राखेप सदस्य सचिव युवराज लामा बर्खास्त, अदालत जाने लामाको चेतावनी

Share:

काठमाण्डौं, २ जेठ/ युवा तथा खेलकुदमन्त्री पुरुषोतम पौडेलले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामालाई बर्खास्त गरेका छन् । नयाँ सदस्य सचिवमा तत्कालका लागि खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल नियुक्त भएका छन् ।

एमाले नेता समेत रहेका मन्त्री पौडेलले शुक्रबार लामा र अरु पाँच जना खेलकुद पदाधिकारीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा इन्द्रबहादुर थिङ, मकुन्द पहरी, कसुम कुमारी श्रेष्ठ, पहलसिंह घर्तिमगर र नम्बर लामा छन् ।  ‘मन्त्रिपरिषद्को परामर्शले मैले राखेप सदस्य सचिवलाई बर्खास्त गरेको हुँ’ मन्त्री पौडेलले भने-उहाँहरुको कार्याकाल अघिल्लो भदौंमा नै सकिएको रहेछ ।’ काम गर्न नसकेर हटाएको हो कि सरकार फेरिएपछि हटाएको भन्ने प्रश्नमा उनले भने-यो सबै हो ।’

लामाले भने आफूले अहिलेसम्म बर्खास्तीको पत्र नपाएको भन्दै अदालत जाने बताए । कार्यकाल यसअघि नै सकिएको रहेछ भनेका छन् नि भन्ने प्रश्नमा उनले भने-’अहिलेसम्म सरकार के हेरेर बसेको रहेछ त ?’ मन्त्रिपरिषद्को निर्णयलाई मिचेर मन्त्री पौडेलले आफूलाई हटाएको दावी उनले गरेका छन् । ‘मन्त्री भएर आए लगत्तै पुरुषोत्तम पौडेलको मनसाय मलाई हटाउने थियो,’ लामाले भने । आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेकोमा अवकाश दिने मन्त्रीको निर्णय आफै अबैधानिक भएको तर्क लामाले गरेका छन् ।

लामा ०६८ साल जेठ ३० गते माओवादी कोटामा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका थिए । अवदेखि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव खुल्ला प्रतिष्प्रर्धाबाट नियुक्त गर्ने मन्त्रालयको तयारी छ । मन्त्री पौडेल र बर्खास्तमा परेका सदस्य सचिव लामा बारा निजगढ एउटै गाउँका बासिन्दा हुन् ।

खेलकुद मन्त्री पौडेलले लामालाई मन्त्रिपरिषद्को स्विकृत लिएर बर्खास्त गरेको बताएका छन् । ‘मन्त्रीस्तरीय छलफल गरेर लामा सहितका ६ जनालाई बर्खास्त गरेको हुँ’ मन्त्री पौडेलले भने ‘यसमा मैलै आफूखुसी निर्णय लिएको छैन,’।

कमेन्ट गर्नुहोस्
Share: