‘पोखराका पत्रिका गुणात्मक हुन सकेनन्’

Share:

पोखरा, २४ जेठ/पोखराको छापा पत्रकारिताको सिकाइ र चुनौतीबारे अनुभव साटासाट गरिएको छ । पोखराको छापा पत्रकारिताका अग्रज पत्रकारद्वय नारायण कार्की र कृष्णप्रसाद बाँस्तोलाले पत्रकारिताबारे आ– आफ्नो अनुभव बाडेका हुन् । अनुभवको क्रममा दुवै अग्रज पत्रकारहरुले आफुले पत्रकारिता गर्दाका समस्या, प्रविधि र अहिलेको अवस्थाबारे अनुभव सुनाएका थिए ।

अनुभव बाडेका दुवै पत्रकारले पोखरामा संख्यात्मक रुपमा पत्रिका बढिरहेपनि गुणात्मक समाचार दिन नसकेको बताए । स्थानीय समाचार भएपनि राजधानीका समाचारले प्राथमिकता पाउँदै आएको उनीहरुको भनाई छ । पोेखरामा संख्यात्मक रुपमा पत्रिका बढिरहेपनि गुणात्मक हुन नसकेको पत्रकार नारायण कार्कीले बताए । ‘प्रविधिमा फड्को मारेको पक्का हो । तर अहिले ठेक्का पत्रकारिता र कटपेस्ट पत्रकारिता फैलाएको हो’ कार्कीको भनाई छ । एउटै समाचार बाड्ने चलन अहिले बढेको उनले बताए ।

समाचार हुबहु हुने र औपचारिक कार्यक्रमको समाचारले मात्र महत्व पाउँदै आएको कार्कीले बताए । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तगर्तको समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको मिडिया चौतारीमा बोल्दै कार्कीले अहिले पनि छापा पत्रकारिताको महत्व रहेको बताए । उनले छापा पत्रकारिताको भविश्य अझै उज्जवल रहेको बताए । कार्कीले पत्रकार भएपछि पैसाका लागि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पहुच पुग्नेगरि काम गर्नुपर्ने बताए । कार्कीले न्यूनतम पारिश्रमिकको सट्टा अब उचित पारिश्रमिक माग्नुपर्ने तर्क राखे ।

उचित पारिश्रमिक पाएनौ भनेर समाचारमा हेलचेक्राई गर्नु हुँदैन । पाठकको मागलाई पनि ध्यान दिनुपर्छ’ कार्कीको भनाइ थियो । पोखराका पत्रिका २ पन्नाबाट माथि उठ्न नसकेकोले अब पृष्ठ बढाउन पहल गर्नुपर्ने उनले बताए । सम्पादक हुने रहर धेरै पत्रकारमा जागेकोले सम्पादक भन्दा असल संवाददाताको स्तरमा रहेर काम गर्न उनको सुझाव थियो । असल सम्वाददातालाई जहितहि अवसर हुने तर त्यहि अवसर सम्पादकलाई नहुने भएकोले सम्पादक हुने रहर गर्नु उचित नभएको कार्कीले बताए ।

पोखरामा धेरै नै दैनिक पत्रिका भएकोले अब मर्ज गरेर चलाउनु जरुरी रहेको उनको भनाई थियो । पत्रिका मर्ज गरेर चलाउने हो भने संस्थागत विकास हुने कार्कीको भनाई छ । मोफसलको पत्रकारितामा अन्य ठाउँले पोखरालाई जितिसकेकोले गुणात्मक वृद्धिमा लाग्नुपर्ने कार्कीको भनाई छ । पोखराको दैनिक पत्रिकाको समाचारमा कमजोर प्रस्तुती, भाषामा गलत, बढिमात्रामा रहेको उनले बताए ।

अर्का पाका पत्रकार आदर्श समाज राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक कृष्णप्रसाद बास्तोलाले पछिल्लो समय पत्रिकाका पाठक बढिरहेको बताए । जनआन्दोलन –२ पछि पत्रकारिताको विकास अझै बढेको उनले बताए । बास्तोलाले पत्रकारिताले दिन खोजिएको खुराक अझै दिन नसकेको बताए । ‘विज्ञ पत्रकार अभाव भएको र सिमित पत्रकारको भरमा चलाउनुपरेको छ’ उनले भने । सबै विषयमा कलम चलाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

पत्रिकाको गुणस्तर वृद्धिका लागि अव रंगिनमा प्रकाशन गर्नुपर्ने माग पाठकले गर्न थालेको उनले बताए । पोखराका पत्रिका रंगिन हुन नसकेको पाठकको गुनासो रहेको उनले बताए । अब योग्य पत्रकारले स्थान पाउने भएकोले यो क्षेत्रमा लाग्ने नयाँपुस्ताले थप मेहनत गर्नुपर्ने उनले बताए । बाँस्तोलाले पनि खोजि पत्रकारितामा लाग्न नसकिएको बताए । राष्ट्रिय र स्थानीय रुपमा महत्व पाएको विषयलाई बढि प्राथमिकता दिने गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: