अनुपम साङ्गीतिक साँझमा संगीतकर्मी सम्मानित

Share:

रञ्जन अधिकारी पोखरा, ३ जेठ । अनुपम म्युजिक पोखराको आयोजनामा पोखरामा शनिबार अनुपम साङ्गीतिक साँझ तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा अनुपम सङ्गीत सम्मान २०७१ बाट सङ्गीतकर्मी बुद्धराज गुभाजु (बज्राचार्य) सम्मानित भए ।

गीतकार होमनाथ न्यौपानेका साथै दार्जिलिङका गायक कर्म ग्याल्छेन बमजन र गायिका इन्दिरा जोशीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका मूख्य प्रायोजन गरेकोमा समाजसेवी वीरेन्द्र पालिखेलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । प्रमुख अतिथि प्राज्ञ सरुभक्त, विशेष अतिथिद्वय प्राज्ञ हरिदेवी कोइराला र स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलालगायतले उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

कार्यक्रमबाट बचत रकम रेन्बो चिल्ड्रेन होमका बालबालिकाको सहयोगका लागि प्रदान गरिने र हरेक वर्ष एकजना गायक÷गायिका, सङ्गीतकार वा रचनाकारलाई सम्मान गर्ने गरी अक्षयकोष स्थापना गरिने भएको छ । पोखरासहित काठमाण्डौ र दार्जिलिङका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहेको कार्यक्रममा पोखरेली संगीतप्रेमीले खुलेर साथ दिए । तर कार्यक्रमकी प्रमुख आकर्षण बनेकी चर्चित गायिक इन्दिरा जोशीको गीत सुन्न अन्त्यसम्मै पर्खाईमा बसेका दर्शकहरु भने उनको प्रस्तुति नभएपछि खिन्न देखिए । ‘सम्मानका लागि बोलाउनुभयो । थाहा नभएकाले तयारी नै भएन ।’ ईन्दिराले स्टेजबाट यसो भनिरहँदा उध्रेकी चोली, रातो घाँघर जस्ता चर्चित गीतहरुमा प्रत्यक्ष झुम्ने चाहनामा रहेका दर्शकहरु निराश बने । उनले म्युजिक ट्रयाक बिना नै आगामी एल्बमका गीतका टुक्काहरु सुनाईन् ।

दार्जिलिङे गायक तथा संगीतकार कर्म ग्याल्छेन बम्जनले चर्चित गीत ‘चिनजान भएपछि माया बढ्दो रैछ’ लगायतका चार गीत प्रस्तुत गर्दा पोखरेलीले खुलेर साथ दिए । पोखराबाट राजधानी छिरेर नेपाली सांगीतिक आकाशमा जमिसकेका गायक सन्तोष रुचालले ‘सेवक हाजिर छ’ सहित चार गीत सुनाए भने पोखरेली चेली निरा रानाभाटले ‘कति बोलेर पछुताउँछन्’ गीत प्रस्तुत गरिन् । सिङगिङ स्टार नेपाल ऋतु लामाले नयाँ गीत ‘तिमी विना यो जीन्दगी’ प्रस्तुत गरिन् । ‘उडेर जुन’ गाउँदै स्टेज उत्रिएका रामभक्त जोजिजूले इतु जोजिजूका साथमा दुई युगल गीत गाए । नवप्रतिभा तमन्ना गुरुङ, अनुज कुलुङ, दिनेश विष्ट, ,सूर्य गुरुङ, विजय राई, उमेश राई, प्रकाश गौतम, स्मृति गुरुङ र नारायणी लामिछाने लगायतले आफ्ना प्रस्तुति राखे ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार सरुभक्तले नेपाली सङ्गीतका क्षेत्रमा अनुपम साङ्गीतिक साँझले पोखरेली सङ्गीत इतिहासमा विशिष्ट महत्व राख्ने बताए । ‘स्रष्टाहरुले समाज, देश र विश्वका लागि महत्व राख्ने सिर्जना गर्नुपर्ने हुन्छ ।’ सरुभक्तले भन ‘ स्थानीय स्तरमै भएका यस्ता कार्यक्रमले स्रष्टालाई थप जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष एवं आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले स्रष्टाहरुलाई सम्मान गर्न सके उनीहरुलाई हौसला मिल्ने बताउँदै सांगीतिक कार्यक्रममार्फत सामाजिक सेवामा समर्पित भएकोमा आभार प्रकट गरे । प्राज्ञ हरिदेवी कोईरालाले अनाथ बालबालिकाको सहयोगार्थ यस्ता कार्यक्रम हुनु राम्रो पक्ष रहेको बताईन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्निप्रसाद कँडेल, समाजसेवी वीरेन्द्र पालिखे, कालिका एफ. एम.का कार्यक्रम संयोजक मनोज पन्त लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञ सरुभक्तले अनुपम म्युजिकले उत्पादन गरेको अनुपम–४, आँचलको पनि विमोचन गरेका थिए । कार्यक्रमकी सहसंयोजक गोमा ढकालले स्वागत मन्तव्य राखेको सो कार्यक्रम आयोजक समितिका सचिव रुपिन्द्र प्रभावी, सहसचिव ऋषि खतिवडा र अतिथि सत्कार उपसमितिका संयोजक मनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । म्मोहन साहित्यिक पत्रिका, रेन्बो चिल्ड्रेन होम, अभियान युवा क्लब, आदर्श अफ्सेट प्रेस, फेवा दोहोरी साँझ एण्ड क्याफे र गजल यात्रा पोखरा गरी ६ संस्थाको सहआयोजनामा कार्यक्रम भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: