
रञ्जन अधिकारी । पोखराबाट सञ्चालित ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई साइबर क्राइम मुद्धामा सीआइबीले पक्राउ गरेपछि नेपाली सञ्चार जगतमा हलचल आएको छ । पत्रकारलाई अब देख्लास् भनेर प्रहरीकहाँ जाक्ने उद्देश्यले अघि बढेको बतास व्यवसायिक घराना उल्टै बदनाम हुन पुगेको छ ।
आफू बारेको ठगी समाचार लेखेपछि बतास अर्गनाइजेशनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले सिआईबीमा उजुरी गरेका थिए । यसअघि, उनले निकै सोचविचार गरेरै यो कदम चालेको पनि खुलासा भएको छ । उनले प्रेस काउन्सिल नेपाल, सूचना प्रविधि, अभिलेख आचारसंहिता अनुगमन (विद्युत शाखा) मा ताण्डव न्यूज सूचिकृत भए नभएकोबारे जानकारी पाउँ भनेर निवेदन दिएपछि काउन्सिलले आवेदन दर्ता नभएको भनेर जानकारी गराएको देखियो । अनुगमन अधिकृत सुरेन्द्र मल्लले प्रेस काउन्सिलको पत्रमा हस्ताक्षर गरेको देखिन्छ ।

दर्ता नभएको अनलाइनमा फोटो सहितको ठगी गरेको समाचार प्रकाशित भएपछि सोहि आधारमा प्रहरीले पक्राउ गरेको खुलेको छ ।
तर, प्रेस काउन्सिलकै कर्मचारीको त्रुटीका कारण प्रहरी पनि विद्युतीय अपराध ऐन आकर्षित भन्दै चुक्यो भने बतास पनि हौसिए । प्रेस काउन्सिलको वेबसाइटमा ताण्डव र अर्जुन गिरीको नाम, सम्पर्क नम्बर समेत छ । तर ताण्डवको स्पेलिङ मिस्टेक गरिएको छ । त्यो गल्ती प्रेस काउन्सिलको हो । सञ्चारमाध्यमको नियामक निकायकै त्रुटिका कारण प्रहरी हिरासतमा परेको देखिएको छ ।
प्रहरीले प्रेस काउन्सिलमा सूचीकृत नभएका अनलाइनमाथि मात्रै साईबर क्राइम मुद्दामा कारवाही अगाडि बढाउने गरेको छ । दर्ता नभएका अनलाइन साइटमा परेको उजुरीमाथि प्रहरीले नै छानविन गर्छ ।
प्रेस काउन्सिलले माग्यो क्षमा
प्रेस काउन्सिलले सो बारे थाहा भएपछि क्षमा मागेको छ । साथै, काउन्सिलले आफ्नो कमजोरीप्रति माफी माग्दै सीआईबीलाई ताण्डव न्यूज दर्ता भएको पत्र पठाएको छ । उप प्रशासकीय अधिकृत रामशरण बोहराले लेखेका छन्ः ‘अभिलेखीकरणका क्रममा हुन गएको त्रुटी र सोबाट पत्राचार हुँदा तथ्य फरक परेको प्रति काउन्सिल सचिवालय क्षमाप्रार्थी छ । ताण्डबन्यूज डटकमका सम्पादक अर्जुन गिरीबाट जान अन्जालनमा पत्रकार आचारसंहिता विपरित काम गरेको भए आगामी दिनमा त्यस्तो नगर्ने लिखित प्रतिबद्धता आएको हुँदा सोहि बमोजिम प्रेस काउन्सिलको क्षेत्राधिकारको सम्मान गर्दै प्रशासनिक कारबाही यथाशीघ्र टुंगाई सहयोग गरिदिनुहुन निर्णयानुसार अनुरोध छ ।’

पत्रकार गिरी भोलि नियन्त्रणमुक्त हुँदै
पत्रकार गिरी प्रेस काउन्सिलको अभिलेखमा सही भएको भए र प्रेस काउन्सिलले सूचीकृत नभएको पत्राचार नगरेको भए पक्राउ पर्ने थिएनन् । प्रेस काउन्सिलको अभिलेखमा एउटा ‘स्पेलिङ’ त्रुटि हुँदा पत्रकार गिरी प्रहरी नियन्त्रणमा पुगेका हुन् । भोलि १० बजे सबै अदालती प्रक्रिया सकेर गिरी पोखरा फर्कदैंछन् ।
यसबाट घाटा सबैभन्दा बढी विपेन्द्रराज बतासलाई नै भएको छ । उनको ठगीबारे झनै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा भाइरल भएको छ । ठगीमा परेँ भनिएका पक्षबाट समेत जाहेरी परेको छ । पक्रेर काठमाण्डौ पठाउन सक्ने कास्की प्रहरीले पक्कै पक्राउ गर्ला नै ।
यसअघिको समाचार पढ्नुहोस्ः
ठगीको समाचार लेख्ने पत्रकारलाई साइबर क्राईममा उजुरी ! पत्रकार गिरी पक्राउ
ठगीको समाचार लेख्ने पत्रकारलाई साइबर क्राईममा उजुरी ! पत्रकार गिरी पक्राउ
