पोखरा, १७ जेठ । सुर्तिजन्य पदार्थ प्रयोगकर्ता बढि रहेका बेला सुर्तिजन्य पदार्थको कर बढाऔ, रोग तथा मृत्यू घटाऔ भन्ने मुल नाराका साथ नेपालमा पनि शनिवार विश्व धुमपानरहित दिवस मनाइएको छ। यसैक्रममा पोखरामा पनि विविध कार्यक्रम आयोजना गरिएको थियो। नेपाल अर्वुद रोग निवारण संस्था कास्कीले शनिवार पोखरामा सचेतनामुलक कार्यक्रम ग¥यो।
कार्यक्रमका वत्ताहरुले सुर्तिजन्य पदार्थको कर मात्रै बढाएर नहुनेभन्दै जनचेतना बढाउनु पर्ने र आफैबाट बानी÷व्यवहार सुधार्न शुरु गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले सुर्तिजन्य पदार्थ सेवनलाई नियन्त्रण गरी रोगीहरुको संसार हुनबाट जोगाउनुपर्ने बताए। उनले आमनागरिकलाई स्वास्थ्यप्रति सजग गराउन संचार क्षेत्रले सहयोग गर्ने बताउँदै संचारको भरपुर उपयोग गर्न पनि आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घका पुर्वअध्यक्ष एवं संस्थाका सल्लाहाकार आनन्दराज मुल्मीले सरकारले मात्रै नियन्त्रण गरोस् भनेर मुख नताकी सचेत नागरिक नै सुर्तिजन्य पदार्थ ऐन कार्यान्वयका लागि अघि सर्नुपर्नेमा जोड दिए।
नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय उप कोषाध्यक्ष माधवप्रसाद सिग्देलले पोखरामा क्यान्सर रोगी बढिरहेकाले यहाँ क्यान्सर अस्पताल निर्माण गर्नुपर्ने बताए। संस्थाका सल्लाहाकार सुभाष तझ्याले सुर्तिजन्य पदार्थबाट युवाहरुलाई जोगाउनु अहिलेको मुख्य आवश्यकता भएको औल्याए। कार्यक्रममा इन्टेल इन्ष्ट्रिच्यूट प्रालिका निर्देशक शिव त्रिपाठी र विद्यार्थी सुमन परियारले पनि बोलेका थिए।
त्यसअवसरमा संस्थाले इन्टेल इन्ष्ट्रिच्यूट प्रालिको सहयोगमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने महिमा उच्च माविका सुमन परियार, द्वितिय हुने सेन्टम्यारिज उच्च माविका सुमिता कार्की, तृतिय हुने रत्नज्योती उच्च माविका आशिष कार्की, सान्त्वना हुने मदरल्याण्ड उच्च माविका आस्था र विनिता आचार्यलाई पुरस्कृत गरिएको थियो।
नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका अध्यक्ष दिनेशशंकर पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रामप्रसाद बस्ताकोटीले स्वागत र कार्यक्रम संयोजक प्रेम भुजेलले कार्यक्रम संचालन गरेका थिए।
पश्चिमाञ्चलमा ४८ प्रतिशत रोगी सुर्तिजन्य पदार्थ सेवनका कारण भएको एक तथ्थांकले देखाएको छ। ती रोगीहरुमा फोक्सोको क्यान्सर भएको बताइएको छ। सन् २०११ को नेपाल जनसांख्यिक सर्वेक्षण अनुसार, ५२ प्रतिशत पुरुष र १३ दशमलव तीन प्रतिशत महिलाले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन्। अन्य देशको तुलना नेपालमा सुर्तिजन्य पदार्थ सेवन गर्ने महिलाको संख्या बढि रहेको डा शर्माको भनाई छ।
जनचेतनाको अभाव र अज्ञानताको कारण नेपालको ग्रामिण भेकमा सुर्तिजन्य पदार्थ सेवन गर्ने महिलाको संख्या बढि रहेको बताइएको छ। महिलाहरुमा फोक्सो सहित स्तन क्यान्सर समेत हुन थालेको छ। सुर्तिजन्य पदार्थमा चार हजारभन्दा बढि घातक रसायनको प्रयोग गर्ने गरिन्छ। नेपालमा सुर्तिजन्य पदार्थ सेवनका कारण वार्षिक १५ हजार जनाको मृत्यू समेत हुने गरेको छ।
Source : Nabin Sigdel
