काठमाडौं, जेठ ४ – राष्ट्रिय खेलकुद परिषदको कार्यालय त्रिपुरेश्वरका कर्मचारीहरुले नव नियुक्त सदस्य सचिव चूडामणि पौडेललाई स्वागत गरिरहँदा निवर्तमान सदस्य सचिव युवराज लामा भने दलबलसहित सर्वोच्च अदालतमा पुग्नु भयो ।
गएको शुक्रबार युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले मन्त्रीस्तरीय निर्णय गरी लामालाई बर्खास्त गर्दै पौडेललाई अन्तरिम सदस्य सचिव नियुक्त गर्नुभएको थियो ।
लामासँगै नियुक्त भएका कोषाध्यक्ष इन्द्रबहादुर थिङ र सदस्यहरु नम्बर शेर्पा, मुकुन्दबहादुर पहरी, पहलसिंह घर्ती मगर, कुसुमकुमारी श्रेष्ठलाई पनि मन्त्रीले पदबाट हटाउनु भएको थियो । उहाँहरुले संयुक्त रुपमा आफूहरुलाई हटाउने मन्त्रीको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।
मन्त्री पौडेलको मन्त्रीस्तरीय निर्णय गैरकानुनी रहेकाले त्यो निर्णय कार्यान्वयन नगर्न आदेश माग्दै आफूले सर्वोच्च गएको लामाले बताउनुभयो । मन्त्रीको निर्णय स्वेच्छाचारी र गलत रहेको लामाको आरोप छ ।
२०६८ सालमा तत्कालिन माओवादी नेतृत्वको सरकार भएको बेला सदस्य सचिवमा नियुक्त भएका लामाले आफूलाई मन्त्रीपरिषदले ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको दावी गर्दै पूरा कार्यकाल काम गर्ने अडान राख्दै आउनु भएको थियो ।
यसअघिका सदस्य सचिवहरुले खेलकुद मन्त्री परिवर्तन हुने वित्तिकै राजिनामा गर्ने गरेको भएपनि लामाले राजिनामा नगर्ने अडान लिएपछि मन्त्री पौडेलले उहाँलाई वर्खास्त गर्नु भएको थियो ।
लामाले आफू खेलकुद विकास ऐन, २०४८ को दफा – ३ अनुसार अर्थात ४ वर्षे कालका लागि नियुक्त भएको दावी गर्नुभएको छ । तर मन्त्री पौडेलले भने त्यतिबेला मन्त्रीपरिषदले ऐनको दफा ६ को २ को अनुसार अर्थात राजिनामा गरेका सदस्य सचिव हरिबाबु चौधरीको बाँकी कार्यकालका लागि लामालाई सदस्य सचिव नियुक्त गरेको र लामाको पदावधि २०७० भदौमा नै सकिएको दावी गर्नुभएको छ । कार्यकाल सकिएपछि पनि पद नछाडेकाले वर्खास्त गर्नु परेको पौडेलले यसअघि बताउनुभएको थियो ।
बर्खास्तमा परेका लामासहिद ६ जना सर्वोच्चमा गएपनि नव नियुक्त सदस्य सचिव चूडामणि पौडेलले आफ्नो कार्यकक्षमा पुगरेर पदबहाली गर्नुभएको छ । वर्खास्तमा परेका लामा पत्रकार सम्मेलन गर्दै सर्वोच्चतिर लागेपछि पौडेलले राखेप पुग्नु भएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सह–सचिवसमेत रहेका उहाँ सदस्यसचिवको रुपमा पहिलो पटक राखेप जानु भएको हो । पदबहालीपछि सदस्य–सचिव पौडेलले तत्काललाई अन्तरिम भनिएपनि अर्को व्यवस्था नहुन्जेलसम्म आफूले काम गर्ने बताउनुभयो । त्यसअघि सदस्य–सचिव पौडेललाई परिषद्अन्तर्गत विभिन्न विभागका प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।
Source: Ujjyalo
