पोखरा जेसीजका गतिविधि उत्कृष्ट

Share:

रञ्जन अधिकारी, पोखरा, २२ वैशाख/ नेपाल जेसीज अन्तर्गत पोखरा जेसीज मुलुककै उत्कृष्ट शाखा रहेको भन्दै राष्ट्रिय पदाधिकारीले प्रशंसा गरेका छन् । पोखरा जेसीजले राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष लगायतको स्वागतमा राखेको कार्यक्रममा उनीहरुले पोखरा जेसीजले गरेका मिस पोखरा लगायत विभिन्न सामाजिक कार्यहरुको प्रशंसा गर्दै अन्य शाखाहरुले पनि पोखराबाट सिक्नुपर्ने धारणा राखे ।

नेपाल जेसीज वर्ष २०१४ का कार्यकारिणी उपाध्यक्ष विष्णु बरालले यहाँका युवाहरुको सकारात्मक सोचले पोखरा जेसीज उत्कृष्ट बनेको बताए । युवाले अब मुलुकको समेत नेतृत्व गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि जेसीजमा संलग्न युवाहरु सक्षम रहेको दाबी गरे । ‘पोखरा जेसीजमा रचनात्मक कार्यहरु हुन्छन् । शुक्रबासरीय प्रवचनमाला उदाहरणीय कार्यक्रम हो ।’ उनले भने ‘पोखरा जेसीजका मित्रहरु नेपाल जेसीज मात्र होईन अन्तर्राष्ट्रिय नेतृत्व तहमा रहन सक्षम छन् ।’

पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष एवं राष्ट्रिय अध्यक्ष सल्लाहकार रविन्द्र गुरुङले राजनीतिबाट टाढा रहेको जेसीज युवाहरु स्वतन्त्र रुपमै मुलुकको नेतृत्व हाँक्न तयार हुने बताए । उनले अर्को वर्ष पोखरा जेसीजले आफूलाई राष्ट्रिय नेतृत्वका लागि उभ्याउने भएकाले सबै क्षेत्रको साथ सहयोगको अपेक्षा गरे ।

नेपाल जेसीजका उपाध्यक्ष प्रकाश अधिकारीले पोखरा जेसीजले निकै राम्रो नेतृत्व उत्पादन गरेको भन्दै उत्कृष्ट कार्यहरुले अरुभन्दा माथि रहेको बताए । उनले युवाहरुलाई चलायमान बनाउने योजनाका साथ जेसीज अघि बढेको बताए ।

अर्का उपाध्यक्ष जीवन पराजुलीले पोखरा शाखाबाट सिक्ने धेरै कुरा रहेकाले नेपाल जेसिज मात्र होईन अन्तर्राष्ट्रिय जेसिजमा समेत पुग्न शुभकामना प्रकट गरे । पोखरा जेसीजका निवर्तमान अध्यक्ष विष्णुबहादुर थापाले संस्थाले हालसम्म गरेका गतिविधिबारे जानकारी दिँदै मिस पोखरालाई निरन्तरता दिइने बताए ।

पोखरा जेसिजका अध्यक्ष तिलकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष गोविन्दप्रसाद देवकोटाले स्वागत तथा महासचिव धर्मराज अर्यालले कार्यक्रमको संचालन गरेका थिए । जेसिजले गत शुक्रबार शुक्रबासरीय कार्यक्रम अन्तर्गत शान्त र समृद्ध राष्ट्रका लागि युवा नेतृत्व विषयक प्रवचन कार्यक्रम पनि गरेको थियो । यस्तै, वैशाख २६ र २७ गते नारायणगढमा हुने क्षेत्रीय ख सम्मेलनमा सहभागी हुने निर्णय पनि पोखरा जेसीले गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: