पार्टी प्रतिनिधिबाट घोषित धर्म निरपेक्षता खारेज गरः आत्मानन्द गिरीजी

Share:

रञ्जन अधिकारी, पोखरा ११ जेठ / “बालबालिकालाई संस्कार सिकाआंै, धर्म संस्कार र संस्कृतिको संरक्षण गरौं” भन्ने मूल मन्त्रका साथ बैदिक सनातन धर्मलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ पोखरामा आईतबारदेखि श्रीमद्भागवत् विश्व जागरण महामहोत्सव २०७१ सुरु भएको छ । वैदिक रिसर्च सेन्टर तथा धार्मिक सञ्चार कोष स्थापना गर्ने समेत लक्ष्य राखिएको छ ।

आगामी जेठ २१ गतेसम्म ११ दिन नयाँ बजारको पोखरा प्रदर्शनी केन्द्रमा संचालन हुने महामहोत्सवको अनन्त श्री विभूषित महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, लुम्बिनी विकास कोषका उपाध्यक्ष बौद्ध धर्मका गुरु आचार्य कर्मा संघवु, मोक्षधाम सेवा आश्रम (आठधाम)का पीठाधीश तथा महाअभियानका संकल्पकर्ता, प्रवचक बालव्यास विभूति ईश्वरकृष्ण महाराजजी लगायतले पानसमा बत्ती पालेर उद्घाटन गरे ।

प्रमुख अतिथि आत्मानन्द गिरीजी महाराजले भारतबाहेक विश्वका सबै सबल राष्ट्रहरु धर्म सापेक्ष रहँदा नेपाललाई मात्र नेताहरुले विदेशीको ईशारामा धर्म निरपेक्ष घोषणा गरेको भन्दै असन्तुष्टि जनाए । ‘विश्वको एकमात्र हिन्दु राज्य नेपाललाई पार्टी प्रतिनिधिले धर्म निरपेक्ष घोषणा गरे ।’ उनले भने – ‘उनीहरु जनताबाट चुनिएर गएका थिएनन् । नयाँ नेपाल यस्तै परिवर्तनले बन्छ भनेर हामी सुतिरह्यौं । यो निर्णय खारेज हुनुपर्छ । ’ बुद्ध जन्मभूमिलाई बुद्ध धर्म सापेक्ष बनाए पनि चित्त बुझ्थ्यो भन्दै उनले विदेशीको ईशारामा दलालहरुले धर्म संस्कृति मास्न खोजेकाले जनमत संग्रह गरिनुपर्ने बताए । ‘नेपाल आमाको अस्मिता लुटे यिनीहरुले । ईतिहास मेटाउने कुचेष्टा गरे । अब सबै नेपाली एकसाथ अघि बढ्नुपर्छ ।’ उनले भने ।

उनले हरेक बाबु आमाले बालबालिकालाई संस्कार सिकाउनुपर्ने बताए । ‘शिक्षा विद्यालय र सम्पति कमाउन सिक्छन् । बाबुआमाले सिकाउनुपर्ने संस्कार हो ।’ उनले भने ‘हाम्रा बाबुआमा शिक्षित थिएनन् तर उनीहरुले हामीलाई संस्कार सिकाउनुभयो । त्यसैले, हामी सज्जन छौं ।’

लुम्बिनी विकास कोषका उपाध्यक्ष बौद्ध धर्मका गुरु आचार्य कर्मा संघवुले धर्मको आस्था अन्र्तहृदयदेखि नै हुनुपर्ने भन्दै प्राचीन धार्मिक सहिष्णुतालाई निरन्तरता दिनुपर्ने बताए । उनले हिन्दु र बौद्ध धर्म सम्मानजनक धर्म रहेको उल्लेख गरे ।

बालव्यास विभूति ईश्वरकृष्ण महाराजजीले आमाबुबा, समाज, प्रकृति, राष्ट्र मान्नु नै धर्म भएकाले मानिस कसरी निरपेक्ष रहन्छ ? भनि प्रश्न गर्दै धर्म निरपेक्षता शब्द नै गलत भएकाले नेपाल धर्म निरपेक्ष राष्ट्र हुनै नसक्ने बताए । बैदिक सनातन धर्मको पवित्र भूमि नै नेपाल भएकाले राष्ट्रिय धर्मलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिँदै यसभित्रको कुसंस्कारलाई अन्त गर्नुपर्ने बताए । ‘आर्थिक प्रलोभनमा पार्दै डलरबादीले धर्म परिवर्तन गरेकालाई माईक समातेर गाली नगरौं । आफ्नो धर्म बुझौं ।’ उनले भने ‘विश्वको सबैभन्दा पूरानो र वैज्ञानिक धर्म हाम्रै भएकाले यसको विश्वव्यापीकरण गरौं । जातभातमा नअल्झिऔं । कर्म गर्ने मानिस नै पवित्र हुन्, कुसंस्कारलाई सच्याएर अघि बढौं ।’

उनले देवीदेवताका नाममा धेरै मन्दिर बनाएर पूजा गरेपनि मानवीय धर्म समेत पूरा गर्न नसकिरहँदा अब संस्कार मन्दिर स्थापना गर्नुपर्नेमा जोड दिए । ‘हप्ताको एक दिन आधा घण्टामात्रै भएपनि आÇना बालबालिकालाई मन्दिरमा लगी संस्कार सिकाऔं ।’ उनले भने ‘नत्र, बुढेसकालमा वृद्धाश्रममा जान तयारी अवस्थामा रहनुपर्ने स्थित आउन सक्छ ।’

डा. बासुदेव कृष्णशास्त्रीजी महाराजले देशमा आगो लगाएर संस्कृति, धर्म छिन्न भिन्न पारेको भन्दै अब हिन्दु, बौद्ध, जैन, शिख, किराँती धर्मावलम्बी आफ्ना संस्कार माथिको आक्रमण सहेर नबस्न आग्रह गरे ।

भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले संस्कृति सुधारका लागि चलिरहेको यो महायज्ञमा सहभागी हुन सम्पूर्ण पोखरेलीलाई आग्रह गरे ।

प्रखर वक्ता चैतन्य कृष्ण महाराजजीले वैदिक सनातन धर्मको देश, सूर्यको किरणले धर्तीमा पहिलो पटक पाईला टेक्ने भूमि, विश्वको शिरभूमि नेपालमा बिधर्मीको डलर खेतीले मरुभूमि बनाउँदा अब ८४ प्रतिशत हिन्दु सहित बौद्ध, किराँती, जैन लगायत ९५ प्रतिशत मिलेर खेद्नुपर्ने बताए । आदि सभ्यता, लेखन, भाषा, संगीतको उद्गम भूमि नेपाल एकमात्र सार्वभौम र कसैको उपनिवेश नबनेको राष्ट्र भएकाले यहाँ कुनै दलले भन्दैमा निरपेक्ष राष्ट्र नहुने बताए ।

परमगुरु प्रवेश जैन मार्गका डा. पूजा महाराजकी प्रतिनिधिी प्रियसी महाराजजीले हामीले धर्मको रक्षा गर्न सके मात्र धर्मले पनि हाम्रो रक्षा गर्ने बताईन् ।

स्वामीनारायण मन्दिरका संरक्षक श्रीजीप्रसाद स्वामीले बालबालिकाहरुलाई संस्कार सिकाई शाकाहारी जीवन जिउनका लागि आग्रह गरे ।

कार्यक्रममा महोत्सव सल्लाहकार तथा पूर्व सांसद शुक्रराज शर्माले धर्मले समाजको विकृति अन्त्य हुने भएकाले पोखराबासी यस अभियानमा सहभागी भई सुसंस्कृत युक्त समाज निर्माणमा सहयोग गर्न आग्रह गरे ।

ब्राह्मण समाज नेपालका संरक्षक नारायणप्रसाद अधिकारीले विशेषगरी युवा पुस्तामा संस्कारको क्षय भइरहँदा संस्कार विकासमा यस अभियानले सहयोग गर्ने बताए । उनले महिला र नारी जगतको सम्मान गर्ने धर्म नै हिन्दु धर्म भएकाले कुसंस्कारको अन्त्य गर्दै पुनः धर्मसापेक्ष राष्ट्र घोषणा गर्न नेपाली लाग्नुपर्ने बताए ।

कार्यक्रममा लोककल्याण सेवा प्रतिष्ठान देवकघाट धामका महासचिव रामेश्वर खनाल, एकीकृत माओवादीका नेता बखानसिंह तमु, आयोजक समिति महिला परिचालन संयोजक ईन्दिरा कोईराला लगायतले बोलेका थिए ।

महोत्सव मूल समारोह समिति संयोजक भीमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मोक्षधाम सेवा आश्रम पोखरा समितिका अध्यक्ष जीतबहादुर गुरुङले स्वागत तथा आयोजक समितिका महासचिव टापेन्द्रप्रसाद रिजालले संचालन गरेका थिए । यसअघि, आईतबार विहान महायज्ञस्थल प्रदर्शनीकेन्द्रबाट सुरु भएको कलश यात्रा पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै पुनः नयाँबजार स्थित महायज्ञस्थल पुगेको थियो ।

महोत्सवमा बालव्यास विभूति ईश्वरकृष्ण महाराजजीले प्रवचन दिनेछन् भने प्रमुख आकर्षणको रुपमा नेपालमा पहिलोपट पटक सवा करोड शालिग्राम परिक्रमा गर्ने कार्यक्रम पनि रहनेछ । विभिन्न धर्मका अग्रज व्यक्तित्वबाट धार्मिक प्रवचन तथा श्रीमद्भागवत संङ्गीतमय कथावाचन कार्यक्रम पनि रहनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: