काठमाडौं, ४ जेठ / संविधानसभाका लागि मतदान भएको ६ महिना पुगेको छ । तर संविधानसभा भने हालसम्म अपूर्णछ । गत मंसिर ४ गते मतदान भएको थियो । संवैधानिक व्यवस्थाअनुसार प्रत्यक्ष र समानुपातिकतर्फका संविधानसभा सदस्य चयन भएर संविधान निर्माणको काम लागि सके पनि मन्त्रिपरिषद्ले मनोनयन गर्नुपर्ने २६ जना सभासद मनोनयन नहुँदा संविधानसभा अपूर्ण भएको हो ।
२६ जना सभासदका लागि दलहरूबीच भागबण्डा नमिलेका कारण सरकारले मनोनयनमा ढिलाई गरेको सरकार सम्बद्ध स्रोत बताउँछ । एमाले अध्यक्ष झलनाथ खनालको चीन भम्रण तथा संसदयि दलका नेता केपी ओली विरामी परेर उपचारका लागि थाइल्याण्ड भ्रमणमा रहेकाले पनि दलहरूबीच सभासद मनोनयनका विषयमा सघन छलफल नभएको एक नेता बताउँछन् । खनाल चीनबाट फर्के लगत्तै यही जेठको पहिलो सातासम्म सभासद मनोनयको तयारी भए पनि यहीबीचमा सर्वाेच्च अदालतले राजीनितक भागबण्डामा सभासद मनोनयन नगर्न प्रतिषेधको आदेश दिएपछि दलहरू थप अन्योलमा परेका छन् ।
सर्वाेच्चले यही वैशाख २९ गते १५ दिनभित्र सभासद मनोयन गर्न आदेश दिएको छ । सर्वाेच्चले आदेशमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार रहेका व्यक्तिलाई मनोनय नगर्न भनेपछि अन्योलमा परेका दलहरू सर्वाेच्चको आदेशानुसार तोकिएको मितिमा सभासद मनोनय गर्नुपर्ने भए पनि सघन छलफल गरेका छैनन् । एमाओवादी आफ्नो आन्तरिक लफडामा फसेको र एमाले नेताहरू कोही विरामी कोही व्यस्त रहेकाले पनि यो विषयमा छलफल नभएको बुझिएको छ । उता कांग्रेसभीत्र पनि यो विषयमा छलफल भइनसकेको एक नेताले जानकारी दिए ।
Source: ओएनएस
कमेन्ट गर्नुहोस्
