अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराको १३ औं वार्षिकोत्सव, लोकगायक चन्द्रदत्त पाण्डे सम्मानित

Share:

रञ्जन अधिकारी/ पोखरा, ९ जेठ ‘मैले बोलाउँदा बोलिनौ कि सुनिनौं, जाले रुमाल बुनिनौं …’  ८१ वर्ष नाघेपनि भरिलो दाँत देखाउँदै जवानी उमेरमा जस्तो जोशका साथ चन्द्रदत्त पाण्डेले खेली लयमा गीत सुनाउँदा कार्यक्रममा सहभागी मन्त्रमुग्ध बने । वि.सं. १९९० सालमा जन्मेका स्याङ्जा थुमपोखरा ५, बायखोला निवासी पाण्डेले यस्तो गीत गाउन थालेको छ दशक नाघिसक्यो । ‘१६ वर्षकै उमेरदेखि दोहोरी खेलिन्थ्यो । दुई दिन दुई रातसम्म थकाई नमारी गीत पनि गाईयो ।’ तन्नेरीकाल सम्झँदै पाण्डे भन्छन् ‘अझै पनि नशा नशामा लोकगीत बहेको छ । सक्छु मज्जैले ।’

अलिमिया लोक वाङ्मय प्रतिष्ठान पोखराको १३ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार सम्मान ग्रहणपछि निकै हर्षित देखिएका लोकगायक पाण्डेले गीतमार्फत नै आÇनो खुशी व्यक्त गरे ‘आजै भईयो भेट अति भयो रमाईलो, घाम लागेझैं घमाईलो ।’ ६५ वर्ष बढि समय लोकगीत क्षेत्रमा योगदान दिएको भन्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मोदनाथ प्रश्रितले पाण्डेलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरे । गत वर्ष धादिङ जिल्लामा पुगेर लोकस्रष्टाहरुलाई सम्मान गरेको प्रतिष्ठानले यस वर्ष भने गाऊँमै रहेर पाखापखेरोमा गीत गाएर लामो समय कटाएका पाण्डेलाई सम्मान गरेको हो ।

साहित्यकार प्रश्रितले लोकसंस्कृति, लोकसंगीत संकटमा रहेको भन्दै यसलाई आउँदो पुस्तासम्म पु¥याउन निकै कठिन हुँदै गएको बताए । ‘पश्चिमा संगीतप्रति हाम्रा युवा सन्ततिहरु लालायित बन्दै गएका छन् । आधुनिकताका नाममा जबर्जस्त त्यस्ता गीतसंगीतलाई प्रश्रय दिने हो भने हाम्रो पहिचान नै मेटिनेछ ।’ प्रश्रितले प्रश्न गरे ‘जाति संस्कृतिबाट परिचित हुन्छ । संस्कृतिलाई अब हामीले बचाउन नसक्ने हो भने हामीले आफूलाई कसरी चिनाउने ?’

कानै टट्याउने संगीतलाई स्विकारेका युवा पुस्ताले हृदय छुने शब्द बोकेका मौलिक भाकाहरुलाई बिर्सनु बिडम्वनापूर्ण रहेको भन्दै स्रष्टासर्जक र कलाकारहरुलाई पनि लोकगीतको मर्म र भावना नमार्न आग्रह गरे । ‘यहाँका ठूला कलाकार, प्रोफेसरज्यूहरु समेत डलरका लोभले अमेरिकामा भाँडा माझेका छन् । खोई स्वाभिमान् ?’ प्रश्रितले भने ।

प्राज्ञ सरुभक्तले गाउँघरका लोकगीतहरु कलामात्र नभएर जीवन जिउने आधार रहेको बताउँदै यसलाई जोगाईराख्नुपर्ने बताए । कविवर तेजनाथ घिमिरेले लोकगीतसँग जीन्गी र ढुकढुकी रहने भन्दै ति अजर र अमर गीतका धारलाई अहिले बंग्याउने काम भईरहेकोमा असन्तोष प्रकट गरे ।

संस्कृतिविद् डा. कुशुमाकर न्यौपानेले लोकसंगीतलाई बचाउन सजर्ककहरुलाई पनि बचाउनुपर्नेमा जोड दिँदे एउटा पाखामा जीन्दगी विताएका सर्जक पाण्डे जस्ताको उचित सम्मान हुनुपर्नेमा जोड दिए । समालोचक मदन भण्डारीले अलिमियाबाट प्राकृतिक जीवन जिउन सिक्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले मानिसले जन्मदै भगवान, आमाबुबा र राष्ट्रको ऋण लिएर आउने भएकाले आफूले बुबाको नाममा ऋण तिर्ने प्रयास स्वरुप केहि गर्न खोजेको भन्दै यसै रुपमा बुझिदिन आग्रह गरे ।

सो अवसरमा प्राध्यापक डाक्टर रविलाल अधिकारीको यात्रा संस्मरण ‘घुमन्तेको सेरोफेरो’ को प्रमुख अतिथि प्रश्रितले विमोचन समेत गरे । पुस्तकका लेखक अधिकारीले आÇनो पुस्तकबारे टिप्पणीको जिम्मा पाठकलाई नै भएको भन्दै उचित सुझावको अपेक्षा राखे ।

यस्तै, कार्यक्रममा प्रतिष्ठानका सदस्य समेत रहेका तुलसी प्रवासले नेपालका विभिन्न ठाउँमा गाईने खेली र रोईला बारे भिडियो सहित जानकारी गराए । धनबहादुर गन्धर्व सारङ्गी रेट्दै लोककवि अलिमियाँलाई सम्झिए । कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष प्राज्ञ हरिदेवी कोईरालाले स्वागत तथा संचालन सचिव पद्मराज ढकालले गरेका थिए ।

 

 

 

कमेन्ट गर्नुहोस्
Share: