पोखरा ४ जेठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको संयुक्त आयोजनामा पोखरामा एक हप्ते ट्राफिक सप्ताह कार्यक्रम आइतबारदेखी सुरु भएको छ । पोखराको पृथ्वीचोकमा आइतबार आयोजित एक औपचारिक कार्यक्रमकाबीच ‘ट्राफिक सप्ताह’ कार्यक्रमको प्रहरी नायव महानिरिक्षक बमबहादुर भण्डारीले उद्घाटन गर्नुभएको हो ।
एक हप्ते कार्यक्रममा पैदलयात्रीले बाटो काट्ने ठाँउ जेव्राक्रसीङ र बस बिसौनीको प्रयोग सम्बन्धी सचेतनालाई बढी केन्द्रीत गरेर एक सातासम्म उक्त कार्यक्रम आयोजना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका ट्राफिक प्रहरी प्रमुख टेकबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार सचेतना कार्यक्रम अन्तर्गत विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी सहित १० विद्यालयका बिद्यार्थीहरु एवम् अन्य संस्थाको प्रतिनिधिको सहयोगमा सडकमा पर्चा वितरण गर्दै सचेतना जगाइनेछ भने पैदल यात्रीलाई बाटो काट्न सिकाउने तथा वस चालकहरुलाई बस विसौनीमा नै रोक्ने तथा झार्ने संस्कारको विकास गर्न पहल गरीने छ ।त्यस्तै, बाटो काट्दा जेब्राक्रसिङबाटै बाटो काट्ने बानी वसालौं, बाटो काट्दा दायाँ बाँया हेर्ने गरौं, पैदल यात्रा गर्दा गलत साईडको प्रयोग नगरौं र बच्चालाई लिएर सडकमा हिड्दा बायाँ साईड पारेर डो¥याउने गरौं । जेब्राक्रसिङ आउदा सवारी सधानको गति शुन्य गरौं लगायत सचेतनामूलक सूचना लेखिएका पर्चा समेत वितरण गरीएको छ ।
यसैविच, ‘ट्राफिक सप्ताह’ कार्यक्रमको अवसर पारेर ट्राफिक सचेतनामूलक गीतको समेत विमोचन गरीएको छ । रेडियो अन्नपुर्णका बरिष्ठ समाचार वाचक एवम् पत्रकार सन्देश श्रेष्ठको परिकल्पना, श्रेष्ठ र पत्रकार शिव शर्मा ‘चञ्चल’को शब्द र डि–मर्चा व्याण्डको स्वर संगीतमा निर्माण गरिएको उक्त गीतको विमोचन डीआईजी वमबहादुर भण्डारीले गर्नुभएको हो । कार्यक्रममा बोल्दै डिआइजी भण्डारीले ट्राफिक सप्ताह कार्यक्रमले व्यक्तिमा सचेतना आउने र त्यसकै प्रभाव स्वरुप दुर्घटना न्युनिकरण गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्बीचोकका अध्यक्ष चिरन्जिवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक निलबहादुर केसी, सचिव जयराम अधिकारी लगायतले पनि बोल्नुभएको थियो ।
