
रञ्जन अधिकारी पोखरा, १ जेठ/ क्षयरोग एक भयानक सरुवा रोग भएकाले यसको निदानका लागि एकबाट अर्कोमा सर्नदिनबाट बच्दै नियमित औषधि सेवन गर्नुपर्नेमा जोड दिईएको छ । सरकारबाट निःशुल्क उपलब्ध हुने औषधि अनिवार्य रुपमा नियमित सेवन गरेमा क्षयरोग लागेपनि डराउनु नपर्ने विज्ञहरुले बताएका छन् ।
नेपाल क्षयरोग निवारण संस्था कास्कीले पोखरा वडा नं. ९ स्थित समदुयका नेतृत्वकर्ताका लागि आयोजना गरेको क्षयरोग सम्बन्धी अन्तक्र्रियामा सहभागीहरुले डट्स विधिबाट उपचार गरेमा क्षयरोगी पुनः स्वस्थ बन्ने भएकाले समाजमा रोग लुकाएर नबस्न आग्रह गरे । ‘छुटेका सबै क्षयरोगका बिरामीलाई खोजौं, उपचार गरी निको पारौं ।’ नाराका साथ आयोजित कार्यक्रममा वडा समिति कार्यालय पोखरा ९, टोलविकास संस्था, वडा समन्वय समिति पोखरा ९, दान्तिदर्शन महिला समूह नयाँबजारका प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रमेश अधिकारीले क्षयरोगका निदानका लागि नियमित औषधि सेवन गर्न सुझाव दिँदै निःशुल्क रुपमा उपलब्ध हुने औषधि प्रयोगका लागि आग्रह गरे । समाजमा अझै पनि रोग लुकाएर बसेकाको पहिचान गर्नुपर्ने भन्दै उनल ेसमाजका अगुवाहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
छातीरोग विशेषज्ञ डा. मोहनकुमार प्रसाईंले क्षयरोगबारे सहभागीहरुलाई जानकारी गराउँदै यो रोग लाग्दौ कोहि डराउनु नपर्ने बताए । डट्स विधिबाट क्षयरोग पूर्ण रुपमा निको हुने भन्दै उनले तर उपचारका लागि भने ढिलाई गर्न नहुने सुझाव दिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका नेपाल क्षयरोग निवारण संस्था कास्कीका सभापति केशवराज भण्डारीले पछिल्लो समयमा क्षयरोगीहरु उपचारका लागि अस्पतालसम्म पुग्ने क्रम बढेकाले क्षयरोगीको संख्या बढको देखिएपनि रोग प्रभावितको संख्या भने घट्दै गएको उल्लेख गरे । उनले नेपालमा क्ष्यरोगको अवस्थाबारे जानकारी गराउँदै संस्थाले क्षयरोग निवारणमा गरेका गतिविधिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा पोखरा ९ का वडा सचिव लोकदर्शन कोईराला, टोल समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, शान्ति दर्शन महिला समूहकी उपाध्यक्ष सीता भण्डारी, संस्थाकी सदस्य राधा बास्तोला लगायतले बोलेका थिए । सचिव गणेशबहादुर ढकालले संचालन गरेको कार्यक्रममा निवर्तमान सभापति कृष्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
