ठगीको समाचार लेख्ने पत्रकारलाई साइबर क्राईममा उजुरी ! पत्रकार गिरी पक्राउ

Share:

रञ्जन अधिकारी, पोखरा । ताण्डब साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । साइबर क्राइमको मुद्दामा कास्की प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाण्डौ पठाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले विपेन्द्रराज बतासले गरेको उजुरी अनुसार काठमाण्डौ प्रहरीको निर्देशनमा पक्राउ गरी काठमाण्डौ पठाएको जनाए । बतास यहाँको प्रतिष्ठित व्यवसायिक घराना बतास अर्गनाइजेशनका सञ्चालक सदस्य हुन् ।

पत्रकार गिरी पक्राउ पर्नुको कारण यस्तो छः

गत २०७५ चैत २२ गते पत्रकार गिरीले ‘ठग ! बदमास विपेन्द्रराज बतास’ शीर्षकमा ठगी गरेको सम्बन्धमा समाचार ताण्डवन्यूज डटकममा प्रकाशित गरेका थिए । पत्रकार गिरीका अनुसार आफ्नो तस्विर सार्वजनिक भएकोमा उनको आपत्ति थियो । पत्रकार गिरीले समाचार लेखिरहँदा पनि तीन पटक फोन गरेको तर नउठेको जनाएका छन् । पछि, भिडियो अन्तर्वार्ता नै ताण्डवन्यूजले सार्वजनिक गरेको समेत थियो ।

बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए। त्यसपछि, सिआइबीले गिरीलाई पक्राउ गरिदिन कास्की प्रहरीलाई पत्र लेखेको थियो। चार दिनपछि कास्की प्रहरीले पक्राउ गरेको हो । गिरीलाई फोनमार्फत बोलाएपछि उनी आफै जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए ।

साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी आएकाले केन्द्रीय अनुसन्धान ब्युराको आग्रहमा गिरीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी रानाले बताए । ‘हामीलाई सिआईबीले पक्राउ गरी पठाउन भनेकाले पठाएका छौं,’ उनले भने, ‘आरोप र कसुर के हो ? काठमाण्डौबाटै अनुसन्धान हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयमा बतास विरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै गिरीले चैत २२ गते समाचार लेखेका थिए। बतासले विभिन्न व्यक्तिसँग जग्गा कारोबार गर्ने क्रममा करोडौँ रुपैयाँ ठगी गरेको बेलिबिस्तार सहितको समाचार गिरीले सार्वजनिक गरेका थिए । जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेका छन्।

दर्ता नगरी अनलाइन चलाएको आरोप निराधार, प्रेस काउन्सिल सूचीमै नाम गल्ती

सिआइबीका प्रमुख डिआइजी निरज शाहीले पत्रिका दर्ता नगरी आफूविरुद्ध समाचार लेखेको उजुरीका आधारमा गिरीलाई पक्राउ गरिएको समाचार विभिन्न अनलाइनमा आएका छन् । पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता गरेको नभेटिएको, पत्रिका दर्ता नै नगरी समाचार लेखेको र त्यही समाचार अनलाइन छापेको उजुरी परेपछि थप अनुसन्धान गर्न पक्रेको शाहीको भनाईलाई उद्दृत गर्दै न्यूज प्रकाशित छन् ।

तर, यो आरोप निराधार छ । ताण्डव साप्ताहिक जिल्ला प्रशासन कार्यालयमा दर्ता छ भने अनलाइन प्रेस काउन्सिल र सूचना विभागमा दर्ता भइसकेको छ । बरु प्रेस काउन्सिलको सूचिमा ताण्डवन्यूजको स्पेलिङ गलत भएको छ ।

सम्पादक गिरीले भने आफ्नो पत्रिका र अनलाइन दुबै दर्ता भएको दाबी गरे। ‘मेरो पत्रिका जिल्ला प्रशासन कार्यालय र अनलाइन प्रेस काउन्सिलमा सबै प्रक्रिया पूरा गरेर दर्ता छ,’ गिरीले भने, ‘पत्रिका दर्ता भन्दा पनि बतासले प्रहरीलाई आर्थिक प्रभाव पारी मलाई फसाउन खोजेका हुन्।’

प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले गिरीको पक्राउ बारे काउन्सिललाई आधिकारिक जानकारी नआएको समाचार सार्वजनिक हुनासाथ गिरीले काउन्सिललाई निवेदन दिए । ‘हामीले दर्ता भएका सञ्चारमाध्यमका मुद्दाहरू हेर्ने हो। उहाँहरूको पत्रिका र अनलाइन दर्ता भएमा हामी हेर्छौं । छैन भने मुद्दा प्रहरीकोमा जान्छ,’ श्रेष्ठले भने ।

‘पत्रकारिता साइबर क्राइम होइन’ : गिरी

पक्राउ परेसँगै गिरीले समाचार लेख्दा साइबर क्राइम नहुने भन्दै आफ्नो फेसबुकमा पोस्ट गरेका छन । उनले लेखेका छन, ‘पत्रकारिता साइबर क्राइम होइन । जालझेल, ठगी अपराध गर्नेहरूले पत्रकारितालाई अपराध देख्नु अनौठो भएन । अपराधीको आँखामा पत्रकारिता पनि अपराध लाग्नु किन अनौठो हुन्थ्यो र ? तर जालझेल, ठगी र अपराधको पर्दाफास गर्नु पत्रकारिता हो । त्यस्तो पत्रकारिता म सधै गरिरहन्छु चाहे तिमी मेरा विरूद्ध जुनसुकै जालझेल गर वा पैसा र पहुँचको आडमा अनेक तिकडम गर वा अनेक शीर्षकका उजुरी गर । ठगीविरूद्ध मेरो कलम डगमगाउँदैन । मेरो पत्रकारिता बिचलित हुँदैन ।’

प्रहरी भन्छः ‘ठगी आरोपमा बतास विरुद्ध परेको जाहेरी दर्ता भइसक्यो’
त्यसो भए पक्राउ पूर्जी जारी गरी समात्न किन ढिला ?

पत्रकार गिरीको पक्राउपछि बतास खुशी होलान्, तर कास्की प्रहरीमा ठगी उजुरी परिसकेकाले बतास विरुद्ध नै पक्राउ पूर्जी जारी गर्ने प्रक्रियामा कास्की प्रहरी रहेको बुझिएको छ । पत्रकार गिरीले प्रहरीकै मिलेमतोमा आफूलाई फसाउन खोजेको आशंका व्यक्त गरिरहँदा कास्की प्रहरीले अब के गर्छ हेर्न बाँकी नै छ ।

ठगिएको भन्दै सार्वजनिक भएका जनकराज पहारीले बतास विरुद्ध जाहेरी दिएका छन् । कास्की प्रहरी प्रमुख एसपी रानाले पनि जाहेरी परेको पुष्टि गरेका छन् । अब अदालतबाट पक्राउ पूर्जी लिएर बतासलाई पक्राउ गर्न कास्की प्रहरीले ढिलो गर्न हुँदैन । कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जनकराजले विपेन्द्र विरुद्धको जाहेरी सम्बन्धमा बोल्न अनकनाएको भन्दै कास्कीका पत्रकारहरु अचम्मित थिए । तर, बिगखबरसँग एसपी रानाले भने जाहेरी दर्ता भइसकेको प्रष्ट पारेका छन् । पोखराका पत्रकार गिरी काठमाण्डौ पुगेका छन्, अब काठमाण्डौबाट बतासलाई पोखरा ल्याउन प्रहरीले तत्काल एक्शन लिनुपर्ने आवाज उठेको छ ।

पत्रकार संघसंस्थाको चर्को विरोध

अविलम्व रिहाई होस्ः महासंघ कास्की

पत्रकार गिरी पक्राउ परेसँगै नेपाल पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ । गिरी जिल्ला शाखाका निवर्तमान कार्यसमिति सदस्य हुन् । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार गिरीलाई समाचार लेखेकै भरमा पक्राउ गर्नु उचित नभएको प्रेस विज्ञप्तीमार्फत भनेका छन् । ‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गर्दै पक्राउ परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गर्दछ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल रोक्न महासंघको माग

पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघले पत्रकार गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्राबधानलाई लत्याउदै पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तिजनक रहेको महासचिव रमेश विष्टले जनाएका छन् ।

विज्ञप्तीमा उल्लेख छ – पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको महासंघको ठहर छ । महासंघ सम्पादक गिरीलाई तत्काल रिहाईको माग गर्दै प्रहरीको यस्तो ज्यादतीको घोर भत्र्सना गर्दछ । साथै, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्र्भीकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ । समाचार लेखेकै आधारमा पटकपटक जोडदार माग गर्दछ । अन्यथा, महासंघ कठोर संघर्षमा उत्रन बाध्य हुनेछ ।

पत्रकारिता क्षेत्रको स्वतन्त्रता र पत्रकारमाथिको हमलाः खेलकुद पत्रकार मञ्च

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका पूर्व सचिव अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष एकराज गिरीले विज्ञप्ती जारी गर्दै सक्रिय पत्रकार गिरीमाथि बिपेन्द्रराज बतासले आफूले ठगी गरेकोबारे समाचार प्रकाशित भएपछि साइबर क्राइम अन्तर्गत मुद्धा दर्ता गरेकोमा मञ्च गम्भिर आपत्ति प्रकट गरे । समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र दोषी देखिए कारवाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर भएकोमा मञ्चले खेद प्रकट गरेको छ । यो हर्कत सिंगो पत्रकारिता क्षेत्रको स्वतन्त्रता र पत्रकारमाथिको हमलाको रुपमा लिएको भन्दै मञ्चले पक्राउ परेका पत्रकार गिरीमाथिको मुद्धा विना शर्त फिर्ता लिन र अविलम्ब रिहाइको माग गरेको छ ।

साइबर क्राइमको मुद्दा नियोजितः अनलाइन पत्रकार संघ, गण्डकी

अनलाइन पत्रकार संघ, गण्डकीका अध्यक्ष गणेश बरालले कुनै सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचार सामग्री चित्त नबुझेमा उजुरी र कारवाहीसम्बन्धी दुवै व्यवस्था नियमनकारी निकाय “प्रेस काउन्सिल” मा भएकोमा नियोजित रुपमा पत्रकार अर्जुन गिरीलाई साइबर क्राइमको मुद्दा दायर गरि पक्राउ गरिएको घटनाप्रति खेद प्रकट गर्दै पक्राउ परेका पत्रकार अर्जुन गिरीको अविलम्ब रिहाइको माग गरेको छ ।

गिरीलाई अविलम्ब रिहाइ गरः प्रेस संगठन नेपाल

प्रेस संगठन नेपाल कास्कीका नेता तथा ताण्डवन्युज डटकम र ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेकोप्रति प्रेस संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस संगठन कास्कीका नेता माधव बराल र सन्देश श्रेष्ठले सोमबार संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा विपीन बतास ठगी प्रकरणको समाचार प्रकाशनलाई लिएर साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरेर गिरीलाई पोखरामा पक्राउ गरी काठमाडौं लगिएको घटनाको प्रेस संगठन कास्की घोर भत्र्सना गरिएको छ ।

‘समाचार प्रकाशन र प्रसारणको विषयलाई लिएर चित्त नबुझेमा खण्डन छाप्ने, नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान हुँदाहँुदै पत्रकारलाई साइबर क्राइमको मुद्दा दर्ता गर्नु संविधानमै व्यवस्था भएको अधिकार विपरीत रहेको ठहर संगठनको छ ।’ विज्ञप्तिमा भनिएको छ । समाचार लेखेकै भरमा पत्रकारलाई अपराधीको आरोप लगाएर पक्राउ गर्ने कार्यले प्रेस स्वतन्त्रता माथि ठाडो प्रहार भएको संगठनको बुझाइ रहेको विज्ञप्तिमा उल्लेख छ । ‘साविक प्रेस चौतारी कास्कीका सचिव समेत रहेका पत्रकार गिरीलाई विना सर्त अविलम्ब रिहाइ गर्न प्रेस संगठन कास्की जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

स्वतन्त्र प्रेसलाई हतोत्साहित गर्ने कार्यः फोनिज कास्की

पत्रकार गिरी पक्राउ परेको प्रति आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष एमबी आस्था मगरले विज्ञप्ती जारी गर्दै समाचारका विषयमा चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्ति प्रेस र अभिब्यक्ति स्वतन्त्रता माथीको ठाडो हस्तक्षेप भएको ठहर गर्दै पक्राउ परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गरेको छ ।

साथै, स्वतन्त्रता पूर्वक समाचार संप्रेषण गर्न पाउने पत्रकारको संवैधानिक हक सुनिश्चित गर्दै समाचार लेखेकै आधारमा साइबर क्राइम मुद्धा दर्ता गरि पक्राउ पर्नु स्वतन्त्र प्रेसलाई हतोत्साहित गर्ने कार्य भएकाले यस कार्य तत्काल वन्द गर्न सरकारसंग माग गरिएको छ ।

युनियनद्वारा पत्रकार गिरीको रिहाइको माग

समाचार लेखेकै आधारमा पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेकोप्रति नेपाल प्रेस युनियन कास्कीले घोर भत्र्सना गरेको छ । युनियनका जिल्ला अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त जारी विज्ञप्तिमा समाचार लेखेकै भरमा पत्रकारलाई अपराधीको आरोप लगाएर प्रहरी कठघरामा लैजानु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै बिनाशर्त रिहाइको माग गरिएको छ ।

समाचार प्रकरणमा साइबर क्राइमअन्तर्गतको मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा पक्राउ गरी काठमाडौं पठाएको घटनाप्रति युनियनले भत्र्सना गरेको छ । समाचार विषयलाई लिएर चित्त नबुझेमा नेपाल प्रेस काउन्सिलमा उजुरी गर्ने र दोषी देखिए कारबाही गर्ने प्रावधान हुँदा पनि ताण्डव साप्ताहिक सम्पादक गिरीमाथि एकाएक साइबर क्राइम मुद्दा दायर भएकोमा युनियनले आपत्ति जनाउँदै तत्काल बिनाशर्त रिहाइ माग गरेको हो । देशमा गणतन्त्र आए पनि यो वा त्यो बहानामा पटक पटक पत्रकारमाथि भइरहेका आक्रमणप्रति युनियनले निन्दा गर्दै आगामी दिनमा यस्ता घटना नदोहो¥याउन आग्रह गरिएको छ ।

प्रेस स्वतन्त्रताप्रति ठाडो प्रहारः संसदीय पत्रकार

पत्रकार गिरीलाई समाचार लेखेको आधारमा प्रहरीले पक्राउ गरेकोप्रति संसदीय पत्रकार मञ्च गण्डकीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष लालप्रसाद शर्मा र सचिव विशन क्षेत्रीले विपीन बतास ठगी प्रकरणको समाचार प्रकाशनलाई लिएर साइबर क्राइम अन्तर्गत मुद्धा दर्ता गरेर गिरीलाई पक्राउ गरिएकोमा भत्र्सना गरेको छ ।

समाचार प्रकाशन र प्रसारण विषयमा चित्त नबुझेमा प्रेस काउन्सीलमा उजुरी गर्नेलगायत प्रावधान रहे पनि साइबर क्राइमको मुद्धा दर्ता गर्न नहुने मञ्चको ठहर छ ।  गिरी पक्राउले प्रेस स्वतन्त्रताप्रति ठाडो प्रहार भएको ठहरसहित मञ्च गिरीको तत्काल विना शर्त रिहाइको माग गर्दछ । विज्ञप्तीमा उल्लेख छ ।

हाम्रो घोर आपत्तिः युवा पत्रकार संजाल

युवा पत्रकार संजाल, गण्डकीले गिरीमाथि ‘बिपिन बतास ठगी समाचार प्रकरणमा’ साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरि, कारबाही प्रक्रिया अगाडि बढाइएकोमा आपत्ति प्रकट गरेको छ ।

अध्यक्ष भीम थापा र महासचिव सुरेश अधिकारीले विज्ञप्ती जारी गर्दै समाचार विषयलाई लिएर चित्त नबुझे नेपाल प्रेस काउन्सिलमा उजुरी गर्ने र दोषी देखिए कारबाही गर्ने प्रावधान हुँदा हुँदै पनि ताण्डव साप्ताहिक सम्पादक गिरीमाथि एकाएक साइबर क्राइम मुद्दा दायर भएकोमा संजाल आपत्ति जनाउँदै तत्काल रिहाइ माग गरे ।

बिना शर्त रिहाई गरः फोटो पत्रकार

मानव अधिकार पत्रकार संघ हुर्जा कास्कीका तर्फबाट राजेश पराजुलीले पनि पत्रकार पक्राउप्रति खेद व्यक्त गरेका छन् ।

UPDATE:

फलोअपः प्रेस काउन्सिलको त्रुटीले वेबसाइट दर्ता नभएको भन्दै उजुरी, गिरी पक्राउ पर्ने थिएनन्

 

कमेन्ट गर्नुहोस्
Share: