काठमाडौं, २४ वैशाख / अनिश्चितकालका लागि स्थगित संसदको अधिवेशन जेठ ५ गते बोलाउने तयारी गरेको छ । प्रि–बजेटबारे संसदमा छलफल गर्ने भन्दै सरकारले अधिवेसन बोलाउन लागेको हो । मुलुकमा लोकतन्त्र स्थापना भएपछि नियम निलम्बन गर्दै यसअघि प्रि–बजेटबारे संसदमा छलफल भएको थिएन ।
तर, यसपटक भने सरकारले पूर्वबजेट सदनमा छलफल गराउने भन्दै संसदको अधिवेशन जेठ ५ गते बोलाउने तयारी गरेको स्रोतले बताएको छ । यसअघिका अधिवेशनमा प्रि–बजेट (बजेट पूर्व ) छलफल नहुँदा जनप्रतिनिधिको सुझाव बमोजिम बजेट नआएको गुनासो व्यापक रुपमा आएपछि सरकारले प्रि–बजेट छलफल गर्ने गरी अधिवेशन बोलाउने तयारी गरेको हो ।
आर्थिक बर्ष सुरु भएपछि मात्रै प्रि–बजेटबारे छलफल गर्ने परम्परा रहेको थियो । सभामुख सुवासचन्द्र नेम्वाङले पनि प्रि–बजेट छलफलले मुलुकको बार्षिक बजेट निर्माणलाई जनआकाक्षा अनुरुपको परिणममुखी बनाउन सहयोग पुग्ने बताएका थिए ।
‘यस विषयमा सभामुख र अर्थमन्त्रीबीच पटक पटक छलफल भएको छ, स्रोतले ओएनएस न्यूजसँग भन्यो, ‘जेठ ५ मा संसद अधिवेधन बोलाउने विषयमा अर्थमन्त्री र सभामुखबीच करिब करिब सहमति भएको छ ।’
सदनमा एकसाता पूर्वबजेटमाथि छलफल गर्ने र त्यसपछि राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ । स्रोतका अनुसार आगामी जेठ ३० गते अर्थमन्त्रीले व्यवस्थापिका संसदमा बजेट पेश गर्ने कार्यक्रम तयार भएको छ । अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटलाई सरकारले जेठ ६ देखि २३ गतेसम्म मन्त्रालय अन्र्तगतका शीर्षकमाथि छलफल गर्ने कार्यक्रम तयार पारेको छ ।
Source: onsnews.com (outline news)
कमेन्ट गर्नुहोस्
