपानी तथा सिँचाइका आयोजना कार्यान्वयनमा रहेको जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षका योजनामा छुटेका केही योजनाबारे आगामी आर्थिक वर्षमा समावेश गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा हाल काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेका खानेपानी तथा सिँचाइका योजनामा निरीक्षण गरिरहनुभएको छ । उनी भन्छन्, “आयोजनाका कामको गुणस्तर, लाभान्वित किसानको प्रतिक्रियाले आफूलाई सन्तुष्टी मिलिरहेको छ ।”
यसैगरी भुम्लु–९ चालिसेटारस्थित चाखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ । गाउँपालिकाको रु ४२ लाख र जनसहभागितामा अरनिको राजमार्गस्थित चालिसेटारबाट चुल्ठेडाँडा जोड्ने पुल निर्माण भएको हो । सो स्थानमा पुल नहुँदा स्थानीयले वर्षामा निकै सास्ती खेप्दै आएका थिए । वर्षाको समयमा तरकारी बोकेर किसान, विद्यालय जाने बालबालिका र स्थानीय ५२ किलोस्थित झोलुङगे पुलसम्म पुग्न बाध्य हिँड्नुपरेको थियो ।
स्थानीय अष्टमाया लामाले गाडी नै चल्ने पुल बनेपछि निकै खुसी लागेको बताए । “घाँस काटेर फर्कंदा वर्षाले खोलो बढेर आउथ्यो, तर्न नसकेपछि खोलाकै अर्को छेउ हिँडेर दुई÷तीन घण्टा लगाएर घर पुग्नुपथ्र्यो, खब निकै खुसी छौँ”, लामाले भने । स्थानीय समाजसेवी गोविन्द पराजुली उक्त खोलाको बाढीका कारण घर जाँन नसक्दा सडक बारीमा नै बास बस्नुपरेको घटना सुनाउँछन् । “बाढीले घर जान नसक्दा बारी नै बास बसेका कैयौँ घटना स्मरण छन्”, उनले भने ।
