
पोखरा । आगामी राष्ट्रिय कृषि गणना २०७८ आउन अझै दुई वर्ष बढी समय छ । जनगणना जस्तै हरेक १० वर्षको अन्तरालमा हुने कृषि गणना संघीयता पछिको पहिलो गणना हुनेछ । विसं २०१८ देखि निरन्तर हुँदै आएको कृषि गणना २०७८ सातौं पटक हो ।
राष्ट्रिय जनगणना २०७८ भएको छ महिनापछि हुने कृषि गणनामा दुई लाख कृषक परिवारको तथ्यांक संकलन गर्ने केन्द्रीय तथ्यांक विभागको योजना छ । विभागले तयारीस्वरुप कृषि गणनामा समेटिने विषयवस्तुबारे सरोकारवाला निकायसँग छलफलको क्रमलाई अगाडि बढाएको छ ।
तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्यांक उपलब्ध गराउन छनौट विधिबाट राष्ट्रिय कृषि गणना हँदैछ । यो गणनामा अहिले ८ वर्ष पहिले समेटिएका प्रश्नबाहेकका धेरै प्रश्न थपिएको बताइन्छ ।
यसैबीच राष्ट्रिय कृषि गणना २०७८ को विषयमा केन्द्रित रहेर बिगखबरकर्मी अनुप पौडेलले केन्द्रीय तथ्यांक विभागका निर्दोशक बद्री कार्कीसँग गरेको संक्षिप्त कुराकानी तल प्रस्तुत गरिएको छ ।
आगामी कृषि गणनाको तयारी कसरी भइरहेको छ ?
कृषि गणनाका लागि हामीसँग तयारीका लागि अझै डेढ वर्षको समय छ । पूर्वतयारी धेरै गर्नुपर्ने भएकाले हामी यसै आर्थिक वर्ष देखि तयारीमा लागिपरेका छौँ ।
२०६८ को कृषि गणना जस्तो अहिलेको हुँदैन । देश संघीयतामा गइसकेको छ र सरकारका तीनै तहको आवश्यकता अनुरुपमा हामी कृषि गणना गर्नेछौँ ।
पछिल्लो समय स्थानीय सरकारले पनि तथ्यांकको खोजी गर्ने गरेको पाएका छौँ । त्यही कारणले गर्दा पनि हामीले अहिलेको कृषि गणनालाई तल्लो तहको सरकारको आवश्यकता परिपूर्ति हुने तरिकाले गर्ने योजना अनुसार अगाडि बढेका छौँ ।
यसको तयारी स्वरुप हामीले कृषि गणनासँग सम्बन्ध राख्ने सरोकारवालासँग अन्तरक्रिया गर्ने, सल्लाह सुझाव लिने, जस्ता काम गरिरहेका छौँ । सरोकारवालाहरुको आवश्यकता बुझ्नका लागि हामीले सातवटै प्रदेशमा प्रदेशस्तरीय अन्तरक्रिया गरिरहेका छौँ ।
त्यहाँबाट प्राप्त सुझावहरुलाई समायोजन गरेर आगामी प्रश्नावलीमा समावेश गर्ने तयारी छ । यसै आर्थिक वर्षमा हामीले बनाएका प्रश्नावलीलाई कृषकको माझ लगेर परीक्षण पनि गर्ने छौँ । त्यसपश्चात् बन्ने प्रश्नावली आगामी कृषि गणनाामा प्रयोग गर्नेछौँ ।
कृषि गणनामा समेटिने विषयहरु कस्ता छन् ?
कृषकहरुले गर्ने पशुपालन देखि विभिन्न खेतीपाति हरु समेटिने छन् । यसर्थ कृषि, कृषक र पशुपालन सम्बन्धि सबै विषयहरु समेट्ने योजना छ । साथै कृषकले ती कार्यका लागि प्रयोग गरेको क्षेत्रफल र त्यसबाट हुने उत्पादन, खर्च समेत समेटिने छन् ।
कृषि भइरहेको क्षेत्रफल, उत्पादन र रासयनिक वा अन्य कुनै मलको प्रयोग बारे पनि अध्ययन हुनेछ । यसबाट हामीले कृषकको संख्या, कृषकको अवस्था, कृषिका लागि प्रयोग भएका जग्गा एवम्ं सबै कृषि सम्बन्धि तथ्यांक प्राप्त हुने छ ।
गएको ८ वर्ष अगाडि भएको गणनामा हामी जिल्ला तहसम्म पुगेका थियौं । अब भने प्रदेश पनि थपिएको छ । प्रदेश भित्रका सबै जिल्लाका वडा वडामा पुगेर हामीले वास्तविक किसानको तथ्यांक निकाल्ने गरी योजना बनाएका छौं ।
कृषि गणनाका समस्या के-के रहेका छन् ?
कृषि गणना एकदम वृहत कार्यक्रम हो, यसैले यसका लागि सबैको साथको आवश्यकता पर्दछ । यो कार्यक्रम स्थानीय, प्रदेश र संघीय सरकारको संयोजनमा मात्र सम्भव छ ।
यस्तै प्रश्नको उत्तर दिने कृषकसँग पनि छलफल गर्नुपर्ने हुन्छ । तर यसको लागि हामीले समय अभावका कारण कृषकसँग सूचना लिन अलिकति समस्या छ ।
हाम्रो प्रश्नावली लामो छ । निकै ठूलो सर्भे समेत भएकाले चुनौतीपूर्ण छ । पहिला ७७ जिल्लाको सूचना निकाल्ने गरेको मा अहिले ७५३ स्थानिय तहको सूचना निकाल्नु पर्ने भएकाले यो आफैँमा चुनौतिपूर्ण छ ।
नेपालमा कृषिको तथ्यांक प्रयोग गर्नेको अवस्था कस्तो छ ?
कृषिको तथ्यांकलाई सरकारले समेत कमै प्राथमिकता दिईरहेको र प्रयोग पनि कमै भइरहेको छ । अहिलेको सन्दर्भमा चाहिँ ७५३ तहकै सरकार र आम जनताले यसलाई प्राथमिकता दिनुहुन्छ भन्ने आश छ । किनभने अहिले स्थानिय तहबाट तथ्यांकको माग एकदमै बढीरहेको छ ।
स्थानिय तहले तथ्यांकमा आधारित भएर आफ्नो योजना तर्जुमा गर्ने हो भने निकै फाइदाजनक हुने छ । सरकारले समेत तथ्यांकको उचित प्रयोग गर्ने हो भने आफ्नो लक्ष्य हासिल गर्नसक्छ ।
अन्त्यमा, यो तथ्यांकहरु कति सर्वसाधरणको पहुँचमा पनि हँदैन । यसलाई विभागले कसरी लिएको छ ?
अहिलेको तथ्यांक सर्वसाधारणले नबुझेको पनि पाएका छौँ । त्यसैले हामीले सर्वसाधारण मैत्री तथ्यांक बनाउने योजना बनाएका छौँ । आगामी दिनहरुमा स्थानीय तहका सूचनाहरु सर्वसाधारण मैत्री बनाउन लागेका छौँ ।
कृषिको तथ्यांकले नेपालमा मात्रै होइन विश्वभर नै महत्व नपाएको हो । नेपालमा मात्र नभएर विश्वमा नै कृषिको तथ्यांकले महत्व पाएको छैन । त्यसैले हामीले बनाउने त्यस्ता तथ्यांक पनि विश्वसनीय नभएको महशुस हुन्छ ।
आगामी दिनमा हामी यसलाई सुधार्दै जाने छौँ । जहाँसम्म डिजिटलाइजेसनको कुरा छ त्यसलाई पनि हामी ध्यान दिएर अगाडि बढ्छौं । आउँदो गणना अहिलेसम्मकै उत्कृष्ट हुने अपेक्षा छ ।
