
प्रहरीलाई थाहै छैन, सँगै बस्ने श्रीमान् भन्छन्: ‘३ महिना अघि डिभोर्स’
पोखरामा केहि महिनाको अन्तरालमा करोडौं पैसा कुम्ल्याएर भाग्ने क्रम रोकिएको छैन । १० करोड कुम्ल्याएर पोखरा गणेशटोल बस्ने जसुधा पौडेल फरार भएको आरोप लागेको छ । २ वर्ष अघि पोखरा चाउथे स्वागतनगरकी देवी कुमारी भुजेल ५० जना बढीबाट ५० करोड कुम्ल्याएर भागिन्, ०७४ जेठमा काठमाण्डौ, जयसदेवलबाट श्रीमान सहित पक्राउ परिन् । यस्तै, स्नेहा भनेर चिनाउने बाग्लुङ बडीगार्ड ८ की सरीताकुमारी राना साढे २ करोड उठाएर भागिन्, काठमाण्डौ दरबारमार्गबाट गत माघ पहिलो साता पक्राउ परिन् । यी त महिलाहरुले ढिकुटी र मिटर ब्याजका नाममा पैसा उठाएर पोखराबाट भागेका दुई उदाहरणमात्रै हुन् । को बाट कति उठाए, कसका कति खाए ? लेखाजोखा नै हुन्न । व्यक्तिले घरघरमा बैंक स्थापना गरेजस्तो ढिकुटी र मिटरब्याज आफै कानुन विपरित कार्य हुन् । त्यसैले पैसा उठाएर भाग्नेले कोबाट कति उठाउँछ, कति खान्छ, केही पत्तो नै हुन्न । न्यूरोडमा व्यवसाय गरी २२ वर्ष देखि पोखरा बसेका भारतीय नागरिक सेख हुसेनले पोखराका परिचित व्यवसायीहरुसँग मिटरब्याजमा पैसा लिँदै दुई वर्ष अघि साढे २ करोड तिर्न सकिनँ भन्दै पोखरा छाडेका थिए ।
प्रहरीलाई अत्तोपत्तो छैन
अहिले यस्तै घटना फेरि सार्वजनिक भएको छ । तर, प्रहरीलाई अत्तोपत्तो छैन । समाचारहरु सार्वजनिक भएको ६ घण्टा बितिसक्दा पनि प्रहरीमा उजुरी परेको छैन । प्रतिक्रिया लिन खोज्दा कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर राना आफै छक्क परे । शनिबार दिउँसैदेखि सार्वजनिक भएको समाचार उनलाई पत्तै थिएन । ‘लिन्क पठाईदिनुस् त हेरम्, हामीकहाँ त उजुरी परेकै छैन त ?’ एसपी रानाले भने । उनले उजुरी परे तत्काल अनुन्धान सुरु गरिहाल्ने बताए ।
सार्वजनिक समाचार अनुसार पोखराको गणेशटोल निवासी जसुधा पौडेल केहि दिन देखि सम्पर्क विहिन छन्। उनी एक हप्तादेखि सम्पर्कविहीन भएपछि उनलाई रकम दिनेहरु खुल्न थालेका हुन् । पोखराका ब्यापारी र केहि व्यक्तिहरुसंग करोडौं रुपैया संकलन गरेकी जसुधा एक्कासी गायब भएपछि रकम दिनेहरु अत्तालिएका छन् । फेसबुकमा छोरेपाटन ठेगाना राखेकी उनले आफ्नै नामको जसु हर्बल ब्युटी पार्लरकी प्रोपाइटरका रुपमा चिनाएकी छिन् । निकै सौखिन र स्मार्ट देखिने उनले विगत २ वर्षदेखि आफन्त र व्यवसायीसँग २० लाखदेखि २ करोडसम्म रकम लिएको श्रोतले जनाएको छ । यसरी हेर्दा सबै गरी २० करोडको हाराहारीमा उनले पैसा उठाएको बताईन्छ । बसुधाको नम्बर अफ छ ।
उनी सम्पर्कविहीन भएपछि पोखरा महानगरपालिका शिशुवाका विशाल बाँस्तोलाले एक बर्ष अघि ५५ लाख दिएको, आफ्नो मासुपलसबाट करिब १२ लाख मुल्य बराबरको कुखुराको मासु समेतको रकम लिन बाँकी रहेको, पोखराकै सरस्वती क्षेत्रीले पनि पौडेललाई ५५ लाख रुपैया दिएको, पोखरा सभागृहकी शोभा बाँस्तोलासंग समेत २० लाख रुपैया लिएको, आफ्नै साझेदारी रहेको तेज जेनिया कम्पनीबाट १ करोड २० लाख रुपैंया लिएको दाबी गरिएको छ ।
सँगै बस्ने श्रीमान् भन्छन्ः ‘तीन महिना अघि नै हाम्रो डिभोर्स’
रकम दिनेहरुकै भनाईलाई आधार मान्ने हो भने १० करोड ठगी गरी फरार जसुधा पौडेलका पति भने आफूसँग सम्बन्ध विच्छेद भईसकेको बताउँछन् । पोखरा न्यूज डटकमका लागि दिननाथ बरालले लेखेका छन् ‘पूर्वपति सुरेन्द्रमणि पौडेललाई बुझ्न खोज्दा उनले विगत तीन महिना अघि सम्वन्ध विच्छेद (डिभोर्स) भएको बताए । आफू एक कर्मचारी भएको र श्रीमतीले आफ्नो क्षमता भन्दा बढी आर्थिक कारोवार गर्न थालेपछि घरमा विवाद भए पश्चात उनले नै डिभोर्स माग गरेपछि आफूले डिभोर्स दिएको पौडेलको भनाई छ ।
आफ्नी श्रीमती बढी महत्वाकांक्षी हुँदा परिवार नै विचल्ली भएको पौडेलले बताए । उनले डिभोर्स भइसकेको भनिरहँदा रकम दिनेहरु भने अचम्मित छन् । गणेशटोलकै एकै घरमा बस्दै आएका श्रीमान्श्रीमती ३ महिना अघि नै कसरी डिभोर्स ? टोलबासी नै अचम्ममा परेका छन् ।’

