एएफसी प्रेसिडेण्ट्स कपः मनाङ समूह विजेता बन्दै अन्तिम चरणमा

Share:

रञ्जन अधिकारी पोखरा २२ वैशाख /मंगोलियामा जारी एएफसी प्रेसिडेण्ट्स कपको छनौटमा नेपालबाट प्रतिनिधित्व गरेको लिग च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब समूह विजेता बन्दै अन्तिम चरणमा पुगेको छ । सोमबार भएको खेलमा मंगोलियाको इर्चिम एफसीसँग गोलरहित बराबरीमा रोकिएपनि मनाङ समूह विजेता बनेको हो ।

यसअघि, विहिबार भएको आफ्नो पहिलो खेलमा मनाङले कम्बोडियाको सेभेरिङ फुटबल क्लबलाई ६–३ गोल अन्तरले पराजित गरेको थियो । इर्चिम एफसीले सेभेरिङ एफसीलाई हराएपछि नै मनाङले फाईनल चरणमा स्थान पक्का गरिसकेको थियो । ईर्चिम र मनाङले समान ४ अंक जोडेपनि गोल अन्तरका आधारमा मनाङ समूह सी विजेता बन्दै फाईनल चरण पुगेको हो ।

सोमबार भएको खेलमा अन्तिम १० मिनेट १० खेलाडीमा सीमित मनाङ विरुद्ध ईर्चिमले गोल गर्न भने सकेन । खेलको ८१ औं मिनेटमा मनाङका साहिद अजिज दोहोरो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । ईर्चिमले ८७ औं र दोस्रो हाफको ईन्जुरी समयमा मनाङको पोष्टभित्र बल पु¥याएको भएपनि रेफ्रीले गोलको मान्यता दिएनन् ।

समूह सीमा नेपालको मनाङ, कम्बोडियाको सेभेरिङ र मंगोलियाको ईर्चिम क्लब थिए । दुई क्लबले अन्तिम चरण प्रवेशको मौका पाएकोमा ईर्चिम पनि अन्तिम चरणमा पुगेको छ ।

प्रेसिडेन्ट कपको फाईनल चरण पुग्ने ६ क्लब उपाधि होडमा उभिनेछन् र सन् २०१५ को एएफसी कपको प्लेअफ पनि खेल्न पाउनेछन् । मनाङले पहिलो पटक फाईनल चरणमा यात्रा बनाउँदा एएफसी कप खेल्ने पहिलो नेपाली क्लबको ईतिहास रचेको छ । एएफसी प्रेसिडेण्ट्स कपको यो दशौं तथा अन्तिम संस्करण हो ।

 

कमेन्ट गर्नुहोस्
Share: