
रञ्जन अधिकारी पोखरा, २२ जेठ । बंगुर ब्रिडर कृषक सहकारी संस्था लि. ले आफ्ना बंगुर पालक कृषक सदस्यहरुलाई सहज तथा सर्वसुलभ तरिकाले दाना उपलब्ध गराउने उद्देश्यका साथ विहिबारदेखि दाना उद्योग सञ्चालनमा ल्याएको छ । यसअघि विभिन्न स्थानबाट बंगुरका लागि दाना किन्ने गरेकोमा सहकारीले अमरसिंहचोकमा करीब २१ लाखको लागतमा दाना उद्योग सञ्चालनमा ल्याएको हो ।
उद्योगको सहकारी तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य नारायणप्रसाद अर्यालले उद्घाटन गरे । उद्योगको निरीक्षणपछि बोल्दै प्राचार्य अर्यालले गुणस्तरीय उत्पादन, शुद्धता र सरसफाईमा ध्यान दिँदै जान थालेकाले पछिल्लो क्रममा बंगुरको मासुको खपत उच्च भएको बताए । ‘बंगुरको मासु र बंगुर पालकलाई हेयका दृष्टिकोणले हेर्नु मुख्य कारण नै बंगुरको आहारका कारण हो ।’ उनले भने– ‘बंगुरलाई व्यवस्थित तरिकाले पालेर होटलजन्य फोहोर, सडेका बस्तु खान नदिई यस्ता दाना खुवाउने हो भने शुद्ध र सफा हुनेछ ।’ उनले हिनताबोध नगरी व्यवसाय गर्न आग्रह गर्दै लगानी ठूलो सानो भएपनि व्यवसाय ठूलोसानो नहुने बताए ।
अर्यालले सदस्यहरुले उत्पादन गरेका बंगुरलाई बजारसम्म पु¥याउने काम पनि सहकारीले गर्न सके यसबाट समेत आयआर्जन हुने बताउँदै राम्रो आम्दानीका लागि बजारको पहुँचतर्फ ध्यान दिन पनि आग्रह गरे । पर्याप्त दाना उत्पादन गर्दै सबैले दानाकै प्रयोग गर्नुपर्नेमा जोड खिदँदै उनले सहकारीहरु उत्पादनमुखी सोचमा लाग्नुपर्ने बताए । ‘पूँजी भएकाहरु बचत तथा ऋणमै अल्झिएका छन्, उत्पादनमुखी सहकारीसँग लगानी गर्ने सामथ्र्य नै छैन ।’ उनले भने । यस वर्ष सरकारबाट आउने चार लाख बंगुर ब्रिडर सहकारीलाई उपलब्ध गराईएको जानकारी दिँदै राम्रो कार्य गर्न सुझाव दिए ।
जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु स्वास्थ्य प्राविधिक फणिन्द्रराज ढकालले स्वस्थ मासु उत्पादन गर्न उसले प्रयोग गर्ने आहार समेत स्वस्थ हुनुपर्ने भन्दै व्यवस्थित तबरले बंगुर पालेमा यसको मासु अन्तर्राष्ट्रिय स्तरमा समेत निर्यात हुने बताए । उनले पौष्टिक दानाका साथै हाडनातामा प्रजनन् नगराउने हो भने स्वस्थ पाठापाठी उत्पादन हुने उनले बताए ।
संस्थाका कानुनी सल्लाहकार योगबहादुर आचार्यले बंगुर पालन व्यवसायलाई ईज्जतदार बनाउँदै आत्मनिर्भर बन्नका लागि दाना उत्पादन गर्ने सहकारीको जमर्को स्वागतयोग्य रहेको बताए । सहकारीका संस्थापक अध्यक्ष मिनबहादुर घलेले व्यवसायलाई व्यवस्थित गर्ने क्रममा स्वस्थ पाठापाठी उत्पादन गर्न दाना उद्योग नै सञ्चालनमा ल्याएको बताउँदै सबैको सहयोगको अपेक्षा गरे ।
संस्थाका अध्यक्ष डिल्लीराम कुमालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बाबुराम धमलाले स्वागत तथा सचिव झलक जलारीले कार्यक्रमको संचालन गरेका थिए । २०६७ सालमा स्थापित सहकारीमा ४४ बंगुर पालक सदस्यहरु आबद्ध छन् ।
