
रञ्जन अधिकारी पोखरा, ३१ वैशाख / वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती, बुधबार मुलुकभर भगवान बुद्धका अनुयायीहरुले उनको स्मरण गर्दै मनाए । बुद्धको जन्म, सम्बोधी लाभ र महापरिनिर्वाण जस्ता त्रिसंयोग परेको तिथि वैशाख पूर्णिमालाई पवित्र दिनका रुपमा बुद्ध जन्मभूमि नेपाल लगायतका विभिन्न मुलुकमा उनको स्मरण गर्ने गरिन्छ । अहिंसाका प्रतिक गौतम बुद्धको स्मरणमा बुद्धजयन्ती समारोह समिति कास्कीले वृहत शान्ति पदयात्रा सहित विविध सांस्कृतिक कार्यक्रम गर्दै पोखरामा बुद्ध जयन्ती मनाएको छ ।
यहाँस्थित विभिन्न गुम्बा, बौद्धविहार लगायतका संघसंस्थाको सहभागितामा धर्मशीला बुद्ध बिहार नदिपुरबाट सुरु भएको शान्ति पदयात्रा महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर विशेष समारोहमा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बौद्ध अर्घौंं सदन पोखराका प्रमुख लामा आचार्य थुब्तेन ऐशे गुरुङ (शिर लामा) ले नेपालमा बौद्ध विश्वविद्यालय स्थापना हुनुपर्नेमा जोड दिए । उनले बुद्ध धर्म र दर्शनबारे पढाई हुने विश्वविद्यालय खोल्नुपर्ने बताउँदै यसबाट देशकै विकासमा टेवा पुग्ने दाबी गरे ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा बुद्ध धर्म र दर्शनबारे अध्ययनअध्यापन नै सुरु भईसकेको सन्दर्भमा उनले बुद्धभूमि नेपालमा भने सरकार यसतर्फ गम्भीर बन्न नसकेको गुनासो गरे । ‘गुम्बा शिक्षाको केन्द्र हो । गृहस्थी जीवनमा रहनेले पनि बौद्ध शिक्षा लिन सके समाज शान्त र सुन्दर बन्छ । जीवनले सार्थकता पाउँछ ।’ उनले भने – ‘बुद्ध धर्म पढेका लामा र अन्य विद्धानहरुलाई पूजापाठ गर्ने कर्मकाण्डीको रुपमा मात्र हेर्नुभएन ।बुद्ध शिक्षा र गुम्बा शिक्षालाई पूर्ण मान्यता दिन जरुरी छ ।’ विचार शुद्ध हुनेहरु जोकोहि बुद्ध धर्मका अनुयायी बन्न सकिने उल्लेख गर्दै उनले बुद्ध धर्मका दर्शन र मान्यताहरुलाई अन्य धर्मले पनि अस्विकार नगरेको बताए ।
कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बुद्ध भूमि नेपालमै बुद्धका उपदेशको सम्मान र न्याय गर्न नसकिरहेको स्वीकार गर्दै कास्कीमा बुद्ध जयन्ती मनाउने सन्दर्भमा अक्षयकोष नै स्थापना हुनु सुखद पक्ष रहेको बताए ।
समारोह समितिका कार्यवाहक अध्यक्ष नरेन्द्रमान लालचनले बुद्ध धर्मले जातभात भनेर नछुट्याउने र समान व्यवहार, शान्ति, अहिंसामा जोड दिने भएकाले नेपालमा मात्र नभएर विश्वभर व्यापक रुपमा यो धर्मको प्रचारप्रसार गर्नुपर्ने खाँचो औंल्याए । ‘बुद्ध नेपालमा जन्मिए र विश्वभर आफ्ना सन्देश फैलाउन सफल भए । तर हाम्रै नेपालमा उनको उपयुक्त सम्मान हुन सकेको छैन ।’ उनले भने– ‘सरकारी तबारबाट समेत बुद्धधर्म र धर्मावम्बीलाई उपेक्ष गरिएको छ । पोखरामै यो विशेष समारोह गरिरहँदा सरकारी तबरबाट कुनै सहयोग प्राप्त भएन ।’ उनका अनुसार एक दिनका लागि पोखरा सभागृहको हल समेत निःशुल्क उपलब्ध गराईएन र १२ हजार तिरेर बुक गरिएको हो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व उत्तममान बुद्धाचार्य, विश्व शान्ति स्तुपाका अध्यक्ष प्रकाशमान गुभाजु लगायतले बोलेका थिए । सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले संचालन तथा सचिव गोविन्द ताम्राकारले स्वागत गरेको कार्यक्रममा ज्ञानमाला संघ धर्मशीला बुद्धविहारले स्वागत भजन प्रस्तुत गरेको थियो । भन्ते आचार्यले पञ्चशील प्रदान तथा लामाहरुले मोलम पाठ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
सो अवसरमा बुद्ध धर्मका लागि योगदान दिएको भन्दै संस्थापक सचिव उत्तममान बुद्धाचार्य सम्मानित भए । तिलकमान गुभाजुको संयोजकत्वमा गठित छनौट समितिले उनलाई सम्मानका लागि सिफारिस गरेकोमा समारोह समितिले प्रशंसापत्रले सम्मान ग¥यो ।
यस्तै, आगामी वर्षहरुमा बुद्ध जयन्ती मनाउने क्रममा सहज होस् भन्ने हेतुले अक्षयकोष समेत स्थापना गरिएको छ । शुभेच्छुकको आर्थिक सहयोगमा स्थापित अक्षयकोषमा हालसम्म २५ लाख रुपैंया संकलन भएको कोष संयोजक मैना गुरुङले जानकारी दिईन् । अक्षयकोषदाताहरुलाई प्रशंसापत्रका साथ सम्मान पनि गरिएको थियो ।
कुमुदिनी होम्सका तर्फबाट हिमाल, पहाड, तराईका भेषभूषा तथा लोक संस्कृति झल्काईएको विशेष नृत्य प्रदर्शन गरिएको थियो भने पोखराका विभिन्न बौद्धविहार, गुम्बा लगायतका संघसंस्थाको प्रस्तुति समेत रहेका थिए । कार्यक्रममा बुद्ध जयन्ती स्मारिका समेत प्रमुख अतिथिले विमोचन गरे ।
