
काठमाडौं : प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ८ जनालाई पक्राउ गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका- १ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ की २१ वर्षीया बिपना, बसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की छन्।
त्यस्तै नुवाकोटको तानी गाउँपालिका-४ ओखरे घर भएकी २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक छन्।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो।
उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए।
