
रञ्जन अधिकारी, पोखरा, २१ वैशाख /समग्र कलाकारको हितका लागि अक्षयकोष स्थापनाका लागि शुभकामना संगीत यात्रा २०७१ पोखराबाट सुरु गरिने भएको छ । सांगीतिक कलाकार संघ नेपाल, कास्कीको आयोजनामा वैशाख ३१ गते पोखरा उद्योग वाणिज्य संघ सभाहलमा कार्यक्रम हुनेछ ।
संघ, कास्कीका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार नेपालका विभिन्न शहरहरुमा आयोजना गरिने संगीत यात्रा पोखराबाट सुरु हुन लागेको हो । यात्राबारे जानकारी दिन आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भुजेलले भने ‘सम्पूर्ण पोखरेलीको प्रतिनिधित्व गर्दै हामी देशका कुना कुना पुग्ने भएकाले पनि कार्यक्रम सफल बनाउन सबै पोखरेलीको सहयोग मिल्नेमा आशावादी छौं ।’
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु हिमाल सागर, चोलेन्द्र पौडेल, जीवन दाहाल, कृष्ण गुरुङ, ज्योति लोहनी, शंकर विरही गुरुङ, भाष्करध्वज श्रेष्ठ लगायतका स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक ओम गुरुङले जानकारी दिए । स्थानीय क्षेत्रमा मात्रै नभई सबै कलाकारहरुको लागि अक्षयकोष स्थापना गरिने भएकाले सबै स्थानमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथ रहने गुरुङले बताए । पोखराबाट सुरु हुने यात्रा स्याङ्जाका दुई स्थान, लमजुङ, बाग्लुङमा गरिने निश्चित भईसकेको छ भने त्यसपछि प्रत्येक तीन महिनामा दुई स्थानमा कार्यक्रम आयोजना गरिने लक्ष्य आयोजकले राखेको छ ।
पोखरामा हुने कार्यक्रमको अनुमानित खर्च दुई लाख ४५ हजार र त्यसबाट तीन लाख ३५ हजार आम्दानी गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमबाट बचत रकम मध्ये ७५ प्रतिशत अक्षयकोषमा जम्मा गरिने र बाँकी कार्यालय व्यवस्थापनमा खर्च गरिने कोषाध्यक्ष सन्तोष बस्यालले जानकारी दिए ।
अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सन्तोष बस्यालले स्वागत तथा सचिव मिलन मनोज नेपालीले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक नवराज बराल, संचारकर्मी अभिमन्यू विक्रम राणा, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सचिव सुरेन्द्र गुरुङ लगायतले शुभकामना प्रकट गरेका थिए ।
सो अवसरमा पोखरा रामघाट निवासी शंकरमान परियार र धनमाया परियारले अक्षयकोषका लागि २५ हजार नगद सहयोग पनि प्रदान गर्ने प्रतिबद्धता जनाए । दुई वर्ष अघि स्थापित सांगीतिक कलाकार संघ, कास्कीले पोखरा बृद्धाश्रममा १५ हजार पाँच सय १५ नगद सहयोग सहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
