मनास्लु ट्रेकका लागि पोखराबाटै पर्मिट उपलब्ध गराउनुपर्ने माग

Share:

रञ्जन अधिकारी/पोखरा, २६ वैशाख संसारकै आठौं अग्लो हिमाल मनास्लु ट्रेकिङका लागि पनि उत्कृष्ट गन्तव्य भएकाले यसको व्यापक प्रचारप्रसारको खाँचो औंल्याईएको छ । ५८ वर्ष अघि नै आरोहण भएको यस हिमाल पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेपनि आशातित सफलता हासिल गर्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।

५८ औं मनास्लु हिमाल आरोहण दिवस (मे ९) को अवसरमा नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण शाखा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले विहिबार आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मनास्लु ट्रेकका लागि पोखराबाट पर्यटकहरु जान निकै झण्झटिलो भएको भन्दै सहजताका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।

नेपाल पर्यटन बोर्डका सदस्य टीकराम सापकोटाले मनास्लु संरक्षण क्षेत्र प्रवेश पत्र काठमाण्डौं स्थित मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) बाटै लिनुपर्ने बाध्यता भएकाले पोखरा आईसकेका पर्यटकलाई मनास्लु ट्रेकका लागि यहींबाटै पर्मिटको व्यवस्था गराउन सके त्यस क्षेत्रमा जाने पर्यटकको संख्या बढ्ने बताए । ‘आरोहणका लागि त काठमाण्डौंबाटै स्वीकृति लिनुपर्छ । तर मनास्लु क्षेत्रमा ट्रेकिङ गर्नका लागि दुई वटा अनुमति पत्र लिनुपर्ने हुन्छ ।’ उनले भने– ‘पदयात्रा अनुमति पत्र पोखराबाटै मिलेपनि एमक्याप पर्मिट भने काठमाण्डौंबाटै लिनुपर्ने अवस्था छ । पोखराबाटै पर्मिटको व्यवस्था गराउनुपर्ने हाम माग हो ।’

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखराका प्रमुख बलप्रसाद राईले पछिल्लो समयमा मनास्लु हिमालमा आरोहण गर्नेको संख्या बढ्दै गएको उल्लेख गर्दै पदयात्राका लागि त्यस क्षेत्र उत्कृष्ट रहेको बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण शाखाका अध्यक्ष जीवनराज सापकोटाले मनास्लु क्षेत्रमा ट्रेकिङका लागि प्रचारप्रसारमा वृद्धि, पदयात्रीलाई सहजता लगायतका सवालमा ध्यान दिनुपर्नेमा जोड दिए । एचआईभी संक्रमितको प्रतिनिधित्व गर्दै पहिलो सगरमाथा आरोही बन्ने लक्ष्यका साथ तयारीमा जुटेका गोपाल श्रेष्ठले सबैको साथ र सहयोग मिले सगरमाथाको चुचुरो टेकेर नेपालको नाम विश्वसामु चिनाउन सकिने बताए ।

कार्यक्रममा टान सचिव डम्बरराज अधिकारी, संघ, अन्नपूर्ण शाखाका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, संग्रहालयका सल्लाहकार कमलमान गुरुङ लगायतले बोलेका थिए । शाखाका उपाध्यक्ष कृष्णप्रसाद काफ्लेले स्वागत गरेका थिए भने सहसचिव एवं कार्यक्रमका संयोजक शेषकान्त शर्माले संचालन गरेका थिए ।

आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमालको पहिलो पटक सन् १९५६ मे ९ को दिन जापानी नागरिक तोसिवा इमानिशी र नेपालका ग्याल्जेन नोर्बु शेर्पाले सफल आरोहण गरेका थिए । हरेक मे ९ मा मनास्लु आरोहण दिवसका रुपमा मनाईंदै आएको छ । लमजुङ जिल्लामा रहेको मनास्लु हिमाल पदयात्राका लागि गोरखाबाट आरुघाट हुँदै माछाखोला, जगत, फिलिम, सामागाउँ बेसक्याम्प पुगिनेछ । त्यहाँबाट लार्के हुँदै मनास्लु हिमाल परिक्रमा गर्न सकिने शेषकान्त शर्माले जानकारी दिए ।

यसैबीच, मनास्लु आरोहण दिवसका अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा रहेको मनास्लु हिमालको नमुनामा रंगरोगन गरिएको छ । २०६० मा १४ लाख लागतमा ३१ फिट उचाई रहेको मनास्लु हिमालको मोडल तयार गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: