राष्ट्रिय व्यापार महासंघ, कास्कीको अध्यक्षमा सुवेदी

Share:

रञ्जन अधिकारी, पोखरा २९ वैशाख / नेकपा–माओवादी निकट राष्ट्रिय व्यापार महासंघ, कास्कीको अध्यक्षमा राजकुमार सुवेदी चयन भएका छन्। महासंघको केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका तमुवान संयोजक रहेका सुवेदीलाई सोमबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनले सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। निवर्तमान अध्यक्ष शिव खनाल उपाध्यक्ष चयन भए भने केशव भुजेल उपाध्यक्षमा दोहोरिएका छन्। सचिवमा पुनः काशीराम पौडेल, सहसचिवमा लक्ष्मी अधिकारी र कोषाध्यक्षमा टीकाराम पौडेल चयन भए।

सम्मेलनले सदस्यमा विशाल पौडेल, तिलक नेपाली, शुशिला थापा, संगम मरासिनी, अमृता पौडेल, धन पौडेल, ख्यामनारायण अधिकारी, लक्ष्मी मण्डल, रवि लामिछाने, सूर्यराज त्रिपाठी, गंगा थापा, रामप्रसाद शर्मा, विकास तामाङ, देवी कुँवर, जुलेखा खातुन, टंक खतिवडा, राजु त्रिपाठी, विवेक पौडेल, कृष्ण घिमिरे, निलकण्ठ पोख्रेल, विष्णुबहादुर बस्नेत र शिवबहादुर अधिकारीलाई चयन गरेको छ। सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ।

यसअघि, सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष शिव कट्टेलले साना उद्योगी व्यापारीहरुलाई राष्ट्रिय पूँजिपतिहरुले उद्योगी व्यवसायी नै नसम्झने गरेको बताउँदै साना उद्योग व्यवसाय फस्टाएको हेर्न नचाहने तत्व नै ति पक्ष रहेको दाबी गरे। ‘साना व्यापारीहरु माथि आउन नसकेको कारण यही हो। तर, साना उद्योगी व्यवसायीकै कारण उनीहरुको संरक्षण भएको छ।’ उनले भने – ‘साना लगानीकर्ताले नै उनिहरुको पूँजीको विकास भएको छ।’

उनले विप्पा जस्तो सम्झौता स्वदेशी लगानिकर्ताको सुरक्षा र संरक्षणको लागि घातक रहेको टिप्पणी गर्दै राजनीतिक अवस्थाका कारण नै साना पूँजी लगानीकर्ताहरु अघि बढ्न नसकेको बताए। साना उद्योगी व्यवसायीको हरेक समस्यामा महासंघले साथ दिने भन्दै उनले महासंघमा आबद्धताका लागि सबै उद्योगी व्यवसायीलाई अपिल पनि गरे।

जिल्ला कृषि विकास कार्यालय, कास्कीका प्रमुख रमेश कोईरालाले उत्पादन गर्ने कृषकभन्दा बजारीकरणका क्रममा बीचकाले बढि नाफा लिने परिपाटी अन्त्य गर्नुपर्ने बताए। उनले कृषि पेशामा लगानीकर्ताहरुले कम मुनाफा पाउने गरेको बताए।

राप्रपा नेपाल कास्कीका उपाध्यक्ष बरुणविक्रम राणाले राष्ट्रियताको सन्दर्भमा सबै राष्ट्रवादी पार्टीहरु एक भएर अघि बढ्नुपर्ने बताए। उनले २६ लाख भारतीयलाई नागरिकता दिनु दुर्भाग्यपूर्ण भन्दै फिर्ता लिन जोडदार माग पनि गरे।

कार्यक्रमको अध्यक्षता समेत गरेका महासंघ,कास्कीका अध्यक्ष शिव खनालले बाटामा छरिएका व्यापारीहरु अब कम्प्लेक्समा परिणत भईसकेको भन्दै सबै व्यवसायीलाई गोलबद्ध गर्दै अघि बढ्ने बताए । उनले राजनीतिक धार बलियो र विचार सशक्त भयो भने कसैले पछाडी पार्न नसक्ने उल्लेख गरे ।

स्वरोजगार श्रमिक संघका केन्द्रीय सदस्य सुर्यमोहन सुबेदीले न्युनवर्गलाइ कसरी सेवा दिन सकिन्छ भन्ने बिषयमा जोड दिनुपर्ने उल्लेख गरे। कार्यक्रममा नेकपा–माओवादी तमुवान सह–सेक्रेटरी हरि बहादुर चुमान, अखिल नेपाल ट्रेड यूनियन महासंघ कास्कीका अध्यक्ष अर्जुन छन्त्याल, राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीका प्रमुख मेघबहादुर गुरुङलगायतले बोलेका थिए।

कमेन्ट गर्नुहोस्
Share: