पोखरा १२ का तीन टोल शान्तिपथ, ढिकालेथर र माछापुच्छ्रे बालश्रम मुक्त

Share:

रञ्जन अधिकारी पोखरा, ९ जेठ / पोखरा वडा नं. १२ अन्तर्गतका तीन टोलहरुलाई शुक्रबारदेखि बालश्रम मुक्त टोल घोषणा गरिएको छ । श्रमिक बालबालिकाको सम्पर्क केन्द्र, माटेपानीले वडा कार्यालय पोखरा–१२ को सहयोगमा शान्तिपथ, ढिकालेथर र माछापुच्छ«े टोललाई बालश्रम मुक्त क्षेत्र घोषणा गरेको हो । सो अवसरमा फूलबारी शान्तिपथ टोल विकास संस्थाका अध्यक्ष पुण्यप्रसाद लामिछाने, ढिकालेथर टोलविकास संस्थाका अध्यक्ष गुप्तबहादुर कार्की र माछापुच्छ«े टोल विकास संस्थाका अध्यक्ष भुवनप्रकाश आचार्यलाई सम्मान पनि गरिएको थियो ।

केन्द्रकी अध्यक्ष मायादेवी तझ्याले नेपाल सरकारको बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुरुप पोखरा उपमहानगरपालिकालाई सन् २०१८ सम्म बालमैत्री नगर घोषणा गर्ने योजना अनुसार वडाका तीन टोललाई बालश्रम मुक्त टोल घोषणा गरिएको जानकारी दिईन् । उनले अब टोलमा कोहि कसैको घरमा बालबालिकालाई श्रममा नलगाएको जानकारी दिँदै भविष्यमा पनि काममा नलगाउनका लागि सचेत गराएकी छिन् । बाल श्रमिकको व्यवस्थापन चुनौतिपूर्ण कार्य रहेको भन्दै उनले पोखरा उद्योग वाणिज्य र पोखरा उपमहानगरपालिकाले सहयोग गर्नुपर्ने बताईन् ।

यसअघि, कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखरा नगरलाई सन् २०१८ सम्ममा बालमैत्री नगर बनाउने लक्ष्यका साथ अघि बढिरहँदा यसरी नै टोल–टोलमा बालश्रम उन्मूलन गर्न सके चाँडै नै अभियानले सार्थकता पाउने बताए । उनले भविष्यका कर्णधार बालबालिका श्रममा लाग्नुनै नपरोस् भन्दै यसमा अभिभावक जिम्मेवार हुनुपर्ने उल्लेख गरे ।

विशेष अतिथि पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बिन्दुकुमार थापाले संघले पनि बालश्रम न्यूनिकरण कार्यक्रम संचालन गर्दै आएको जानकारी दिँदै केन्द्रसँग सहकार्य गरी अघि बढ्न तयार रहेको जनाए । उनले अहिले घोषणा गर्ने तर पछि फेरि श्रमिक बालबालिकालाई राखेको पाईएमा के गर्ने ? भन्ने प्रश्न गर्दै सचेत रहन आग्रह पनि गरे ।

पोखरा वडा नं. १२ का सचिव अर्जुनप्रसाद पौडेलले बालश्रम मुक्त टोल घोषणा गर्न पोखरामा दोस्रो बनेपनि अब बाँकी १७ टोललाई समेत बालश्रम मुक्त बनाई पोखराकै पहिलो वडा बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले बालश्रम मुक्त घोषणापछि टोलहरुलाई उपमहानगरपालिका तथा वडाले हेर्ने दृष्टिकोण पनि राम्रो रहने बताए ।

कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका होमनाथ कोईराला, नेकपा एमालेका गुप्तबहादुर कार्की, आमा समूह समन्वय समितिको तर्फबाट अध्यक्ष पार्वती गौतम, टोल विकास समन्वय समितिका तर्फबाट भुवनप्रसाद आचार्य, ढिकालेथर बाल क्लबका अध्यक्ष सञ्जीव तिवारी, केन्द्रका सहयोग समिति कोषाध्यक्ष कल्पना कार्की, सम्मानित टोलविकास संस्थाका तर्फबाट पुण्यप्रसाद लामिछाने, हिमाली गुरुङ समाजका नारायणसिंह गुरुङ, सामुदायिक सेवा केन्द्र माटेपानीका सचिव बलबहादुर कार्की लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन केन्द्र प्रमुख भुवनेश्वर भण्डारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: