रञ्जन अधिकारी पोखरा, १ जेठ/ बन विज्ञान अध्ययन संस्थान, डीनको कार्यालयले अध्ययन संस्थानको नीतिगत निर्णय गर्ने विद्यापरिषद्को निर्णय विना नै काठमाण्डौंमा संचालन गर्ने गरी स्नातकोत्तर तहको भर्ना आवेदन आह्वान गरेकोमा यसलाई तत्काल बन्द गर्न माग गरिएको छ ।
कार्यालयले गत २०७० वैशाख ३० गते शैक्षिक सत्र २०७१÷७२ का लागि वाईल्ड लाईफ, प्रोटेक्टेड एरिया म्यानेजमेन्ट एण्ड बायोडाइभर्सिटी कन्जरभेसन विषयमा काठमाण्डौंमा संचालन गर्ने गरी भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण जनाउँदै नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल प्रगतिशिल प्राध्यापक संगठन इकाई समिति बन विज्ञान अध्यन संस्थान पोखराले भर्ना आह्वान तत्काल बन्द गर्न माग गरेका हुन् ।
ने.रा.प्र.सं. इकाई अध्यक्ष जीतनाराण शाह र ने.प्र.प्रा.सं. इकाई अध्यक्ष रामप्रसाद शर्माले विहिबार संयुक्त विज्ञप्ती जारी गर्दै सो विषयमा आधिकारीक रुपमै डिनसमक्ष विभिन्न समयमा असहमति व्यक्त गर्दै ध्यानाकर्षण गराउँदा गराउँदै पनि क्रियाशील पेशागत प्राध्यापक संगठनहरुको असहमतिलाई समेत नजरअन्दाज गर्दै एकलौटी रुपमा आह्वान गरिएकोमा खेद प्रकट गरेका छन् ।
‘बन विज्ञान अध्यन संस्थानको चौतर्फि विकासका लागि संचालन गर्न आवश्यक नयाँ विषयहरु सम्बन्धित सरोकारवालाको साझा सहमतिमा वन विज्ञान अध्ययन संस्थान पोखरा र हेटौंडा क्याम्पसमा संचालन गर्न सकिन्छ । प्राकृतिक र प्राविधिक रुपमा पनि यी क्याम्पस उपयुक्त छ ।’ विज्ञप्तीमा उल्लेख छ ।
साथै, बन विज्ञान अध्यन संस्थान पोखरा क्याम्पसलाई धराशायी बनाउने योजना सहित केहि काठमाण्डौं केन्द्रित व्यक्तिहरुको स्वार्थपूर्तिका लागि अध्यन संस्थानका सहायक डिनहरुलाई समेत जानकारी नदिई गरिएको यो निर्णयप्रति आपत्ति पनि जनाईएको छ ।
भर्ना आवेदनको आह्वान शुक्रबारसम्म बन्द गरिएको सूचना सार्वजनिक नभएमा संघर्षका कार्यक्रमहरु संचालन गर्न बाध्य हुने र यसबाट उत्पान्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवार स्वय डिन हुने चेतावनी समेत विज्ञप्तीमार्फत दिईएको छ ।
