लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

149
0
Share:

काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन्।

कैलाली, जानकी गाउँपालिका-६ स्वर्णपुरबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही गाउँपालिका-६ बस्ने २७ अमृत थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिभुवनचोकबाट लागूऔषध ब्राउनसुगर १ सय ग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने १७ वर्षीय र १८ वर्षीय २ जना किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

झापा, विर्तामोड नगरपालिका-३ स्थित लक्की रेष्टुरेण्ट एण्ड फास्ट फुड होटलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गणपती बेकरी छेउ बस्ने २६ वर्षीय कुन्दन कुमार शर्मा र भारत दार्जेलिङ घर बताउने २३ वर्षीय रोहित मुखिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

सिन्धुली, कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ १५ ग्राम ८ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ ट्याब्लेटसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका-४ डेरा गरी बस्ने तीनपाटन गाउँपालिका-९ घर भएका २६ वर्षीय बिनोद परियार र गोलन्जोर गाउँपालिका-६ बस्ने २२ वर्षीय रबिन मैनाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो।

सुनसरी, हरिनगर गाउँपालिका-७ स्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो करिब ३२ पिस, गाँजासहितको चिलिम १ थान, स्रोत नखुलेको १ लाख ९ हजार २ सय ६० नेपाली रूपैयाँ र १ सय ३० भारतीय रूपैयाँसहित देवानगञ्ज गाउँपालिका-२ बस्ने २५ वर्षीय रहमान मिहाँ समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतिटप्पुबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही महानगरपालिका-११ बस्ने ३२ वर्षीया कल्पना राजभण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: