गुरुकुल संगीत प्रशिक्षण केन्द्रको अभिनन्दन तथा संगीताञ्जली समारोह

Share:

रञ्जन अधिकारी पोखरा, १६ जेठ / पोखराको नयाँबजारमा रहेर शास्त्रीय संगीतको प्रशिक्षण दिँदै आएको गुरुकुल संगीत प्रशिक्षण केन्द्रले शुक्रबार एक कार्यक्रमकाबीच संगीतकर्मी अभिनन्दन तथा १८ औं संगीताञ्जली श्रृंखला सम्पन्न ग¥यो । सो अवसरमा शास्त्रीय गायक श्री केसी, तबलाबादक परशुरामप्रसाद पौडेल र कान्तिपुर राष्ट्रिय दैनिकका सहसम्पदाक पारश प्रकाश नेपाललाई सम्मान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिदेवी कोईराला, केन्द्रका प्राचार्य तीर्थराज पोख्रेलले सम्मानपत्र प्रदान गरी उनीहरुलाई सम्मान गरे । प्राज्ञ कोईरालाले पोखरामा शास्त्रीय संगीतको उत्थानका लागि युवाहरु गुरुकूल प्रशिक्षण केन्द्र नै स्थापना गरेर लागिपर्नु निकै खुशीको कुरा भएको बताईन् । संगीतको जग नै शास्त्रीय संगीत भएकाले संगीतमा लाग्ने जोकोहिका लागि पनि शास्त्रीय संगीतको ज्ञान हुनु जरुरी रहेकाले यसको अभावमा यस क्षेत्रमा टिक्न नसक्ने बताईन् ।

सो अवसरमा सम्मानित व्यक्तित्वद्वय श्री केसीले शास्त्रीय गायन प्रस्तुत गरे भने परशुरामप्रसाद पौडेलले तबला सोलो प्रस्तुति गरे । बाँसुरी बादक प्रताप केसी र तबलातर्फ मनोज गौतमको प्रस्तुति पनि रह्यो । केन्द्रमा प्रशिक्षणरत पशुपति गुप्ता, रश्मी अमात्य, लक्ष्मी गिरी, अनिल बिकले पनि भजन प्रस्तुत गरे ।

केन्द्रका प्राचार्य तीर्थराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सदस्य स्वामी रामचैतन्यले स्वागत तथा प्रशिक्षार्थी ओमकाजी थापाले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा एक सय वर्षका संस्कृति शिरोमणि सर्वज्ञमान प्रधानाङ्ग, गायक सरोजगोपाल बज्राचार्य, गायिका बाबा राणा लगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
Share: