परिवर्तनसंगै चाँडै नयाँ शक्तिको उदय : भट्टराई

Share:

पोखरा, ४ जेठ ।पुर्वप्रधानमन्त्री तथा एकिकृत नेकपा माओबादीका नेता डा. बाबुराम भट्टराईले अहिलेका राजनीतिक दल र नेताहरु समायानुकुल परिमार्जित हुन नसके नेपालमा नयाँ शक्तिको उदय हुने बताएका छन् । पोखराबाट प्रकाशित हुने आदर्श नेपाल राष्ट्रिय दैनिकको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित ‘समकालिन राजनीति, चुनौती र संभावना’ विषयक अन्तरक्रियामा बोल्दै उनले नयाँ शक्ति अबको आवश्यकता भएको बताए ।

कार्यक्रममा उनले भने–‘काँग्रेस एमाले पनि कुनै बेला नयाँ शक्तिको रुपमा आएका थिए, उनीहरु पुरानो भए, त्यसपश्चात माओबादीको जन्म भयो र फेरी माओबादी पनि अब परिवर्तन हुन आवश्यक छ ।’ परिवर्तनलाई अंगाल्न नसक्ने हो भने पुनः नयाँ शक्तिको उदय हुने र पुराना शक्तिहरु पतन भएर जाने उनले उद्घोष गरे । ‘बैज्ञानिक हिसाबले पनि समयको गतिसंगै परिवर्तन हुन आवश्यक छ ।’ डाईनोसरको विपत्तीको किस्सा जोड्दै उनले भने–‘राजनीतिक पनि समयअनुसार परिवर्तन हुन नसक्ने हो भने समाप्त भएर जान्छ ।’ नेपालका सबै राजनितिक दलमा विचारधारात्मक, राजनीतिक कार्यदिशा, संगठनात्मक समस्याहरु रहेको उल्लेख गर्दै उनले केहि बर्ष भित्रै नयाँ शक्तिको जन्म हुने दाबी गरेका हुन् ।

विश्व राजनीतिक परिवेश र जनचाहना परिवर्तन भैसकेको भन्दै उनले कसैको मनोगत चाहनाले पार्टी चल्न नसक्ने बताए । भारतमा पछिल्लो निर्बाचनको मतपरिणाम र भाजपाले पाएको बहुमतको उदाहरण दिदै उनले घरछिमेकमा आएको परिबर्तनलाई आत्मासाथ गर्दै राजनितिक पार्टीहरु परिबर्तन हुनुपर्ने बताए । उनले भने–‘भारतमा अहिले देखिएको जनलहरले पनि नयाँ शक्ति जनताको चाहना भएको प्रमाणित गरिदिएको छ, यो बाट नेपाली दलहरुले पनि सिक्न जरुरी छ ।’विकास र संवृद्धिको नाराले भारतको झण्डै साढे ६ दशकको ईतिहास तोडिएको भन्दै उनले स्पष्ट कार्ययोजना भएको नेतानै नेपाली राजनीतिमा सफल हुने बताए । देशलाई अािर्थक रुपमा संवृद्ध बनाउने दिशामा अबको राजनीति अघि बढ्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । नेपालको राजनीतिक दलका नेताहरु पुरानै बिचार धारामा अडिक रहेकाले केहि बर्षमै राजनितिक ध्रुबिकरण भई नयाँ शक्ति जन्मने स्पष्ट पारे । अर्को प्रसंगमा उनले सर्बोच्च अदालतले क्षेत्राधिकार मिचेर न्यायधिश नियुक्तिको सिफारिस र २६ सभासद् मनोनयनमा आदेश जारी गरेको बताए । सर्बोच्चको आदेश शक्ति पृथकिकरणको सिद्धान्त बिपरित रहेको भट्टराईले बताए ।

अन्तरक्रियामा नयाँ शक्तिको उदयको विषयमा भट्टराईले दिएको विचारप्रति एमाओबादी नेता खिमलाल देवकोटा, नेपाली काँग्रेसका नेता देवराज चालिसे, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोईराला, प्रेस काउन्सिल नेपालका सदस्य माधव शर्मा र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोईरालाले टिप्पणी गरेका थिए । टिप्पणी गर्दै उनीहरुले भट्टराईको सोँच सकारात्मक भएको उल्लेख गरे । उनीहरुले नेपाली जनता र राजनीतिक दल पनि समयसंगै परिवर्तन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आदर्शनेपाल पत्रिकामा कार्यरत रहि योगदान पु¥याउने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा समाचार शाखाबाट सहसम्पादक विनोद लामिछाने र रेम बिक रहेका छन् । यस्तै पत्रिका वितरण शाखाबाट वितरण प्रमुख रामु गिरी सहित नविन गिरी सम्मानित भए । विज्ञापनदाताहरु मध्ये स्विट सेफका संचालक नारायण गिरी, अकला ईन्टेरियर र सेवा हस्पिटल सम्मानित भए ।

पत्रिकालाई विशिष्ट रुपमा योगदान दिए बापत तारा गिरी, ज्ञानेन्द्रबहादुर कार्की, चन्दन गिरी, नारायण बराल, हेमराज गिरी, ध्रुब पौडेल, कृष्ण गिरी, संजीवबहादुर कोईराला, गंगाप्रसाद पोखरेल, विष्णुबहादुर भट्टराई, ईन्द्र कँुवर, भानु सुवेदी, प्रेम न्यौपाने, विष्णुबहादुर बस्नेत, सन्तोष आचार्य, विश्वराज श्रेष्ठ, डण्डपाणी शर्मा, युवराज खतिवडा लगाएतलाई सम्मान गरिएको थियो ।

पत्रिकाका प्रकाशक हेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक तारा गिरीले स्वागत गरेका थिए भने व्यवस्थापक सौगात पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सम्पादक नबराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: