भारतीय लोकसभा चुनाव: भाजपाको स्पष्ट बहुमत, मोदी प्रधानमन्त्री पक्का

Share:

नयाँ दिल्ली, २ जेष्ठ / भारतमा नरेन्द्र मोदी नयाँ प्रधानमन्त्री हुने निश्चित भएको छ । अनेक अडकलबाजीका माझ नौ चरणमा गरिएको संसदीय चुनावको जारी मतगणना भाजपाले स्पष्ट वहुमत हाँसिल गरेको छ । भारतको १६ औं लोकसभा निर्वाचनमा हिन्दूवादी भारतीय जनता पार्टी (बिजेपी)ले तीस वर्षको रेकर्ड तोड्दै एक्लैले बहुमत ल्याएको छ। ५४३ सदस्यीय लोकसभामा भाजपा एक्लैले २ सय ८३ सिटमा विजय हात पारिसकेको छ ।

नरेन्द्र मोदीको प्रधानमन्त्री उम्मेदवारीपछि आएको लहरले बिजेपीले नयाँ उचाई लिएको छ । यसअघि १९८४ मा इन्दिरा गान्धीको हत्यापछि भएको निर्वाचनमा राजीव गान्धीको नेतृत्वमा कांग्रेस आईले एक्लै बहुमत ल्याएको थियो । त्यसपछिको निर्वाचनमा कुनै एक दलले लोकसभामा बहुमत सिट हासिल गर्न सकेको छैन । लोकसभामा बिजेपी नेतृत्वको एनडीए गठबन्धनले ३ सय ३७ स्थानमा जित हासिल गरेको छ । सत्तारुढ कांग्रेस आईले जम्मा ४३ स्थान जितेको छ । कांग्रेस नेतृत्वको यूपीए गठबन्धनले ५८ सिटमात्रै जितेको छ । यसैगरी आम आदमी पार्टीले ४ स्थान, अकाली दलले ४ र शिवसेनाले १९ सिटमा बिजय हासिल गरेका छन् ।

मोदीको सम्बोधन:

मोदीले गुजरातको बडोदरामा मतदातालाई सम्बोधन गरेका छन्। छोटकरीमा ‘नमो’ भनिने ६३ वर्षीय नरेन्द्र मोदीले विशाल आमसभालाई सम्बोधन गर्दै भने, ‘म बडोदराका जनतालाई नमन गर्न चाहन्छु, तपाईंहरु एकएकजनाले नरेन्द्र मोदी बनेर काम गरेकै भएर यो सफलता हासिल भएको हो।’

उनले सोही सभाकै क्रममा उनलाई बनारसबाट चुनाव जिताउने मतदाताहरुलाई पनि धन्यवाद व्यक्त गरे। चार दिनपछि मंगलबार उनले भारतीय प्रधानमन्त्रीका रुपमा औपचारिक पदभार ग्रहण गर्नेछन्।

उनले बडोदराका जनतालाई अाधा घन्टाभन्दा लामो भावुक सम्बोधन गर्दैै भने, ‘गुजरातका २६ का २६ सिट भारतीय जनता पार्टीलाई जिताएकामा म आभारी छु, १ सिटमात्र हारेको भए पनि लज्जास्पद हुन्थ्यो।’

‘भारतीय जनता पार्टीले चुनाव होइन, जनताको मन जितेको’ भन्दै उनी भारतीय जनताप्रति पटकपटक आभारी देखिए। सन् १९५७ पछि पहिलोपल्ट कांग्रेसको विपक्षी सिद्धान्त बोकेको पार्टीका रुपमा दिल्लीमा भाजपाले सरकार बनाउन लागेको मोदीले बताए। इतिहासमै पहिलोपटक भारतको स्वतन्त्रतापछि जन्मेको व्यक्ति भारतको प्रधानमन्त्री बनेको उनले बताए। उनी भारतीय स्वतन्त्रताको तीन वर्षपछि सन् १९५० मा जन्मेका हुन्। चुनाव जितेपछि मोदीले पहिलोपटक अामालाई भेटेर खुसियाली मनाएका थिए।

राहुल गान्धी र सोनिया गान्धी बिजय:

उत्तर प्रदेशको अमेठीबाट कांग्रेस उपाध्यक्ष राहुल गान्धी र रायबरेली क्षेत्रबाट कांग्रेस अध्यक्ष सोनिया गान्धीले बिजय हासिल गरेका छन् । राजधानी दिल्लीका ७ वटै चुनाव क्षेत्रबाट भारतीय जनता पार्टी उम्मेद्‌वारले बिजय हासिल गरेका छन् । गुजरातमा पनि त्यहाँका सबै २६ वटा सिटमा भारतीय जनता पार्टी उम्मेद्‌वारको बिजय छाएको छ ।

भारतीय जनता पार्टी गठबन्धनको नेशनल डेमोक्रेटिक एलाइन्स(एनडीए)ले ३३३ सिटमा र भारतीय कांग्रेस गठबन्धनको युनाइटेट प्रोगेसिभ एलाइन्स(युपिए)ले ६१ सिटमा अग्र स्थानमा छ । कांग्रेस आई अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीले हार स्विकार गर्दै हारको जिम्मेवारी लिएका छन् ।

दार्जिलिङमा गोर्खाल्यान्डका समर्थक बिजेपीका आलुवालियाले जिते:

नेपालीभाषी बहुल रहेको दार्जिलिङ चुनाव क्षेत्रमा भारतीय जनता पार्टीका एसएस आलुवालियाले विजय हासिल गरेका छन्। आलुवालियालाई गोर्खाल्याान्ड आन्दोलनको अगुवा दल गोरखा जनमुक्ति मोर्चाले समर्थन गरेको थियो। उनले थोरै मतान्तरले कांग्रेसका प्रत्यासी भाइचुङ भुटियालाई हराएका छन् ।

यसअघि २००९ को चुनावमा पनि गोर्खाल्यान्ड आन्दोलनकै समर्थक जसवन्त सिंहले चुनाव जितेका थिए। फुटबलर भाइचुङ भुटिया, प्रोफेसर महेन्द्र पी लामालगायत दार्जिलिङबाट उम्मेदवार थिए। भारतीय जनता पार्टीले गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन गर्दै छुट्टै राज्यको नारामा साथ दिने आश्वासनले नेपालीभाषीको मत बटुल्न सकेको हो ।

पवन चामलिङ् पाँचौपटक सिक्किमको मुख्यमन्त्री बन्नेतर्फ:

नेपालको पूर्वी सीमानामा रहेको भारतीय प्रान्त सिक्कममा पवन चाम्लिङ पाँचौपटक मुख्य मन्त्री बन्ने सम्भावना देखिएको छ। एक महिनाअघि भएको विधान सभा निर्वाचनको आज भएको मतगणनामा चामलिङ् नेतृत्वको सिक्किम डेमोक्रेटीक फ्रन्ट नौ सिटमा विजयी भइसकेको छ।

विधान सभाको जम्मा ३२ सिटमा बाँकी गणना भइरहेकोमध्ये १८ सिटमा उनकै दलले अग्रता लिएको छ। सात सिटमा सिक्क्किम क्रान्तीकारी मोर्चा अगाडि छ। पवन चामलिङ् आफै पनि झिनो मतले अगाडि छन्। बिधान सभा सँगै लोकसभा निर्वाचनको पनि मतगणना भइरहेको छ। लोकसभाको एक सिटमा मोर्चाका एकराज ढकालले अग्रता लिइरहेका छन् ।

परेश रावल र किरण खेरले जिते:

भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा एकपछि अर्को सेलिब्रिटीहरुले बाजी मारिरहेका छन्। चर्चित अभिनेता परेश रावलले अहमदावादबाट भारतीय जनता पार्टीको खातामा सिट थपेका छन्।

किरण खेरले चण्डिगढबाट अर्की सेलिब्रिटी गुल पनागलाई हराएकी छन्। किरण खेर भारतीय जनता पार्टीकी उम्मेदवार हुन् भने गुल पनागलाई आम आदमी पार्टीले टिकट दिएको थियो।

त्यस्तै उत्तर प्रदेशको अमेठीमा अभिनेत्री स्मृति इरानीले भारतीय कांग्रेसका महासचिव राहुल गान्धीलाई हराउने लगभग निश्चित भइसकेको छ। उनी पनि भाजपाकै हुन्। त्यस्तै भाजपाकै तर्फबाट हेमा मालिनीले मथुराबाट चुनाव जित्ने लगभग निश्चित भइसकेको छ। भाजपाकै विनोद खन्नाले पञ्जाबको गुरदाशपुरबाट अग्रता लिइरहेका छन्।

भाजपाकै बप्पी लाहिरीले भने गुजरातको श्रीरामपुरबाट चुनाव हार्ने लगभग पक्का भएको छ।

कमेन्ट गर्नुहोस्
Share: