वृद्धवृद्धाका लागि पोखरामा आनन्दित गृहको स्थापना

Share:
पोखरा २४ बैशाख/पछिल्लो समय नेपाली समाज पश्चिमेली संस्कार तिर उन्मुख भइरहदा समाजमा वालवालिका र बृद्धबृद्धाहरुले उचित स्याहार सुसार पाउन छाडेका छन । बालवालिकाहरुका लागी शिशु स्याहार केन्द्रहरुको स्थापना भएको भएता पनि बृद्धबृद्धाहरुका लागी अझै पनि त्यस्ता स्याहार केन्द्रहरु सञ्चालनमा आइसकेको छैन । त्यसैलाई मध्येनजर गरेर पोखरा १२ माटेपानीमा आनन्दित गृहको स्थापना भएको छ ।

मुख्य रुपमा बृद्धबृद्धाहरुको स्याहार सुसारका लागी विभिन्न सामाजिक ब्याक्तिहरुको सहयोगमा आनन्दित गृहको स्थापना गरिएको हो । युवायुवतीहरु बिदेशिने क्रम र नेपालमै रहे पनि जागिर खाने प्रचलनले गर्दा घरमा रहेका बृद्धबृद्धाहरुले उचित स्याहार सुसार पाउन नसकेको भन्दै पोखरामा रहेका विभिन्न सामाजिक ब्याक्तिहरुले उक्त गृहको स्थापना गरेका हुन ।

बुधवार पोखरामा आयोजित कार्यक्रममा वोल्दै पद्य नर्सिङ होमका वरिष्ठ डाक्टर कुमार शमशेर राणाले पछिल्लो समयमा बृद्धबृद्धाहरुले समाजमा उचित स्याहार सुसार पाउन छाडिरहेको अवस्थामा यस्ता आनन्दित गृहको स्थापनाले बृद्धबृद्धाहरुको सुरक्षामा मुख्य भुमिका खेल्ने वताए । काठमाण्डौमा बृद्धबृद्धाहरुका लागी डे केयर सञ्चालनमा आएको भएता पनि पोखरामा पहिलोपटक संचालनमा आउन लागेकोमा धन्यबाद प्रकट गर्दै सम्पूर्ण समाजसेवीहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।त्यस्तै आनन्दित गृहका संचालक समितिका अध्यक्ष डाक्टर यज्ञमान शाक्यले बृद्धबृद्धाहरुको स्याहार सुसारका लागी आनन्दित गृह सञ्चालनमा ल्याउन लागेको वताए । समाजमा बृद्धबृद्धाहरुले उचित स्याहार सुसार पाउन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै पोखरामा पनि आफुहरुले संस्थाको स्थापना गरी बृद्धबृद्धाहरुलाई गृहमा राखी विभिन्न किसिमका सेवाहरु प्रदान गर्ने लक्ष्य रहेको वताए ।

कार्यक्रममा आनन्दित गृह संचालक समितिका महासचिव रोमा रावत शाक्यले आनन्दित गृहको उद्देश्य तथा कार्यक्रमको वारेमा प्रकाश पार्दै आनन्दित गृहमा १५ जना बृद्धबृद्धाहरुलाई राखिने र उनीहरुको स्याहार सुसारका लागी फिजियोथेरापी, नर्सिङ केयर, योगा लगायतका सेवाहरु समेत प्रदान गरिने वताइन ।
त्यसैगरी बुधवार नै सम्पन्न आनिन्दत गृह नेपाल पोखराको प्रथम साधारण सभाले डाक्टर यज्ञमान शाक्यको अध्यक्षतामा सात सदस्यीय नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डाक्टर पदम वहादुर खड्का, महासचिवमा रोमारावत शाक्य, कोषाध्यक्षमा मेजरमान बज्राचार्य र सदस्यहरुमा उत्तममान बुद्धाचार्य, चन्द्रलक्ष्मी गुभाजु र छबि गौडेल लाई चयन गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: