
काठमाडौँ। साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ। आज नेप्से परिसूचक १.९९ प्रतिशत अर्थात ४९.१८ अंकले बढेर २ हजार ५१९.५७ विन्दुमा पुगेको छ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७८ प्रतिशतले बढेर ४५२.८० विन्दुमा पुगेको छ। यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
जसमा बजार बढ्दा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो। कारोबार सुरु हुँदा बजार ओरालो लागेको थियो। ११ स् ३२ बजे नेप्से २४४४ अंकसम्म झरेको थियो। त्यसपछि बढेको बजार दिनभर रातो हुन पाएन।
म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन्। बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे।
२१० कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ४ को स्थिर रह्यो। ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो।
माथिल्लो मैलुङखोला जलविद्युतको ९.५४, कुथेली बुकरी स्मल हाइड्रोको ८.३, आत्मनिर्भर लघुवित्तको ८, सिनर्जी पावरको ७.७ तथा रुरु जलविद्युतको मूल्य ७.४ प्रतिशत बढ्यो।
हिमालयन हाइड्रोपावरको ६.३ तथा स्वरोजगार लघुवित्तको ६.१ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, अपी पावर क्रमशः अगाडि रहे।
