गोकुल बानियाँ, पोखरा १४ जेठ । प्रकोपग्रस्त कास्कीको अर्मलामा भू–भौतिक अर्थात् जियोफिजिकल सर्भेको काम सकिएको छ । गत मंसिर महिनादेखि निरन्तर भ्वाङ पर्ने क्रम जारी रहेको अर्मलामा जमिनको भित्री अबस्था बारे जानकारीको लागि जमिनको एक्से गर्ने काम जियोफिजिकल सर्भे गरिएको हो ।
सर्भेबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार ५ महिनामा झण्डै डेढ सय भ्वाङ परेको अर्मलामा सतहमा नदेखिएका भ्वाङहरु पनि भेटिएका छन् । सर्भेको क्रममा बाहिरी सतहमा नदेखिएका तर जुनसुकै बेला खाल्डो पर्न सक्ने ६ स्थानको पहिचान गरी तत्काल पुरिएको भूगर्बबिद् उमेश भूसालले जानकारी दिए ।
गत बैशाख २६ गतेदेखि सुरु भएको जियोफिजिकल सर्भेको काम सोमवार सकिएको हो । २० दिनको सर्भेबाट प्राप्त जानकारी सहितको बिस्तृत रिर्पोट अबको २० दिन भित्र आउने उनले बताएका छन् । अध्ययन टोलीले सर्भेबाट प्राप्त प्रतिबेदन जलउत्पन्न प्रकोप नियन्त्रण बिभागमा बुझाउने छ । बिभागको सिफारिसको आधारमा रोकथामको लागि सरकारले पहल गर्नेछ ।
जमिनको भित्री अबस्था पत्ता लगाउन गरिने यो सर्भेबाट अर्मलामा अझै सतहमा नदेखिएका भ्वाङहरु भित्री तहमा हुनसक्ने र त्यसबारे सर्भेको बिस्तृत रिपोर्टले देखाउने भूषालले बताए । प्रकोप क्षेत्रमा रहेका घर आसपासमा गरिएको सर्भेको तत्काल डाडा प्रोसेसिङ गरी जानकारी प्राप्त गरेको उनले बताए । उनका अनुसार घरआसपासको क्षेत्रमा तत्काल भ्वाङपर्ने संभाबना छैन ।
अध्ययनको क्रममा प्राप्त प्ररम्भिक जानकारी अनुसार सो क्षेत्रमा भूमिगत रुपमा पानीको बहाब क्षेत्र समेत पहिचान गरिएको छ ।
