सुत्केरी सहित शिशुको मृत्युपछि गण्डकी मेडिकल कलेजमा तनाव

Share:

रञ्जन अधिकारी पोखरा, २१ वैशाख / सुत्केरी गराउने क्रममा शिशु सहित आमाको नै ज्यान गएपछि पोखराको नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा शनिबारदेखि तनाव उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीको कारण आमा र बच्चा दुबैको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्तले दुई दिनदेखि बिरोध प्रदर्शन जारी राखेका छन् ।

आक्रोशित आफन्तले आईतबार अस्पतालमा ढुंगा प्रहार गर्दा सामान्य क्षति भएको छ । अस्पताल प्रशासन गैरजिम्मेवार ढंगले अघि बढ्न खोजेपछि ढुंगा प्रहार गरेको मृतक पक्षले जनाएका छन् । अस्पतालको झ्यालका केहि सिसामा क्षति पुगेको छ । उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि कारबाही तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शब नउठाउने उनिहरुको अडान छ । शनिबार दिनभर प्रदर्शन गरेका उनीहरुले आईतबार पनि बिहानदेखि साँझ सम्मै नयाबजार सडकखण्ड बन्द गराएर नाराबाजी सहित प्रदर्शन गरे । प्रदर्शनको क्रममा मृतकका आफन्त र प्रहरीबीच सामान्य झडप समेत भएको थियो ।

सहमतिको लागि शनिबार वार्ता भएपनि सहमति हुन नसकेपछि आईतबार दिउँसो पुनः जिल्ला प्रशासन कार्यालयमा वार्ता भएको थियो । तर अस्पताल प्रशासनले आफ्नो गल्ति नभएको अडान जारी राखेपछि दुई दिनसम्म वार्ता विना निश्कर्ष सकिएको हो । उपचारका क्रममा कुनै गल्ती नगरेकाले क्षतिपूर्ति दिन नसकिने अस्पताल प्रशासनको अडान छ ।

सुत्केरी गराउने क्रममा शल्यक्रिया गर्दा कास्कीकोट गाबिस वडा नं ४ चिलिमडाँडाकी २२ बर्षिया बिष्णु थापाको गत शुक्रबार राति मृत्यु भएको हो । छोरी सहित विष्णुको ज्यान गएपछि उनका आफन्तले अस्पतालकै लापरबाहिका कारण ज्यान गएको आरोप लगाएका छन् । शल्यक्रियामा डा. मालती त्रिपाठी, डा. भोजराज न्यौपाने लगायतको संलग्नता रहेको मृतकका आफन्तले दाबी गरेका छन् । अस्पताल प्रशासनले भने घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । ‘एक ज्यानबाट दुई ज्यानका लागि अस्पताल लगेका थियौं । अर्को ज्यान त थपिएन भएको एउटा ज्यान पनि लियो ।’ पीडित पक्षबाट वार्तामा सहभागी छिमेकी बेदहरि सुवेदीले भने ‘अस्पताल गैरजिम्मेवार ढंगबाट अघि बढ्न खोज्यो । हाम्रा माग परा नहुन्जेल आन्दोलन जारी रहन्छ ।’ सुवेदीका अनुसार अस्पताल व्यवस्थापन माग सुन्न नै तयार छैन । निमित्त प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तामा समेत अस्पताल व्यवस्थापन मागप्रति सकारात्मक नभएपछि आन्दोलनका कार्यक्रम थप चर्काउने पीडित पक्षले जनाएका छन् । प्रदर्शनका लागि कास्कीकोटबाटै गाउँले पोखरा उर्लिएका छन् । उनीहरुले पावरका भरमा पीडितको कुरा नसुनेको भन्दै आफूहरुको माग पूरा नभएसम्म कसैसँग नझुक्ने बताए ।

पटकपटक यस्ता घटना दोहोरिरहने गण्डकी मेडिकल कलेजको सम्बन्धन नै खारेजी, उपचारमा संलग्न चिकित्सकको लाईसेन्स रद्ध र दुई जनाको ज्यान लिने अस्पतालले उचित क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तको माग छ । अस्पतालमा भर्ना भएकी महिलाको आफन्तलाई पूर्व जानकारी नै नदिई अपरेशन गरेको र एकैचोटी मृत घोषणा गरेको बिष्णुका ससुरा धनबहादुर खड्का थापाले बताए । ‘पहिले कुनै पनि समस्या छ भनेर हामिलाई भनिएन , तर अपरेशन गर्न लगियो । दुई पटकसम्म मलाई सही गर्न लगाए । दुई जनाको ज्यान गईसकेको रहेछ ।’ धनबहादुरले भने ।

गत वैशाख १८ गते विहिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सिट अभाव भएपछि सुत्केरी गराउन मध्यान्ह गण्डकी मेडिकल कलेज पुगेकोमा आफै हिँडेर रुमसम्म पुगेकी थापालाई शुक्रबार विहान ९ बजे शल्यक्रिया गर्नुपर्ने अस्पतालले बताएको थियो । छिमेकी ईन्द्रप्रसाद सुवेदीका अनुसार एक गिलास पानी खाएको भन्दै दिउँसो २ बजे समय सारिएको थियो । त्यसबेलासम्म सामान्य अवस्थाकी विष्णुलाई अपरेशन थियटर लगिएकोमा साँझ ६ बजे शिशु बचाउन नसकिएको जानकारी अस्पतालले गराएको सुवेदीले बताए । ‘आमा बचाउने कि बच्चा भने । ससुरालाई सही गराए । एक घण्टापछि छोरीको शव ल्याए । नौ बजेतिर त आमालाई नै बचाउन सकेनौं भने ।’ सुवेदीले भने ।

बाग्लुङ भकुण्डे माईती भएकी मृतक विष्णुका श्रीमान् गंगाबहादुर थापा मलेसियामा छन् । गत वर्ष वैशाख २८ गते विष्णुसँग बिहे गरेका गंगा मलेसिया गएको दुई महिना मात्रै भएको छिमेकी नन्दलाल अधिकारीले बताए ।

अस्पताल बाहिर मृतकका आफन्तले धर्ना दिएपछि अस्पताल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालमा उपचाररत बिरामीको उपचारमा भने कुनै अबरोध गरिएको छैन । प्रदर्शनकारीले दिनभर डाक्टर र कर्मचारीलाई भने आवतजावतमा अवरोध गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: