
इलाममा १६ औं चरणको अनसन सुरु गरी अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत डा. गोविन्द केसीको समर्थनमा पोखरामा प्रदर्शन भएको छ । मानवअधिकार चौतारा चिप्लेढुङामा जम्मा भएर कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । सोलिडारिटी फर डा केसीले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, युवा तथा नागरिक अगुवाको सहभागिता थियो ।
प्रदर्शनका सहभागीले ‘तीन करोड नेपालीलाई धोका दिने कहिलेसम्म ?’, ‘सरकार जनताको हो कि माफियाको’, ‘माफियामुखी ऐन चाहिँदैन’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता गायब भयो’, जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
यही माघ ८ गते मंगलबार पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) चोक पोखरामा दबाब कार्यक्रम गर्ने सुरेश पहारीले जानकारी दिएका छन् । डा. बसन्त गौतमले राजनीति दाउपेचमा नलागी केसीको पक्षामा उभिन सबैमा अनुरोध पनि गरे ।
तर, १५ औं पटकसम्म जनताको माग लिएर अनसन बसेपनि एमाले, काँग्रेस, माओवादी कुनै सरकारले पनि माग पूरा गरेका छैनन् । उनी पछिल्ला वर्षहरुमा हरेक जसो पार्टीको नेतृत्वमा सरकार बन्दा पनि अनसन छन् । जहिले पनि डा. केसीको मागमा प्रतिपक्षीले राजनीति गर्छ र सरकार हच्कने गरेको छ । यसपटक पनि इलामकै लागि माग गरेर सोहि ठाउँमा अनसन बस्दा समेत बामपन्थी गढ ईलाममा डा. केसीलाई हुनुपर्ने समर्थन समेत भएन । उनको नागरिकसँग जोडिएको मागमा राजनीति घुसाइएको छ ।

