मनोनित २६ सिट नेकपा–माओवादीलाईः ढकाल

395
0
Share:

रञ्जन अधिकारी/ पोखरा, २७ वैशाख, नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकालले संविधान जारी गर्नका लागि सबै दलको सहमति आवश्यक पर्ने भएकाले संविधानसभा बाहिर रहेको एक शक्ति नेकपा–माओवादीलाई मनोनित २६ सिट दिनुपर्ने बताएका छन् । उनले मन्त्रीपरिषद्ले चयन गर्ने २६ सिट प्रमुख दलहरुले बाँडफाँड गर्न लागेकोमा आपत्ति जनाउँदै संविधानसभामा नसमेटिएकालाई समेट्नुपर्ने उल्लेख गरे ।

‘संविधानसभामा नअटेका अल्पसंख्यक जाति, भाषा, धर्म तथा समुदायलाई २६ सिटमा मनोनित गर्नुपर्छ ।’ नेपाल परिवार दल, कास्कीको प्रथम अधिवेशनको पोखरामा शनिबार उद्घाट्न गर्दै ढकालले भने ‘सहमतिय संविधान जारी गर्न नेकपा–माओवादीलाई पनि समेट्नुपर्ने हुन्छ । सबै नेकपा–माओवादीलाई दिएर भएपनि संविधान लेख्नुपर्छ । दलीय भागवण्डा किमार्थ स्वीकार्य छैन ।’

पूर्व गरिबी निवारण तथा सहकारी मन्त्री समेत रहेका सभासद् ढकालले विभेदरहित समतामूलक सुशासनयुक्त मुलुक निर्माण गर्नुपर्ने अपरिहार्यता रहेपनि ठूला दलहरु परिवर्तनलाई संस्थागत गर्न अक्षम रहेको बताए । ‘पात्रहरु, दलहरु मात्र परिवर्तन भए । नेपाली जनताले अहिले पनि परिवर्तनको अनुभूत गर्न सकिरहेका छैनन् ।’ उनले थपे ‘राजनीतिक दलहरुको आकार अनुसार विचार, हृदय छैन । त्यसैले मुलुकले निकास पाएन । लोकतन्त्र, गणतन्त्र काठमाण्डौंमा मात्र सीमित भयो ।’

ढकालले प्रतिपक्षी दल एमाओवादीले संविधान निर्माणमा भूमिका खेल्न नसके एक थान संविधान जारी भएपनि अर्को स्थानबाट जल्न सुरु हुने भएकाले सबैलाई समेटेर, सबै सहमतिमा आएर अघि बढ्न सुझाव पनि दिए । ‘चार वटा दल मात्रै सरकारमा छ । यो सरकारले सहमतिमा संविधान जारी गर्छ कि गर्दैन ? गम्भीर विषय छ ।’ उनले भने ।

समृद्ध मुलुक निर्माणका लागि राष्ट्र र राष्ट्रियतालाई शिरोपर गर्दै आÇनो पार्टी अगाडि बढेको जनाए । उनले भने ‘एक सय ३६ जाति र एक सय २३ भाषाभाषी रहेको नेपालमा सबैको अधिकार समेट्दै पार्टी अघि बढ्ने अभियानमा छ ।’ जातिय सद्भाव र सामाजिक सद्भाव कायम गर्दै परिवार दल नामाकरण भएकाले एकै परिवारमा कोहि दुष्मन नहुने भन्दै उनले परिवार दल कुनै दल विरुद्ध नउभिने पनि प्रष्ट पारे ।

अधिवेशन उद्घाटन सत्रमा केन्द्रिय प्रवक्ता सन्तोष पौडेल, केन्द्रिय सदस्यहरु कृष्णप्रसाद ढकाल, रामचन्द्र देवकोटा, धौलागिरी संयोजक बाबुराम पौडेल, शिक्षाविद् गणेशबहादुर गुरुङ, एकीकृत माओवादी कास्की उपाध्यक्ष गंगा पोखरेल, समाजसेवी जीवनाथ भट्टराई, शिवराज सुवेदी, युनिभर्सल टाईम्स सम्पादक विष्णु गिरी, कार्यालय सचिव टलकप्रसाद भट्टले शुभकामना मन्तव्य व्यक्त गरे ।

अधिवेशन तयारी समितिका संयोजक बलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ओमविक्रम ओझाले स्वागत तथा अध्यक्ष शिवजी भट्टराईले सञ्चालन गरेका थिए ।

यसैबीच, अधिवेशनले पुनः शिवजी भट्टराईको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको छ । दश जना सदस्यहरुमा जीवन भट्टराई, पुष्पराज पौडेल, बुद्धिसागर पौडेल, विष्णुमाया गौतम, ईन्द्रकुमारी श्रेष्ठ, प्रदीप देवकोटा, चन्द्रिका खत्री, विष्णुहरि ढकाल, रामचन्द्र पौडेल, सुवासचन्द्र खाती सर्वसम्मत चयन भएका छन् । वैशाख ३१ गते उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी चयन गरी कार्यसमितिलाई पूर्णता दिईने अध्यक्ष भट्टराईले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्
Share: