दक्षिण कोरियाको आधा जनसंख्या सियोल क्षेत्रमा

158
0
Share:

दक्षिण कोरियाको कूल जनसंख्याको आधाभन्दा बढी सियोल क्षेत्रमा रहेको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ ।

सरकारी तथ्यांकलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले बिहीबार लेखेको छ, “देशको कूल जनसंख्याको आधा संख्या सियोल महानगरीय क्षेत्रमा बसोबास गर्ने र आधाभन्दा बढी रोजगार व्यक्ति पनि सोही क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।”

राजधानी सियोल, यसको आसपासको ग्योन्गी प्रान्त र पश्चिमी शहर इन्चोनमा दर्ता भएका बासिन्दाहरूको संख्या डिसेम्बर २०२३ को अन्त्यसम्ममा दुई करोड ६० लाख १४ हजार २६५ रहेको थियो । यो कूल जनसंख्याको ५०.७ प्रतिशत हो ।

हालैका वर्षहरूमा सियोलमा बसोबास गर्ने नागरिकको संख्या घट्दो क्रममा रहेको भएपनि ग्योन्गी र इन्चोनमा बसोबास गर्नेको संख्यामा वृद्धि भएको छ ।

सन् २०१९ मा महानगरको कूल जनसंख्याको अनुपात ५०.० प्रतिशत रहेकोमा सन् २०२१ मा ५०.४ प्रतिशत र सन् २०२३ मा ५०.७ प्रतिशत पुगेको छ ।

महानगरीय क्षेत्रमा बसोबास गर्ने कर्मचारीहरूको संख्या डिसेम्बर २०२३ को अन्त्यमा करिब एक करोड ४४ लाख ८० हजार पुगेको थियो । यो देशको संयुक्त कामदारहरूको ५१.६ प्रतिशत हो ।

महानगरीय क्षेत्रमा आधारित व्यवसायले सन् २०२२ मा देशको कूल व्यवसायको ४९.१ प्रतिशत ओगटेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: