खरेल काठमाडौं प्रहरी प्रमुखबाट हटाइए

381
0
Share:

काठमाडौं, जेष्ठ १२ /  मर्यादा विपरीत आफ्नो संगठनका अधिकारीको विपक्षमा अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले काठमाडौं प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललाई मुख्यालय तानेको छ । उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई पठाउने भएको छ । खरेललाई हटाउने सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, गृह सचिव सूर्य सिलवाल, आइजिपी उपेन्द्रकान्त अर्याल र अरु अधिकारीहरुबीच यसबारे सोमबार दिउँसो छलफल भएको थियो ।

प्रहरी मुख्यालयको सिफारिसमा गृहमन्त्रालयले खरेललाई मुख्यालय बोलाएर कार्कीलाई पठाउन लागेको हो । कार्की अपराध अनुसन्धानमा राम्रो दख्खल भएका मानिन्छन् । तर असार ८ गते संविधानसभाको उप निर्वाचन हुने भएकाले मङगलबार निर्वाचन आयोगको सहमति लिएर मात्र सरुवा गरिने भएको छ ।

ब्यावसायिक दक्षता भएका खरेलले दुई दिन अघि राजधानीको एक सार्वजानिक कार्यक्रममा आफ्ना संगठनका बरिष्ठ अधिकारी नायब महानिरीक्षक (डिआईजिपी)हरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिब्यक्ति दिएर विबादमा तानिएका थिए ।

उनले संगठनको नीति विपरीत गएर अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले डिआईजिको संयोजनमा छानबीन समिति समेत गठन गरेको थियो । खरेललाई आइतबार नै मुख्यालय तानिने तय भएको थियो । तर काठमाडौंमा कसलाई पठाउने भन्ने बिषयमा निर्णय हुननसक्दा अबेर भएको मुख्यालय स्रोतले बतायो । खरेललाई तानिएपछि त्यहाँ जाने सूचीमा पहिला काठमाडौंको सुरक्षा जिम्मेवारी सम्हालिसकेका एसएसपी पुस्कर कार्की, योगेश्वर रोमखामी र खरेलकै ब्याचका सर्वेन्द्र खनालको नाम समेत चर्चामा आएको थियो ।

प्रहरी संगठनभित्र बढुवामासमेत लेनदेन हुने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति गृह मन्त्रालय र प्रहरी नेतृत्व खरेलप्रति असन्तुष्ट थियो ।

 

 

 

 

कमेन्ट गर्नुहोस्
Share: