सागर राज तिमिल्सिना
पोखरा, ९ जेठ/काठमाण्डौमा मात्र सिमित बाजेको सेकुवाको स्वाद अब पोखरामै उपलब्ध हुने भएको छ । खाना पारखीहरुका लागि भन्दै केहि युवा व्यवसायीहरुले पोखरामै ‘बाजेको सेकुवा’को शाखा भित्राए पछि यो संभव भएको हो । दिव्यश्री फुड्स प्रालिमार्फत स्थानिय ममता गुरुङ र एकराज गिरीले बाजेको सेकुवालाई पोखरा भित्राएका हुन् । देश विदेशमा चर्चित ‘बाजेको सेकुवा’को शाखा काठमाण्डौ बाहिर विस्तार भएको यो पहिलोपटक हो । पृथ्वी होटल संघ पोखराका रिजन शेरचनले शाखाको उद्घाटन गरे ।
‘बाजेको सेकुवा’को ब्रान्च काठमाण्डौमा मात्रै ६ ठाउँमा छ । ‘हामीले काठमाण्डौकै स्तरमा खानाको स्वाद र सुविधा दिने गरि पोखरामा बाजेको सेकुवा संचालनमा ल्याएका हौँ ।’ संचालक मध्येका एक एकराज गिरीले भने–‘स्वादमा फरक नहोस् भनेर सेकुवा पनि काठमाण्डौको सेन्टर किचनबाटै ल्याउने गरेका छौँ ।’ ‘बाजेको सेकुवा’को सेन्टर किचन काठमाण्डौको दरबारमार्गमा छ भने अन्य आउटलेटहरु सिनामंगल, सोह«खुट्टे, अनामनगर, गैरीधारा, बत्तिसपुतली र सिटि सेन्टरमा छन् ।
पोखरामा बाजेको सेकुवाको ब्राण्डलाई ल्याएर संचालन गर्नकै लागि कम्पनीले करिब एक करोड रुपैँया खर्चेको जानकारी दिएको छ । ‘सेफ, सेकुवा पोल्ने र व्यवस्थापन हेर्ने स्टाफ पनि हामीले काठमाण्डौबाटै ल्याएका हौँ ।’ अर्का संचालक ममता गुरुङले भनिन्–‘वास्तविक बाजेको सेकुवाको स्वाद पोखरामै पाईन्छ ।’ कम्पनीले बाजेको सेकुवासंगै ‘रोयल क्लासिक’नामको होटल पनि संचालनमा ल्याएको छ ।
पोखरामा संचालनमा आएको ‘बाजेको सेकुवा’मा १ सय १० जना ग्राहकहरुले एकैसाथ बसेर खान सक्ने कम्पनीले दाबी गरेको छ । यस्तै कम्पनीबाटै संचालित होटलमा १४ वटा सुविधासम्पन्न कोठाहरु छन् । नागढुंगामा संचालनमा आएको ‘बाजेको सेकुवा’मा २ सय जना अट्ने सुविधासम्पन्न बेङ्क्यूट हल पनि निर्माण गरिएको छ । ‘बाजेको सेकुवा’मा अहिले सेकुवासंगै अन्य खानाहरु पनि उपलब्ध रहेको छ ।
औपचारिक रुपमा उद्घाटन भैनसकेको ‘बाजेको सेकुवा’मा खाना पारखीहरु आउने क्रम एकाएक बढेको संचालकहरुले बताए । ‘हामीले प्रोमोशनको कुनै तरिकाहरु अपनाईसकेका छैनौँ तर बोर्ड हेरेकै आधारमा ग्राहकहरु आउने क्रम बाक्लिएको छ ।’ संचालक गिरीले भने–‘औपचारिक उद्घाटन पश्चात हाम्रो व्यापार अझै उच्च हुने हामीले अपेक्षा गरेका छौँ ।’
‘बाजेको सेकुवा’ तीस वर्ष अगाडि दिननाथ भण्डारीले संचालन गरेका हुन् । हाल उनका छोरा चेतन भण्डारीले बाजेको सेकुवा संचालन गरिरहेका छन् । देशविदेशमा समेत उच्च माग रहेको यो ब्राण्डको फ्रेन्चाईजी पोखराले पहिलोपटक पाएको हो । बाजेको सेकुवा काठमाडौ ३३ वर्ष फुटपाथबाट शुरु भएको थियो ।
