क्षत्री समाजले नेताहरुलाई बुझायो १६ बुँदे माग

Share:

पोखरा ४ जेठ । क्षत्री समाज नेपालले विभिन्न १६ बुँदे मागसहित पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई आइतबार ज्ञापनपत्र बुझाएको छ । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन, संघीयताको नाममा जातीय आरक्षण खारेजलगायतको माग गर्दै समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापा नेतृत्वको टोलीले उनलाई ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री थापाले आफूले समाजको मागलाई गहनरुपमा अध्ययन गरी राज्यलाई बिखण्डन हुनबाट बचाउन पहल गर्ने आश्वासन दिए ।

समाजले आइतबार नै काँग्रेसका महामन्त्री एवं संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला र प्रधानमन्त्रीका मुख्य स्वकीयसचिव बसन्तप्रसाद गौतमलाई पनि उक्त ज्ञापनपत्र बुझाएको छ । सिटौलाले पूर्वसहमतिलाई कार्यान्वयन गर्न आफूले सक्दो पहल गर्ने र अन्य राजनीतिक दललाई समाजले पहल गरेमा राम्रो र हाम्रो संविधान बन्ने बताएको समाजका केन्द्रीय सदस्य कृष्ण थापाले जानकारी दिए । प्रधानमन्त्रीका मुख्य स्वकीयसचिव बसन्तप्रसाद गौतमले नेपाली काँग्रेसले जातीय आधारको संघीय राज्य काँग्रेसले कदापि नस्वीकार्ने बताए ।

ज्ञापनपत्र बुझाउने क्रममा केन्द्रीय अध्यक्ष प्रा.डा. थापासहित नि. अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्री, उपाध्यक्ष योगेन्द्र कार्की, महासचिव रोमबहादुर कार्की, कोषाध्यक्ष रिवबहादुर थापा, केन्द्रीय सदस्य कृष्ण थापा, विकास खड्का, खेम खड्का, पवन केसीलगायत उपत्यकाका ३ वटै जिल्लाका अध्यक्ष तथा पदाधिकारीको उल्लेख्य उपस्थिति रहेको थियो । ज्ञापनपत्र बुझाउन शनिबार काठमाडौ गएको टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा प्रमुख दलका शीर्षनेताको व्यस्तताको कारण समाजले सोमबारमात्र उनीहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

१६ बुँदे ज्ञापनपत्रमा विद्यमान पाँच विकास क्षेत्रलाई अधिकारसम्पन्न बनाउने वा हिमाल, पहाड र तराई समावेश हुने गरी राज्य पुनर्संरचना गर्नेक्रममा बढीमा पाँच संघीय राज्य बनाउनुपर्ने, पहिचानको नाममा धर्म, भाषा र जातिको गन्ध आउने कुनै पनि प्रकारको राज्य पुनर्संरचना नभै भौगोलिक आधारमा श्रोत, साधनको नाममा राज्यको नामाकरण गर्नुपर्ने, क्षेत्री जातिलाई आदिवासी जातिमा सूसूचित गर्नेलगायतबारे सरकारसँग यसअघि भएको ६ बुँदे सहमति कार्यान्वयन हुनुपर्नेलगायतका माग उल्लेख गरिएको समाजमा केन्द्रीय अध्यक्ष प्रा.डा. थापाले बताए । राष्ट्रिय अखण्ड र जातीय सद्भावका निमित्त क्षेत्रीय एकता, आजको आवश्यकता भन्ने मूलमन्त्रका स्थापित क्षत्री समाजले आफ्ना माग तत्काल सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: